close

यस्तो छ त्रिविको नयाँ आईटी कोर्ष ‘एमआईटी’, क-कसले पढ्न पाउँछन् ?

टेकपाना टेकपाना

फागुन १४, २०७९ १४:७

यस्तो छ त्रिविको नयाँ आईटी कोर्ष ‘एमआईटी’, क-कसले पढ्न पाउँछन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट स्नातकोत्तर तहमा सञ्चालनमा ल्याएकाे शैक्षिक कार्यक्रम 'मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी' (एमआईटी) का लागि भर्ना प्रक्रिया खुलाएकाे छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहने यो कार्यक्रम दुई वर्षे (चार सेमेस्टर) र ५९ क्रेडिट आवरको हो ।

यो कोर्ष त्रिवि केन्द्रीय विभाग र चार ओटा आंगिक कलेजमा सेमेस्टर परीक्षा प्रणालीअन्तर्गत पठनपठान हुने त्रिविकाे कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग (सीडीसीएसआईटी)का प्रमुख सर्विन सायमीले जानकारी दिए । 

कोर्ष परिचय

त्रिविले वि. सं. ०७६ बाट बीआईटी (ब्याचलर्स ईन इन्फर्मेसन टेक्नाेलाेजी)  सञ्चालनमा ल्याएको थियो । त्यही कोर्षको स्नातकाेत्तर तहका रुपमा एमआईटी ल्याइएको सायमीले जनाए । उनका अनुसार यस कोर्षमा सूचना प्रविधिका विषयवस्तुमा विद्यार्थीलाई गहिरो ज्ञान दिने खालका विषय समेटिएका छन् ।

कोर्षमा इन्टरप्राइज एप्लिकेसन, डिजिटल मार्केटिङ, इन्टेलिजेन्ट कम्प्युटिङ, साइबर सेक्युरिटी, डिजिटल गर्भनेन्स, आईटी इन्टरप्रिन्युरशिप लगायतका विषय रहेका छन् । 

कोर्षको पहिलो सेमेस्टरमा पाँच ओटा विषय छन् । ती प्रत्येक विषय तीन-तीन क्रेडिट आवरको रहेका छन् । दोस्रो समेस्टरमा छ वटा विषय छन् ।

तीमध्ये पाँच विषय तीन क्रेडिट आवरका छन् । साथै यस सेमेस्टरमा  एक क्रेडिट आवर बराबरको एउटा सेमिनार रहेको छ । 

त्यस्तै तेस्रो सेमेस्टरमा पाँच विषय छन् । तीमध्ये प्रत्येक चार विषयको क्रेडिट आवर तीन रहेको छ । साथै यस सेमेस्टरमा एक क्रेडिट आवरको एउटा टर्म पेपर रहेको छ । 

अन्तिम वा चौंथाे सेमेस्टरमा तीन ओटा विषय छन् । तीमध्ये तीन क्रेडिट आवर बराबरको दुई वटा विषय छन् । साथै आठ क्रेडिट बराबरको परियोजना वा थेसिस रहेको छ । यसरी यो कोर्ष ५९ क्रेडिट आवरको रहेको छ । 

यद्यपि विद्यार्थीले चाहे चौंथाे सेमेस्टरमा तीन क्रेडिट आवरको इलेक्टिभ कोर्ष पनि अध्ययन गर्ने विभागीय प्रमुख सायमीले बताए ।

यसरी ५९ क्रेडिट आवरको भए पनि विद्यार्थीले ६२ क्रेडिट आवर बराबरको कोर्ष गर्नसक्ने उनले सुनाए ।

कस्ता विद्यार्थीले अध्ययन गर्न पाउँछन् ?

एमआईटीमा भर्ना हुन स्नातक तहमा बीआईटी, बीएससी सीएसआईटी, बीई कम्प्युटर, बीसीए, बीआईएम लगायतका आईटी कोर्ष पढेको हुनुपर्छ ।

कहाँ कहाँ हुँदैछ पढाइ ?

यो कोर्ष त्रिविको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रिय विभाग (सीडीसीएसआईटी) सँगै अन्य चार ओटा आङ्गिक कलेजहरुमा सञ्चालन हुँदैछ ।

एमआईटी अध्यापन गराउने आङ्गिक शिक्षण संस्थामा पाटन बहुमुखी क्याम्पस, अमृत साइन्स कलेज (अस्कल), पद्म कन्या (पीके) क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पस रहेका छन् ।

विद्यार्थी सिट र शुल्क

यो कोर्षका लागि केन्द्रीय विभाग र आङ्गिक कलेजहरुमा विद्यार्थी सिट क्षमता ३०/३० रहेको छ । कोर्षको शुल्क चाँडै निर्धारण गरिने सायमीले जानकारी दिए । 

अध्ययन पछिको भविष्य

विद्यार्थीले यस कोर्षको अध्ययनपछि कम्प्युटर सिस्टम एनालिस्ट, आईटी म्यानेजर, क्लाउड आर्किटेक्ट, आईटी प्रोजेक्ट म्यानेजर लगायतका काम गर्न सक्छन् । त्यस्तै आईटी कम्पनी बाहेक अध्ययन अनुसन्धानमा पनि विद्यार्थी जान सक्ने बताइएकाे छ ।

यस कोर्षको भर्नाका लागि आज अर्थात् फागुन १४ देखि चैत ८ गतेसम्म  अनलाइनबाट आवेदन फारम खुलाइएको छ । कोर्ष भर्नाका लागि यहाँ क्लिक गर्नुहोस् । त्यस्तै कोर्षबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०७९ १६:८