close

मोबाइल बैंकिङ प्रयोग गर्न सिकाइदिन्छु भन्दै नजिक भएका युवकले यसरी चोरे तीन लाख बढी रकम

टेकपाना टेकपाना

जेठ २३, २०८० २०:८

मोबाइल बैंकिङ प्रयोग गर्न सिकाइदिन्छु भन्दै नजिक भएका युवकले यसरी चोरे तीन लाख बढी रकम

काठमाडौं । दोलखाका २२ वर्षीय अरुण सिवाकोटी पाँच महिनाअघि कोरियन भाषा सिक्न काठमाडौंको एउटा इन्स्टिच्युटमा भर्ना भए । पढ्दै जाँदा उनी इन्स्टिच्युटका सञ्चालक श्याम शर्मा (परिवर्तित नाम)सँग नजिकिए ।

आईटीमा रुचि राख्ने अरुणले श्यामलाई प्रविधि प्रयाेगबारे नयाँ नयाँ जानकारी दिइरहन्थे । विशेषगरी इन्स्टिच्युटमा भर्ना हुन आएकाहरूको फारम भरिदिने काममा अरुण सक्रिय भएर लाग्थे । अरुणको यही बानीबाट श्याम प्रभावित थिए । र, विश्वास पनि गर्थे ।

श्यामलाई मोबाइल बैंकिङ तथा डिजिटल वालेटबारे त्यति जानकारी थिएन । त्यसैले उनी आफूसँग नजिक भएका अरुणलाई बेलाबखत भर्ना हुन आएका विद्यार्थीहरूले पठाएको रकम जाँच गरिदिन भन्थे ।

कयौं दिन श्यामले आफ्नो फोन नै अरुणको जिम्मामा दिएका थिए । उनी मोबाइल बैंकिङ मात्र प्रयोग गर्थे । भर्ना हुन आउनेले अनलाइनबाट रकम पठाउँछु भनेको अवस्थामा काम लाग्नै भन्दै उनी मोबाइल बैंकिङ प्रयोग गर्थे ।

एकदिन अरुणले प्रायः मानिसहरू डिजिटल वालेट प्रयोग गर्न रुचाउँछन् भन्दै श्यामलाई डिजिटल वालेटका अकाउन्ट बनाउन अनुरोध गरे । त्यही अनुसार श्यामले राम्रै हुने विश्वासले हुन्छ भनी अकाउन्ट बनाइदिन भने । अनुमति पाएपछि अरुणले ई-सेवा, खल्ती जस्ता डिजिटल वालेटको अकाउन्ट बनाएर भेरिफाइ गरे ।

अकाउन्ट बनाइसकेपछि श्यामलाई अरुणले कसरी प्रयोग गर्ने भन्ने पनि सिकाइदिए । यसरी विभिन्न कुराहरूमा सहयोग गर्दै अरुण सञ्चालक श्यामसँग झन् नजिक भए । नजिक हुँदै जाँदा अरुणले श्यामको माेबाइल बैंकिङका पासवर्ड, पिन सबै थाहा पाए ।

श्यामले मोबाइल छोडेर कतै गएको अवस्थामा अरुण मोबाइल बैंकिङबाट थोरै थोरै रकम आफ्नो डिजिटल वालेट र बैंक अकाउन्टमा पठाउँथे ।

अरुण नजिक भएको करिब चार महिनासम्म पनि श्यामलाई उनीमाथि कुनै किसिमको शंका भएन । विस्तारै कारोबार हुनेभन्दा बढी रकम बाहिरिन थालेपछि श्याम चिन्तित भए । र, बैंक स्टेटमेन्ट लिन बैंक कार्यालय पुगे ।

बैंक स्टेटमेन्ट हेर्दा श्याम छाँगाबाट खसेझैँ भए, किनभने उनलाई थाहै नभएको बैंक अकाउन्टमा धेरै पटक ठूलो रकम ट्रान्सफर भएको थियो ।

हिसाब गर्दै जाँदा उनलाई थाहै नभई उनको बैंकबाट विभिन्न पटक गरी तीन लाख ३० हजार रुपैयाँ बढी गायब भएकाे थियो । यसरी अस्वाभाविक रूपमा रकम गायब भएपछि श्याम उजुरी लेखाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे र प्रमाणसहित उजुरी दिए ।

उजुरीपछि अनुसन्धान गर्न प्रहरीले विभिन्न कानुनी प्रक्रिया अपनायाे । प्रहरीले भित्रभित्रै अनुसन्धानका प्रक्रिया सुरु गरेर उनका नजिकका मान्छेहरूलाई सम्पर्क गरेर बुझ्न अनुरोध गर्‍यो ।

"हामीले उहाँ (पीडित)लाई नजिकका मान्छेहरूलाई सम्पर्क गर्न अनुरोध गर्‍यौं । उहाँले सम्पर्क गर्दा नजिक भएका अरुण केही दिनदेखि गायब थिए । उनले फोन पनि उठाएका थिएनन् । फेसबुक पनि डिएक्टिभेट गरेका रहेछन्," टेकपानासँग कुरा गर्दै कार्यालयका साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज डाँगीले भने ।

श्यामले रकम हराएको कुरा निकाले लगत्तै अरुण सम्पर्कविहीन भएका थिए । तर, पनि नजिक भएका अरुणलाई श्यामले कुनै किसिमको आशंका गरेका थिएनन् । पछि उनी भारत गएको भन्दै श्यामलाई मेसेज पठाए ।

यता प्रहरीले अनुसन्धान गर्दा रकम ट्रान्सफर भएका अकाउन्टहरू पत्ता लाग्याे । ट्रान्सफर गरिएका नम्बर अरुणकै भन्ने पुष्टि भएपछि प्रहरीले उनलाई ट्रयाक गर्न थाल्यो ।

ट्रयाक भए पनि अरुणलाई पक्राउ गर्न प्रहरीलाई सकस परिरहेको थियो ।

"हामीले यहाँबाट हेर्दा मूलपानीको लोकेसन देखाउँथ्यो, त्यहाँ पुग्दा अर्कै ठाउँमा देखाउँथ्याे," डीएसपी डाँगीले भने, "अन्ततः उनी सोमबार (जेठ २२) पक्राउ परेका छन् ।"

पक्राउ परेका अरुणमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको डाँगीले जानकारी दिए ।

पछिल्लो समय विश्वास गरेकै मान्छेबाट डिजिटल वालेट तथा बैंक अकाउन्ट दुरुपयोग भएका उजुरी बढी आएकाले सचेत रहन डाँगीले अनुराेध गरे ।  "आफूले विश्वास गरेको वा नजिकको मान्छेले पासवर्ड वा पिन देख्यो भने के हुन्छ र भनी हामी बेवास्ता गर्छौं । तर, त्यही बेवास्ताले गर्दा हाम्रा व्यक्तिगत जानकारी, हाम्रा अनलाइन अकाउन्ट तथा बैंक अकाउन्टको दुरुपयोग भइरहेको हुन्छ," डाँगीले भने ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० २०:८