close

सरकारले डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:४५

सरकारले डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने

काठमाडौं । सरकारले विद्युतीय प्रणाली बीच तथ्याङ्क आदान प्रदान गर्न डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । 

सरकारी सेवाका लागि वडा तहबाटै अनलाइन सेवा उपलब्ध गराइने भएको छ ।  सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि गरिने भन्दै राष्ट्रपति पौडेलले शिक्षा, स्वास्थ्य, विकास, निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गरिने बताए ।  

"ज्ञानमा आधारित अर्थतन्त्रको विकास र सुशासनका लागि सूचना प्रविधि प्रणालीको अनुसन्धान, विकास र विस्तार गरिनेछ," सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । सार्वजनिक निकायका सूचना  प्रणालीको नक्साङ्कन गरी विद्युतीय सुशासन ब्लु प्रिन्ट निर्माण गर्ने नीति समेत सरकारले लिने भएको छ ।  

सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधिको नक्साङ्कन प्रयोग गुणस्तर निर्धारण तथा प्राविधिक परीक्षण कार्य एकीकृत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीमार्फत अन्तर आवद्धता कायम गरी सेवा उपलब्ध गराइने र सरकारी सेवा वडा तहबाटै अनलाइनमार्फत उपलब्ध गराउने घोषणा पनि नीति तथा कार्यक्रम मार्फत गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:४६