काठमाडौं । गत अक्टोबरदेखि परीक्षण गरिएकाे गुगल मेसेजको नयाँ अपडेट सार्वजनिक भएको छ । उक्त अपडेटमार्फत अब प्रयोगकर्ताले मेसेज गइरहेको, मेसेज गएको, मेसेज डेलिभर भएको र मेसेज पढिएको फरक आइकन देखिनेछ ।
पहिले 'सेन्डिङ', 'सेन्ट', 'डेलिभर' र 'रिड' भनेर शब्दहरू लेखेको देखिन्थ्यो भने अब नयाँ अपडेटमार्फत आइकनबाट यस्तो कुरा पहिचान गर्न सकिन्छ । कम्पनीका अनुसार मेसेज गइरहेको छ भने घडीको चिन्ह देखिन्छ ।
यदि मेसेज सेन्ट भयो भने एउटा मात्र खाली चेकमार्क (टिकमार्क) को चिन्ह देखिन्छ । त्यस्तै मेसेज पाउने व्यक्तिको डिभाइसमा पुगेको छ भने दुई ओटा खाली चेकमार्क देखिन्छ । त्यस्तै मेसेज सिन भयो भने भरिएको दुई ओटा चेकमार्क देखिन्छ ।
गत अक्टोबरमा केही प्रयोगकर्तामाझ उपलब्ध यो फिचर मंगलबारबाट सम्पूर्ण प्रयोगकर्तामाझ उपलब्ध हुन थालेको छ । गुगल मेसेज त्यस्तो एप हो, जसका माध्यमबाट मोबाइल नम्बर प्रयोग गरी इन्टरनेटमार्फत मेसेज पठाउन सकिन्छ ।
सामान्यतः आफ्नो मोबाइलबाट मेसेज पठाउँदा हाम्रो सिममा भएको ब्यालेन्स वा एसएमएस प्याक काटिन्छ । तर, तपाईँले गुगल मेसेज प्रयोग गरेर कसैलाई मेसेज पठाउँदै हुनुहुन्छ र तपाईँले मेसेज पठाउन लागेको व्यक्तिको मोबाइलमा पनि गुगल मेसेज एक्टिभेट छ भने इन्टरनेटकै माध्यमबाट च्याट गर्न सकिन्छ ।
यसले अन्य मेसेजिङ एप जस्तै फिचर उपलब्ध गराउने भएकाले एसएमएस पठाउनका लागि यो एप प्रयोग गर्न सकिन्छ ।