close

माघ १० मा नवप्रवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

टेकपाना टेकपाना

माघ ३, २०७९ १८:२१

माघ १० मा नवप्रवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै

काठमाडाैं । नेपालमा नवप्रवर्तन (इनाेभेसन) सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट), रोबोटिक्स एसाेसियन अफ नेपाल (र्‍यान), एसिया फाउन्डेसन र ‘नक्सा’को संयुक्त आयोजनामा आउँदो माघ १० गते ‘फस्ट नेसनल इनोभेसन कन्फ्रेन्स २०२३’ हुने भएको हो ।

खुमलटारस्थित नास्टकाे हलमा हुने सम्मेलनमा सरकारी तथा नीति निर्माण नेतृत्व तहमा रहेका अधिकारीका साथमा यस क्षेत्रमा क्रियाशील प्रतिनिधिहरूकाे उपस्थिति हुने बताइएकाे छ । साथै प्रत्येक प्रदेशका दुई नवप्रवर्तकले तयार पारेका प्रविधि प्रदर्शनी र नास्टले तयार पारेको ‘नेपाल इनोभेसन इन्डेक्स’ बारे पनि प्रस्तुति दिइने छ ।

देशभरकाे नवप्रवर्तनको अवस्था थाहा पाउन र नवप्रवर्तनबारे म्यापिङ गर्न नास्टले ‘नेसनल इनोभेसन डिजिटल नेटवर्क’ सञ्चालनमा ल्याएको छ । यस प्लेटफर्ममा नवप्रवर्तकका उत्पादन र आविष्कार पहिचान गर्ने, नक्साङ्कन गर्ने र त्यस कुराको प्रसार गरिने नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्रप्रसाद ढकाल बताउँछन् ।

प्लेटफर्म बनाउँदा नास्टले सातै प्रदेशमा नवप्रवर्तनकाे भिन्नभिन्न प्रदर्शनी गरेको उनले जानकारी दिए । त्यस्तै नास्टले नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका व्यक्तिलाई लिएर ‘इनोभेसन टक (इन्नाे टक)’ गर्दै आइरहेको छ, जहाँ नवप्रवर्तनका विषयमा कुरा हुने गर्छ ।

''नास्टलाई नेपालकाे नव-प्रवर्तनको हब बनाउने लक्ष्य राखेर नवप्रवर्तन केन्द्र समेत स्थापना गरेको छ । त्यसमा नास्टले नवप्रवर्तन नीतिका लागि पूर्वाधारहरु निर्माण गरिरहेको छ । यिनै गतिविधिको अलि विकसित र राष्ट्रिय तहको रुपमा यो सम्मेलन गर्न लागिएको हाे,'' डा. ढकालले भने ।

सम्मेलनमा आईटीका विभिन्न उत्पादन, रोबोट, सोलार तथा हरित ऊर्जामा आधारित उत्पादन, स्मार्ट होमका सामग्रीहरू पनि  प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।

 “नवप्रवर्तनको हिसाबले भविष्यमा नेपाल कता जान्छ, के के गर्नुपर्छ, कस्तो पृष्ठभूमि तयार पार्नुपर्छ भन्ने जस्ता कुराको छलफल हुन्छ,” उनले थपे, “यस सम्मेलनलाई नवप्रवर्तक र उद्यमीबीच संगमस्थल बनाउन खोजेका छाैं ।”

साथै यस सम्मेलनलाई विभिन्न ठाउँका नवप्रवर्तकबीच अन्तर्क्रिया एवं विचार आदानप्रदान गर्ने माध्यम बनाउन खोजिएको उनले बताए ।

पछिल्लो अध्यावधिक: माघ ७, २०७९ ९:१०