close

इतिहास अध्ययनमा रूचि राख्नेहरूका लागि उपयोगी वेबसाइट

टेकपाना टेकपाना

चैत २, २०७९ ११:१९

इतिहास अध्ययनमा रूचि राख्नेहरूका लागि उपयोगी वेबसाइट

काठमाडौं । इतिहास अध्ययनका लागि बजारमा धेरै पुस्तक उपलब्ध छन् । त्यस्तै अनलाइनमा पनि विभिन्न स्रोत ‍छन् । अनलाइनमा उपलब्धमध्ये ‘हिस्ट्री म्याप्स’ नामक वेबसाइट इतिहास अध्ययनका लागि निकै उपयोगी रहेको छ । यो वेबसाइट प्रयोग गर्न सरल र सहज छ । आज हामी यसै वेबसाइटबारे जानकारी दिँदै छौँ:

इतिहासमा रूचि राख्ने इञ्जिनियर उमासी ह्वाइनले यस वेबसाइट तयार पारेका हुन् । हिस्ट्री म्याप्स एक शैक्षिक वेबसाइट हो । यसबाट प्रयोगकर्ताले समय र भूगोलका आधारमा इतिहास अध्ययन गर्न गर्छन् ।

विगतमा भएका विभिन्न घटना र प्रख्यात व्यक्तिहरूको इतिहासलाई व्याख्या गरेर वेबसाइटमा राखिएको छ । यसमा विभिन्न कालखण्डका इतिहासहरूको अध्ययन गर्न सकिन्छ, जसमा एन्सिन्ट हिस्ट्री, मेडिएभल पिरियड, अर्लि मोर्डन पिरियड र लेट मोर्डन पिरियड रहेका छन् ।

वेबसाइटमा त्यस समयमा भएका घटना र प्रख्यात व्यक्तिबारे टेक्स्ट, फोटो, भिडिओ र म्याप रहेका छन् । यसले गर्दा पाठकलाई  घटना बारे बुझ्न थप मद्दत पुग्छ । वेबसाइटमार्फत इतिहास अध्ययन गर्नका लागि सबैभन्दा सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब वेबसाइट खुलेपछि स्क्रोल गर्दै तल जानुहोस् । त्यहाँ कालखण्ड अनुसार तपाईंले विभिन्न घटना वा व्यक्तिमाथि लेखिएको लेखहरू पाउनुहुन्छ । त्यहाँ तपाईंले कुनै कुनै लेखमा रातो रङको अंग्रेजी अक्षरमा ‘अपडेटेड’ देख्नुहुन्छ, त्यसको अर्थ त्यस लेखमा हालै केही परिवर्तन भएका छन् भन्ने हुन्छ ।

त्यस्तै तपाईले अंग्रेजीबाहेक अन्य सात भाषामा वेबसाइटमा भएका लेखलाई अनुवाद गर्नसक्नु हुन्छ । यसका लागि माथि बायाँमा रहेको ‘इङ्ग्लिस ’ अक्षरमा क्लिक गर्नुपर्ने हुन्छ । कुनै लेख खोल्दा तलको जस्तो इन्टरफेस देखिन्छ । दायाँतर्फ म्याप हुन्छ भने बायाँतिर लेख/चित्र/भिडिओ आदि हुन्छन् ।

अब लेखलाई तलतिर स्क्रोल गर्दै जाँदा दायाँतिर रहेको म्यापमा पनि परिवर्तन देखा पर्छ । त्यहाँ  कुन ठाउँमा के भएको थियो भनेर देख्न सकिन्छ । त्यस्तै लेखमा भएको समयरेखा (Timeline) का आधारबाट पनि म्यापमा नेभिगेट गर्न सकिन्छ । यसका लागि तल बायाँतिर रहेको लेखको टाइमलाइनको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

 

 

 

इतिहास सम्बन्धी स्रोतहरू

वेबसाइटमा इतिहाससँग सम्बन्धित स्रोतहरू पनि उपलब्ध छ । ती स्रोतहरू हेर्न वेबसाइटको सबैभन्दा तलको भागमा जानुहोस् ।

त्यहाँ तपाईंले इतिहाससँग सम्बन्धित खेल, किताब, चलचित्र आदिका स्रोत पाउनुहुनेछ । इतिहासमा रूचि हुनेहरूका लागि ती स्रोतहरू उपयोगी हुन सक्छन् ।

च्याटबट

इतिहासका विषयकाे अध्ययनमा सहज होस् भनेर ‘हेरोडोटस’ नामक च्याटबट पनि वेबसाइटमा छ । कुनै लेखमा गएपछि तपाईंले बायाँ माथि सो च्याटबट भेट्न सक्नुहुन्छ । त्यहाँ यस वेबसाइटमा नभएका इतिहासका अन्य कुराहरु पनि सोध्न सक्नुहुन्छ ।

वेबसाइटबाहेक हिस्ट्री म्याप्सको मोबाइल एप पनि छ । यसको एप डाउनलोड गर्न एन्ड्रोइडमा यहाँ र आईओएसमा यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ ११:१९