close

च्याट जीपीटी प्रयोग गरी परीक्षा दिने विद्यार्थी समातिएपछि...

टेकपाना टेकपाना

माघ ५, २०७९ १९:२२

च्याट जीपीटी प्रयोग गरी परीक्षा दिने विद्यार्थी समातिएपछि...

काठमाडौं । अमेरिकाको उत्तरी मिचिगन युनिभर्सिटीका एक विद्यार्थीले दर्शनशास्त्रको जाँचमा साह्रै राम्रो निबन्ध लेखेका थिए । निबन्ध यति पूर्ण बनाइएको थियो कि, प्राध्यापक एन्टोनी ओमानलाई आफ्ना विद्यार्थीमाथि शङ्का नै लाग्यो ।

‘बुर्का प्रतिबन्ध’ शीर्षकमा लेखिएको निबन्ध हरेक कोणबाट पूर्ण देखिन्थ्यो । त्यसमा प्रयोग भएका भाषाशैली, क्रमशः मिलाइएका वाक्य, सटीक जवाफ आदिले प्राध्यापक एन्टोनीलाई उक्त निबन्ध लेख्ने विद्यार्थीमाथि शंका लाग्न थाल्याे ।

त्यसपछि जाँच गर्दै जाँदा ओपन एआईको चर्चित उत्पादन च्याटजीपीटीले निबन्ध तयार पारेको खुल्यो ।

ती विद्यार्थीले न्यू योर्क टाइम्सलाई भनेअनुसार उक्त निबन्ध एउटा मात्र जानकारीका आधारमा च्याटजीपीटीले तयार पारेको थियो । चिट चोरेको फेला पारेपछि ती विद्यार्थीलाई एन्टोनीले पुनः पेपरमा लेख्न लगाएका थिए, तर त्यतिबेला विद्यार्थीले उस्तै शैलीमा निबन्ध लेख्न सकेनन् ।

अर्को पटक पनि च्याटजीपीटीको प्रयोग गरी जाँच दिएको खुलेमा उनलाई कारबाही गर्ने एन्टोनीको चेतावनी छ । असाइनमेन्ट पूरा गर्न एन्टोनीले विद्यार्थीलाई च्याटजीपीटीको सहयोग लिन सुझाव दिएका थिए । तर, विद्यार्थीले जाँचमै च्याटजीपीटीले तयार पारेको उत्तर राख्छन् भन्ने कुरा उनले कहिल्यै कल्पना नगरेको बताए ।

एन्टोनीमात्र होइन, पछिल्लो समय विभिन्न विद्यालय, क्याम्पस वा विश्वविद्यालयमा पढाउने शिक्षक एवं प्राध्यापकले यस्ताे समस्या भोग्दै आएका छन् ।

इन्टरनेटको पहुँचमा हुने जोकोहीले यो टुल प्रयोग गर्न सक्ने भएपछि अमेरिकाको शिक्षा विभागले सम्पूर्ण पाठ्यक्रम नै पुनः तयार पार्न लागेको न्यू योर्क टाइम्सकाे समाचारमा उल्लेख छ ।

यो प्रणाली लागू भएपछि विद्यार्थीले हातले लेखेर वा मौखिक जवाफ दिएर जाँच दिनुपर्नेछ । अमेरिकाका कतिपय विद्यालयले आफ्नो परिसरभित्र च्याटजीपीटीमाथि प्रतिबन्ध नै लगाएका छन् । अर्थात् विद्यालयको इन्टरनेट वा पब्लिक इन्टरनेटमा च्याटजीपीटी सपोर्ट हुँदैन ।

च्याटजीपीटी टुल अहिले निःशुल्क उपलब्ध भइरहे पनि सधैं यही अवस्था रहिरहने सम्भावना निकै कम छ । च्याटजीपीटीले तयार पार्ने हरेक उत्तरमा कम्पनीको केही रकम खर्च हुँदै आएको छ । यस टुललाई कम्पनीले सब्सक्रिप्सन मोडेलमा लिएर जाने समाचार आइरहेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ५, २०७९ १९:२२