close

टेलिकमको ई-सिमलाई पुनः भौतिक सिममै परिणत गर्न चाहनुहुन्छ ?  यस्तो छ प्रक्रिया

टेकपाना टेकपाना

फागुन ३०, २०७९ १९:१८

टेलिकमको ई-सिमलाई पुनः भौतिक सिममै परिणत गर्न चाहनुहुन्छ ?  यस्तो छ प्रक्रिया

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विगत ६ महिनायता ई-सिम वितरण गरिरहेको छ । पछिल्लो समय बजारमा आएका हाई इन्ड स्मार्टफोन, कम्प्युटर, ट्याबेटजस्ता डिभाइसले ई-सिम सपोर्ट गर्छन् । नयाँ प्रविधिको यस्तो सिमका प्रयोगकर्ता पनि दिनहुँ बढिरहेका छन् । 

आफ्नो नयाँ डिभाइसमा परीक्षण वा रहरका लागि प्रयोग गरिएको ई-सिम अन्य सामान्य फोनमा प्रयोग गर्नुपर्ने अवस्था आएको हुनसक्छ । वा तपाईँलाई भौतिक सिम नै मन परेको हुनसक्छ । यस्तोमा ई-सिमलाई पुनः भौतिक सिममा परिणत गर्न के गर्नुपर्ला त ?

यदि ई-सिम रद्द गरी भौतिक सिम लिन चाहनुहुन्छ भने नेपाल टेलिकमको नजिककाे ग्राहक सेवा केन्द्रमा जानुपर्ने हुन्छ । यसका लागि दस्तुर ५० रुपैयाँ लाग्छ । भौतिक सिम लिएपछि ‌ई-सिम स्वतः डिएक्टिभेट हुने कम्पनीले जनाएकाे छ । यसरी पुनः भौतिक सिम लिन प्रमाणीकरणका लागि आधिकारिक कागजपत्र सँगै लानुपर्छ ।

के हो ई-सिम ?

सामान्यतः फोनमा हामी मोबाइल सेवा प्रदायकले उपलब्ध गराएको भौतिक सिमकार्ड प्रयोग गरिरहेका हुन्छौं । उक्त सिमलाई फोनको सिम पोर्टमा राखेपछि मात्र मोबाइल डेटा वा कल सेवा लिन सकिन्छ ।

ई-सिमका माध्यमबाट पनि यिनै सेवा प्रयोग गर्न सकिन्छ । तर, तपाईँले मोबाइल सेवा प्रदायकमा गएर भौतिक सिम लिइरहन पर्दैन ।

ई-सिम प्रोग्रामिङ गरिएको एउटा त्यस्तो चिप हो, जुन तपाईँको स्मार्टफोन, ट्याब्लेट वा स्मार्टवाच तयार गर्दा नै त्यसैभित्र समावेश गरिएको हुन्छ । यस सिमले भौतिक सिमले दिने सेवा नै दिने गर्छ । उक्त सिमलाई भने सफ्टवेयरद्वारा प्रोग्राम गरिएको हुन्छ ।

ई-सिम सपोर्ट गर्ने फोन भएको खण्डमा मोबाइल सेवाप्रदायक परिवर्तन गर्न समस्या हुँदैन । उदाहरणका लागि अहिले तपाईँले नेपाल टेलिकमको ई-सिम प्रयोग गरिरहनु भएकाे छ र एनसेलको ई-सिम प्रयोग गर्न चाहनुभयो भने सजिलै सिम शिफ्ट गर्न सक्नुहुन्छ ।

त्यसका लागि तपाईँले डिभाइसमा कन्फिगुरेसन फाइललाई एक्टिभेट गर्नुपर्ने हुन्छ । सेवा प्रदायकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरेर ई-सिम प्रोफाइल डाउनलोड गर्न सक्नुहुन्छ ।

ई-सिम सपोर्ट गर्ने फोनको मेन सर्किट बोर्डमा पहिले नै सानो चिप जडान गरिएको हुन्छ, जुन नानो-सिमका अघि धेरै सानो हुने गर्छ ।

ई-सिम सपोर्ट गर्दा फोनको कम ठाउँ ओगट्छ, जसले गर्दा मोबाइल निर्माताले उक्त स्पेस अन्य प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

ई-सिमका फाइदा र बेफाइदा

सैद्धान्तिक रूपमा ई-सिममार्फत थुप्रै मोबाइल सेवा प्रदायकको प्रोफाइल स्मार्टफोनमा राख्न सकिने बताइएको छ । आफ्नो आवश्यकता अनुसार फरक-फरक सेवा प्रदायकको सेवा प्रयोग गर्न सक्नुहुन्छ ।

यसको अर्थ तपाईँले एकै मिनेटमा दर्जनौँ सेवा प्रदायकका विभिन्न प्लानहरू प्रयोग गर्न सक्नुहुन्छ । विशेषगरी विदेशमा यात्रा गर्दा तपाईँले स्थानीय सिमको पहुँच समेत ई-सिमबाट नै पाउन सक्नुहुन्छ ।

ई-सिम विशेषगरी स-साना स्मार्टवाचका लागि सबैभन्दा उपयुक्त हुने बताइएको छ । यस्ता डिभाइसलाई वाटर प्रुफ बनाउनका लागि ई-सिमले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।

स्मार्टफोनमा भौतिक सिम कार्ड राख्ने ट्रे’ले गर्दा तरल पदार्थ अडिने गर्छ, जसले गर्दा डिभाइस वाटर रेसिस्टेन्स (पानी प्रतिरोधक –पानीलाई फोनमा पस्नबाट रोक्ने) हुँदैन ।

डिभाइसलाई वाटर रेसिस्टेन्स बनाउनका लागि विभिन्न मोबाइल निर्माता कम्पनीले ३.५ एमएमको हेडफोन ज्याक नै हटाएका छन् । त्यस्तै कतिपय मोबाइल निर्माता हटाउने तरखरमा छन् ।

ई-सिमको एउटा मात्र खराब पक्ष भनेको यो सबै फोनहरूका लागि उपयुक्त हुँदैन ।

त्यस्तै विभिन्न कारणले कतिपय मोबाइल सेवा प्रदायकले ई-सिमको मान्यता पाएका हुँदैनन् । त्यसको विकल्पमा कतिपय फोनमा एउटा भौतिक सिमका लागि ‘सिम कार्ड ट्रे’ उपलब्ध गराइएको हुन्छ ।

ई-सिम स्मार्टफोनमा मात्र नभई ल्यापटप, स्मार्टवाच र कम्प्युटरमा समेत प्रयोग गर्न सकिन्छ । तर, सबै डिभाइस ई-सिम सपोर्ट नगर्ने हुनसक्छन् । त्यसका लागि तपाईँले ई-सिम सपोर्ट गर्ने डिभाइस नै प्रयोग गर्नुपर्ने हुन्छ ।

हालसम्म यी फोनहरूमा मात्र ई-सिम प्रयोग गर्न सकिन्छ । अन्य मोबाइल निर्माताले भने तत्काल ई-सिम प्रयोग गर्न सकिने वा नसकिनेबारे केही कुरा खुलाएका छैनन् ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०७९ १९:२२