close

यो तस्वीरमा त्यस्तो के छ, जसका कारण गुगलले ल्याएको थियो ‘इमेज सर्च' फिचर ?

टेकपाना टेकपाना

जेठ २८, २०८० १९:१

यो तस्वीरमा त्यस्तो के छ, जसका कारण गुगलले ल्याएको थियो ‘इमेज सर्च' फिचर ?

काठमाडौं । आजको दिनमा हामीलाई कुनै पनि वस्तु, व्यक्ति, स्थान वा अन्य कुनै चिजको तस्वीर चाहियो भने हामी के गर्छौं ? सबैभन्दा पहिला गुगल इमेजमा गएर सर्च गर्छौँ । अथवा गुगल सर्चमा टाइप गरेर स्क्रिनको सबैभन्दा माथि भएको इमेज अप्सनमा क्लिक गर्छौँ । 

यसले हामीलाई आवश्यक तस्वीर सहजै उपलब्ध गराइदिन्छ । गुगल इमेजले कुनै पनि वस्तुको तस्वीर खोज्न सहज त बनाइदिएको छ, तर के तपाईंलाई थाहा छ यो गुगल इमेज सर्चको जन्म किन र कसरी भएको थियो ? 

आज हामी तपाईंलाई यसपछाडिको एउटा रोचक तथ्य बताउँदैछौं । गुगल इमेज सर्च आजभन्दा २३ वर्ष अगाडि सन् २००० बाट सुरु भएको हो । 

सन् २००० को फेब्रुअरीमा आयोजित ग्रामी अवार्डमा गायिका जेनिफर लोपेजले लगाएको लुगाको निकै चर्चा भएको थियो । उक्त कपडा एक विश्व चर्चित फेसन ब्रान्ड 'भर्साचे' (Versace) ले डिजाइन गरेको थियो, जसलाई जङ्गल प्रिन्ट ड्रेसको रूपमा परिचित गराइएको थियो । 

हरियो रङ्गको उक्त प्रिन्टेड गाउन यति चर्चामा आयो कि मानिसहरूले यसलाई गुगलमा निकै खोज्न थाले । एकातिर अक्षरको सहारामा मात्र जेनिफरको फोटो खोज्न गाह्रो भयो भने अर्कोतिर गुगल सर्च नै डाउन भएको थियो ।     

यो घटनाले गुगललाई तस्वीरको लागि छुट्टै स्पेस चाहिन्छ भन्ने सोच आयो । त्यसपछि गुगलले तुरुन्तै तस्वीर सर्चको लागि छुट्टै स्पेस राखेर इमेज नाम दिइ गुगल इमेज सर्चको सुरुवात गरेको हो । 

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १९:३