close

स्न्यापच्याटमा नगर्नुहोस् यी ७ गल्ती, नत्र 'ब्यान्ड' हुनसक्छ तपाईँको अकाउन्ट

टेकपाना टेकपाना

माघ ९, २०७९ २२:१४

स्न्यापच्याटमा नगर्नुहोस् यी ७ गल्ती, नत्र 'ब्यान्ड' हुनसक्छ तपाईँको अकाउन्ट

काठमाडौं । स्न्यापच्याट चलाउँदा निकै रमाइलो अनुभूति हुन्छ । तर यो एपमा त्यस्ता केही चिज छन्, जसले गर्दा तपाईँको अकाउन्ट प्रतिबन्धमा पर्न सक्छ । यसका साथै तपाईँलाई अनौठो लाग्ने अन्य चिजहरू पनि यो एपमा छन् ।

आज हामी त्यस्ता सात विषयबारे बताउँदै छौँ, जसले तपाईँलाई स्न्यापच्याटबाट हटाइदिन सक्छन् । 

१. स्न्यापच्याट चलाउन अनधिकृत थर्ड-पार्टी एपको प्रयोग

धेरैका लागि अहिले स्न्यापच्याट सामाजिक सञ्जालको माध्यम पनि बनेको छ । यसका साथै पछिल्ला वर्षहरूमा अन्य थर्ड-पार्टी एपहरू  निकै लोकप्रिय बनेका छन् ।

यस्ता थर्ड-पार्टी एपहरू केही सन्दर्भमा उपयोगी पनि हुन सक्छन् । तर यदि तपाईँ आफ्नो स्न्यापच्याट अकाउन्ट प्रतिबन्ध नहोस् भन्ने चाहनुहुन्छ भने त्यस्ता थर्ड-पार्टी एपहरूको प्रयोग सुरक्षित होइन ।

यस्ता अनधिकृत थर्ड-पार्टी एपबाट स्न्यापच्याट प्रयोग गर्दा तपाईँ सुरुमा २४ घण्टाका लागि अस्थायी प्रतिबन्धमा पर्नु हुनेछ । तर यदि तपाईँले थर्ड-पार्टी एपको प्रयोग दोहोर्‍याउँदै जानुभयो भने स्थायी रूपमा नै स्न्यापच्याटबाट ब्लकमा पर्नु हुनेछ ।

स्न्यापच्याट सपोर्टका अनुसार त्यस्ता केही अनधिकृत थर्ड-पार्टी एपहरूमा SCOthman, Emulator, Phantom, Snapchat++, Sneakaboo र SnapTools रहेका छन् । 

२. यौनजन्य स्न्याप्स तथा मेसेज पठाउँदा 

यदि तपाईँ यौनजन्य स्न्याप्स तथा मेसेज पठाउन खोज्दै हुनुहुन्छ भने त्यसअघि तपाईँले दुईपटक सोच्न जरुरी छ । यस किसिमका सामग्री शेयर गर्नु भनेको तपाईँको स्न्यापच्याट अकाउन्ट सधैँका लागि लक हुनु हो ।

स्न्यापच्याटले पोर्नोग्राफी सम्बन्धी सामग्री प्रवर्द्धन तथा वितरण गर्ने कार्यमाथि रोक लगाएको छ । १८ वर्षमुनिका कुनै पनि व्यक्तिलाई यौनजन्य तस्वीर तथा च्याट पठाउनु र पठाउन लगाउनु भनेको एकदमै निकृष्ट कृत्य हो ।

यस्तो क्रियाकलाप गर्दा स्थायी रुपमा प्रतिनबन्धमा पर्ने मात्र नभएर तपाईँ माथि स्न्यापच्याटले सम्बन्धित निकायमा रिपोर्ट समेत गरिदिन सक्छ । स्न्यापच्याटमा मात्र नभएर यौनजन्य सामग्री शेयर गर्दा फेसबुक तथा अन्य सामाजिक सञ्जालमा समेत तपाईँ प्रतिबन्धमा पर्न सक्नुहुन्छ । ​


३. गैरकानूनी गतिविधिका लागि स्न्यापच्याटको प्रयोग 
स्न्यापच्याटले आफ्नो माध्यम गैरकानूनी गतिविधिमा प्रयोग गर्ने कार्यमाथि निषेध गरेको छ ।

यसका साथै आपराधिक गतिविधिलाई प्रोत्साहन गर्ने सामग्री शेयर गर्न तथा प्रतिबन्धित सामग्रीको प्रयोग गर्दा समेत तपाईँको अकाउन्ट ब्लक हुन सक्छ । 

४. स्पाम पठाउँदा

स्पाम तथा अवाञ्छित मेसेज पठाउँदा समेत तपाईँको स्न्यापच्याट अकाउन्ट लक हुन सक्छ । किनभने स्पाम वास्तवमा उत्पीडनको एक प्रकार हो, जुन स्न्यापच्याटका लागि मान्य छैन ।

यदि तपाईँले आफ्नो ईमेल एड्रेस र फोन नम्बर भेरिफाई गर्न बाँकी नै छ र एकदमै धेरै साथीलाई एड गर्दै हुनुहुन्छ भने पनि तपाईँ स्न्याप च्याटको प्रतिबन्धमा पर्न सक्नुहुन्छ । 

५. घृणास्पद अभिव्यक्ति तथा गलत सूचनाः 
स्न्यापच्याटको एउटा अर्को सशक्त नियम के छ भने यसलाई तपाईँ घृणास्पद अभिव्यक्ति तथा गलत सूचना फैलाउने कार्यका लागि प्रयोग गर्न पाउनु हुन्न ।

कसैलाई अपमान गर्ने, बेइज्जत गर्ने तथा वर्ण, जात, राष्ट्रियता, धर्म लगायतका आधारमा विभेद तथा हिंसा गर्ने कार्यलाई प्रोत्साहन गर्ने किसिमका सामग्री शेयर गरेको खण्डमा समेत स्न्यापच्याट अकाउन्ट प्रतिबन्धमा पर्न सक्छ ।

यसैगरी कसैलाई हानी पुर्‍याउने गरी दुर्भावनायुक्त सामग्री तथा गलत सूचना फैलाउने कार्यमा स्न्यापच्याटको प्रयोग गर्न पनि पाइँदैन । त्यसैले स्न्यापच्याटमा कुनै सामग्री शेयर गर्नुअघि विवादास्पद समाचारको तथ्य जाँच गर्नु बुद्धिमानी हुन्छ । 

६. अर्कै व्यक्ति भएको भान पार्नु
अर्काको नाममा फेक अकाउन्ट बनाउनु स्न्यापच्याटको नजरमा नकारात्मक कार्य हो । यसरी अर्कै व्यक्ति भएको भान पार्ने कार्यले स्न्यापच्याटको गाइडलाइन्स उलङ्घन गर्छ र परिणामस्वरूप तपाईँको अकाउन्ट स्थायी रूपमा प्रतिबन्धित हुन सक्छ । 

७. तपाईँ विरुद्ध रिपोर्ट हुने किसिमका कुनै पनि सामग्री शेयर गर्नु
धेरैजसो मानिसहरूलाई आपत्तिजनक लाग्ने सामग्री शेयर गर्नु भनेको स्न्यापच्याटका लागि समेत गम्भीर विषय हुन्छ । हुन त केही सीमित व्यक्तिले अनावश्यक रूपमा रिपोर्ट गर्दैमा अकाउन्ट प्रतिबन्धित हुन्छ भन्ने पनि होइन ।

स्न्यापच्याटले रिपोर्ट गरिएका प्रोफाइल तथा सामग्रीको मूल्याङ्कन गर्दछ र प्राप्त अनुरोध सही हो कि होइन भन्ने कुरा निश्चित गर्छ । वास्तविक रूपमा नै तपाईँको अकाउन्टविरुद्ध थुप्रै रिपोर्टहरू परेका रहेछन् भने प्रतिबन्धमा पर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ९, २०७९ २२:१४