काठमाडौं । पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को फाइनल आजदेखि सुरु हुँदैछ । फाइनलमा आठ नेपाली टिमसहित कूल १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
आइतबारसम्म चल्ने फाइनलमा हरेक दिन ६ खेलका हिसाबले कुल १८ खेल खेलाइनेछ । नेपालबाट फाइनलमा पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी ) खेलिसकेका टिम 'ट्रेन टु किल', ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ ले पनि प्रतिस्पर्धा गर्दैछन् ।
यसबाहेक 'इलिमिनेट क्रु', 'लियो ई-स्पोर्ट्स', 'हाइ भोल्टेज ई-स्पोर्ट्स' , 'डेडआइज गाइज' र 'रअ ई-स्पोर्ट्स' ले पनि फाइनलमा स्थान बनाएका छन् ।
पीएमपीएलको लिग चरणमा मङ्गोलियन टिमहरू नेपाली टिममाथि हावी भएका थिए, जसले गर्दा अङ्क तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा नै मङ्गोलियन टिम छन् ।
नेपाली टिम 'ट्रेन टु किल' चौंथो स्थानमा रहेको थियो । लिग चरणमा राम्रो गर्न नसकेपनि फाइनलमा राम्रो सुरुवात गर्दै पीएमपीएलको उपाधि कब्जा गर्ने नेपाली टिमलाई अवसर रहेको छ ।
यसका साथै शीर्ष १२ भित्र रहने टिमले पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनशिप स्प्रिङ २०२३ मा सोझै स्थान बनाउन सक्छन् ।
खेल नेपाली समय अनुसार ५:४५ बाट सुरु हुँदैछ । जसको प्रत्यक्ष प्रसारण ‘पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्स’ फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।