close

माघ २४ गते 'सुरक्षित इन्टरनेट दिवस' मनाइँदै

टेकपाना टेकपाना

माघ २३, २०७९ ९:०

माघ २४ गते 'सुरक्षित इन्टरनेट दिवस' मनाइँदै

काठमाडौँ । "राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ" नाराका साथ माघ २४, मंगलबारका दिन नेपालमा र विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँने भएको छ । 

बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्ड सेफ नेटद्वारा सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्तन गरिँदै आएको छ । 
यो वर्ष पनि उक्त संस्थाले सुरक्षित इन्टरनेट दिवसलाई सम्बोधन गर्न आयोजना गरिने कार्यक्रमहरूको तालिका घोषणा गरेको छ । 

चाइल्ड सेफ नेट र सहकर्मी संस्थाहरू - बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, चाइल्ड फन्ड जापान, डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस, वेदः क्रिएसन सोसाइटी र लभ ग्रीन नेपाल लगायतले बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नुको साथै युवाहरूको अन्तरक्रिया, निबन्ध प्रतियोगिता, भिडियो प्रदर्शन र हाजिरी जवाफ प्रतियोगिताहरू सञ्चालन गरिने बताइएको छ । 

त्यसैगरि सिविन नेपाल, अम्ब्रेला अर्गनाइजेसन र भ्वाइस अफ चिल्ड्रेन लगायतका बालबालिकाका मुद्दामा काम गर्ने संस्थाहरूले अनलाइन सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् ।

"यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँछ," चाइल्ड सेफ नेटद्वारा जारी विज्ञप्‍तिमा उल्लेख गरिएको छ । 

चाइल्ड सेफ नेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्ने बताए। 

"बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षाको विषय सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कुल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरूका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरूको प्राथमिकतामा पर्नु पर्दछ," उनले बताए ।  

बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार र शोषण, साइबर बुलिङ, साइबर ग्रुमिङ, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्ने उनको भनाइ छ । 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ ९:०