close

'नेपाली गर्ल' भाइरस फैलिएपछि नबिल बैंकले भन्यो- अज्ञात व्यक्तिले पठाएका लिङ्कमा क्लिक नगर्नू

टेकपाना टेकपाना

माघ १८, २०७९ १५:६

'नेपाली गर्ल' भाइरस फैलिएपछि नबिल बैंकले भन्यो- अज्ञात व्यक्तिले पठाएका लिङ्कमा क्लिक नगर्नू

काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकलाई सामाजिक सञ्जालमा अज्ञात व्यक्तिबाट आएको लिङ्कमा क्लिक नगर्न अनुरोध गरेको छ । पछिल्लो समय एउटा एपीकेका कारण कयौँ नेपालीहरू साइबर आक्रमणको उच्च जोखिममा रहेको घटना बाहिरिएपछि नबिलले ग्राहकलाई सचेत गराएकाे हाे ।

'नेपाली गर्ल' नामक एपीकेका कारण एकपछि अर्को गर्दै मोबाइल बैंकिङ, डिजिटल वालेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ठगिन थालेकाे समाचार टेकपानाले प्रकाशित गरेकाे थियाे । यही विषयलाई लिएर विभिन्न बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकले आफ्ना ग्राहकलाई सचेत गराइरहेका छन् ।

"विभिन्न सामाजिक सञ्जालमा अज्ञात नम्बरबाट लिङ्क क्लिक तथा एप इन्स्टल गर्नुहोस् भनेर मेसेज आउने गरेको पाइएको छ," नबिल बैंकले बुधबार जारी गरेकाे सूचनामा भनिएकाे छ, "यस्ता लिङ्क क्लिक वा एप इन्स्टल गर्दा तपाईंको मोबाइल बैंकिङमा रहेका संवेदनशील जानकारीहरू र अन्य डिजिटल प्लेटफर्महरू ह्याक भई दुरुपयोग हुनसक्ने भएकाले यस्ता ठगीबाट टाढा रहन र सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछौं ।"

सामाजिक सञ्जालमा फैलिएको 'नेपाली गर्ल' त्यस्तो एपीके हो, जसले प्रयोगकर्तालाई थाहै नदिई उनीहरूको डेटा ह्याकरको हातमा पुर्‍याउन सक्छ । एकपटक एपीके फाइल मोबाइलमा इन्स्टल भइसकेपछि यसले फोनमा मालिसियस कोड छोड्ने र फोनको सबै प्रणाली नै आफ्नो कब्जामा लिनसक्ने साइबर सुरक्षा जानकारहरूले बताएका छन् ।

सम्बन्धित समाचार: 'नेपाली गर्ल'को नाममा यसरी फैलिँदैछ खतरनाक एपीके, जुनसुकै बेला रित्तिन सक्छ तपाईँको बैङ्क खाता

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ १७:३८