बीवाईडीका पुराना ब्याट्री पावर ब्याकअपमा प्रयोग गरिने, काम नलाग्नेलाई रिसाइकल
जेठ २०, २०८० ८:५२
काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीले नेपालमा बिक्री हुने आफ्ना सवारी साधनको ब्याट्री व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बजेटमार्फत गरिएको व्यवस्था पालना गर्न ब्याट्री पुनः प्रयोग देखि रिसाइकल गर्नेसम्मको योजना सार्वजनिक गरेको हो ।
नेपालमा साइमेक्स इंकले बीवाईडीका गाडी बिक्री गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारी साधनको सबैभन्दा चुनौतिपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न आफू निरन्तर लागिरहेको जनाएको छ ।
"नवीन प्रविधि भएका साधन ल्याएर बिक्री गर्ने हामीले समाज र राष्ट्र प्रति सधैं उत्तरदायी भएर काम गर्दै आएका छौं," साइमेक्स इंकले भनेको छ, "भोलिको दिनमा पनि त्यही रफ्तारमा काम गर्न हामी प्रतिवद्ध छौं ।"
सवारी साधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापन गर्ने कयौं तरिकाहरू छन् । त्यसमध्ये बीवाईडीका ब्याट्री पावर ब्याकअप गर्ने देखि पूर्ण रूपमा ड्रेन भएका ब्याट्री रिसाइकलका लागि देश बाहिर पठाउने विषयमा आवश्यक सम्पूर्ण तयारी गरिएको बताइएको छ ।
"हामी हरेक गाडीबाट निस्किने लिथियम आयन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं," कम्पनीले भनेको छ । यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८० ८:५२
