close

आफ्नो निधनपछि तपाईँलाई हकवाला बनाउँछु भन्दै म्यासेज आइरहेको छ ? सावधान !

टेकपाना टेकपाना

असार ३, २०८० १७:५१

आफ्नो निधनपछि तपाईँलाई हकवाला बनाउँछु भन्दै म्यासेज आइरहेको छ ? सावधान !

काठमाडौं । अनलाइनमा आफ्नो निधनपछि सबै सम्पत्ति दिन्छु भन्दै रकम माग गरे सतर्क रहन प्रहरीले अनुरोध गरेक‍ो छ । हालै एक भिडिओ सन्देश जारी गर्दै नेपाल प्रहरी अन्तर्गतकाे साइबर ब्यूरोले पछिल्लो समय अनलाइन ठगीका घटना बढेको भन्दै कसैले विभिन्न बहानामा रकम माग गरे नदिन अनुरोध गरेको हाे ।

“अपराधीहरूले गुगल, फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, ह्वाट्सएप टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोग गरेर ठगी लगायतका आपराधिक कार्य गरेको पाइएको छ,” ब्यूरोले जारी गरेको भिडिओ सन्देशमा भनिएको छ, “यस्ता कार्य बढेको हुँदा साइबरजन्य अपराधबाट बच्नका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गर्दछौं ।”

ब्यूरोले साइबरजन्य अपराधबाट सुरक्षित रहन तलका उपाय अपनाउन अनुरोध गरेको छ: 

- विभिन्न मोबाइल एप्लिकेसनमार्फत तपाईंलाई चिठ्ठा परेको छ, बहुमूल्य सामान पठाइदिएको छु वा मेरो शेषपछिको हकवाला तपाईंलाई बनाउँछु भनी रकम माग गर्न गिरोह सक्रिय भएको हुँदा यस्तो झुटो आश्वासनमा नपर्नुहोस् । 

- आफन्त वा साथीको सामाजिक सञ्जालको अकाउन्ट ह्याक हुनसक्छ । अनेक बहाना गरी रकम मागे यकिन गरेर मात्र कारोबार गर्नुहोस् । 

- कसैको भरमा परी सामाजिक सञ्जालमा संवेदनशील अङ्ग देखाउने कार्य नगर्नुहोस् । तपाईंमाथि ब्ल्याकमेल हुनसक्छ । 

- आफ्नो मोबाइल बैंकिङको पासवर्ड, एटीएम कार्ड तथा आफ्नो खाताको विवरण तथा नगद कारोबार हुने मोबाइल एप्लिकेसनको पासवर्ड तथा ओटीपी कोड कसैलाई भौतिक वा सामाजिक सञ्जालमार्फत समेत नदिनुहोस् । दिनुभयो भने तपाईं ठगिनु हुनेछ । 

- आफूलाई जानकारी नभएको एप्लिकेसन इन्स्टल गर्ने वा लिङ्क खोल्ने तथा ईमेल लगइन गर्ने कार्य नगर्नुहोस् । एक पटक लगइन भएपछि पुनः आईडी पासवर्ड माग्छ भने त्यसबाट तपाईंको अकाउन्ट ह्याक हुन्छ । तसर्थ सजग रहनुहोस् । 

- अनलाइन ग्याम्ब्लिङ (सट्टेबाजी तथा जुवा), फरेक्स ट्रेड, बिटक्वाइन, बाइनान्स लगायतका अनलाइन ट्रेडिङ नेपालमा गैरकानूनी हुन् । त्यसैले यस्ता कार्यमा आवद्ध नहुनुहोस् । 

- सामाजिक सञ्जालमा नक्कली अकाउन्ट बनाई सस्तोमा सामान उपलब्ध गराइदिने, कोठा खोजिदिने लगायतका विज्ञापन राखी अग्रिम रकम माग गरी ठगी गरिरहेका घटनाहरू दोहोरिएका छन् । विज्ञापनमा उल्लेख भएबमोजिमको कार्य नभएसम्म रकम नदिनुहोस् तथा क्याश अन डेलिभरी गर्नुहोस् । अन्यथा तपाईं ठगिनु हुनेछ । 

- सामाजिक सञ्जाल प्रयोग गर्दा सुरक्षाका उपाय अपनाउनुहोस् । कसैले अनुमान गर्न नसक्नेगरी अक्षर, अङ्क तथा सिम्बोल सहितको पासवर्ड राख्नुहोस् । 

साइबर अपराध सम्बन्धी बुझ्न वा आफ्ना समस्या राख्नका लागि ०१-५३१९०४४, ०१-५३१९०४८, ९८५२१२८६७७० मा सम्पर्क गरेर वा ([email protected]) मा मेल गरेर पनि सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० ९:९