close

नेपाल प्रहरीले बन्द गरायो डार्क वेबमा आफ्नो डेटा लिक गर्ने वेबसाइट

टेकपाना टेकपाना

माघ १३, २०७९ १२:५७

नेपाल प्रहरीले बन्द गरायो डार्क वेबमा आफ्नो डेटा लिक गर्ने वेबसाइट

काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक गरी लिक भएका संवेदनशील डेटाकाे लिङ्क बन्द भएकाे छ । बुधबार टेकपानाले प्रहरीकाे डेटा डार्क वेबमा उपलब्ध भएकाे समाचार प्रकाशित गरेपछि उक्त साइटकाे लिंक बन्द गराइएकाे प्रहरीले ​जनाएकाे छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता नायब प्रहरी महानिरीक्षक पोषराज पोखरेलले डेटा लिक भएका साइटको लिङ्क 'डाउन' पारिएको जानकारी दिए ।

"डेटा लिक भएका साइटहरू बन्द गरेका छौं," उनले टेकपानासँग भने, "ह्याकरले विभिन्न साइटमा डेटा कपी गरेर राखेको हुनसक्ने भएकाले हाम्राे प्राविधिक टाेली अझै पनि यसमा काम गरिरहेकाे छ ।"

लिक भएको डेटा संवेदनशील नभएकाे उनले दाबी गरे ।

''प्रचारमा आएजस्तो ती डेटा संवेदनशील थिएनन् । दुरुपयोग हुने अवस्था थिएन,'' उनले भने, ''जति लिक भएको देखिएको थियो, त्यो हामीले डाउन गरिसक्यौं ।"

गत सेप्टेम्बर २१ मा २.३४ जीबी फाइल साइजको प्रहरीको डेटा  ‘ब्रिच फोरम’ र ‘हाइड्रा मार्केट’ गरी दुई डार्क वेब प्लेटफर्ममा भेटिएकाे थियाे ।

एक साइबर सुरक्षा जानकारका अनुसार नेपाल प्रहरीले आन्तरिक प्रयोजनका लागि ईमेलमा सञ्चार गरेका संवेदनशील विवरणसहितका डेटा ती प्लेटफर्ममा लिक भएकाे थियाे । यस्तो डेटाका माध्यमबाट नेपाल प्रहरीको नेटवर्कभित्र प्रवेश गर्ने र उक्त निकायको अन्य अकाउन्टमा फिसिङ आक्रमण हुनसक्ने सम्भावना रहेको उनकाे भनाइ थियाे ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ १३:४२