close

एक वर्षमै घटे ५५ लाख मोबाइल प्रयोगकर्ता, कुन कम्पनीले कति गुमायो ?

टेकपाना टेकपाना

चैत १२, २०७९ ९:४५

एक वर्षमै घटे ५५ लाख मोबाइल प्रयोगकर्ता, कुन कम्पनीले कति गुमायो ?

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षमै करिब ५५ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले पुस २०७८ यताको १२ महिनामा मोबाइल प्रयोगकर्ता (सिम कार्ड) कूल ५४ लाख ७२ हजार १६२ सङ्ख्याले घटेको हो ।

यस अवधिमा सबैभन्दा बढी एनसेलका मोबाइल प्रयोगकर्ता घटेका छन् । यस अवधिमा ३४ लाख ६८ हजार १५५ ग्राहक गुमाएको कम्पनीमा हाल एक करोड ३४ लाख नौ हजार ६१ जना प्रयोगकर्ता बाँकी रहेका छन् ।

त्यस्तै सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पनि पछिल्लो एक वर्षमा २० लाख ५२ हजार ९९१ जना ग्राहक गुमाएको छ । हाल कम्पनीका दुई करोड नौ लाख ८० हजार २३८ जना प्रयोगकर्ता रहेका छन् ।

यो अवधिमा स्मार्ट सेलले मात्रै आफ्नो ग्राहक आधार विस्तार गरेको छ । एक वर्षको अवधिमा ४८ हजार ९८४ जना ग्राहक वृद्धि गर्दै कम्पनीले आफ्नो कूल ग्राहक सङ्ख्या २४ लाख १८ हजार २११ पुर्‍याएको हो ।

सिमकार्ड रिसाइकल गरिएका कारण केही ग्राहक सङ्ख्या घट्न पुगेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए । "हामीले पोस्टपेड सिम निष्क्रिय भएको एक वर्ष र प्रिपेड सिम निष्क्रिय भएको दुई वर्षमा रिसाइकल गरी पुनः बजारमा ल्याउने गरेका थियौँ," उनले भने, "प्रयोगकर्ता घट्नुको कारण यही नै हो ।" 

तर सर्वोच्च अदालतको पछिल्लो आदेशले भने हाललाई सिम रिसाइकल गर्न रोक लगाएको छ । यही व्यवस्था कायम रहेको खण्डमा भने टेलिकम कम्पनीका ग्राहकहरूको सङ्ख्या बढ्ने देखिन्छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ ९:४५