काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या देखिएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायक टाटाको लिङ्कमा समस्या आएपछि मङ्गलबार दिउँसो केही समय सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सहप्रवक्ता नवीन मिश्रले यो समस्या नेपाल टेलिकमबाट नभई अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकबाट आएको बताए । उनका अनुसार दिउँसो करिब २:०३ बजे टाटाको अन्तर्राष्ट्रिय ब्यान्डविथ लिङ्क डाउन भएको थियो ।
“हाम्रो इन्टरनेसनल ब्यान्डविथमध्ये टाटाको लिङ्क डाउन भएपछि सबै ट्राफिक एयरटेलतर्फ मोडिँदा इन्टरनेट सुस्त भएको हो,” सहप्रवक्ता मिश्रले टेकपानासँग भने, “करिब २:३० बजेतिर टाटाको लिङ्क पुनः सुचारु भएपछि इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किएको छ ।”
नेपाल टेलिकमसँग अन्तर्राष्ट्रिय ब्यान्डविथ लिङ्कका रूपमा टाटा र एयरटेल छन् । टाटाको लिङ्क डाउन हुँदा सम्पूर्ण ट्राफिक एयरटेलमा केन्द्रित भएपछि अत्यधिक चापका कारण ग्राहकले सेवा सुस्त अनुभव गरेको मिश्रले बताए ।