काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले दुई पटकको असफलताका बावजुद चन्द्रमाका लागि आफ्नो चन्द्रयान नामक रकेट तेस्रो पटक प्रक्षेपण गर्ने भएको छ ।
भूगोल तथा वातावरणको अन्वेषण गर्ने उद्देश्यले भारतले पर्सि शुक्रबार महत्वाकांक्षी चन्द्रयान-३ मिसन प्रक्षेपण गर्न लागेको हो ।
यसका लागि इसरोले पर्सि शुक्रबार (जुलाई १४) दिउँसो २:३५ बजेको समयमा सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गर्ने तयारी गरेको छ ।
इसरोले यस यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने योजना बनाएको छ । यो चन्द्रमाको यस्तो ठाउँ हो, जहाँको जानकारी अहिलेसम्म कतै पनि उपलब्ध छैन । सन् २०१९ मा भारतले ‘चन्द्रयान २’ लाई चन्द्रमाको उक्त क्षेत्रमा अवतरण गराउने प्रयास गरे पनि असफल भएको थियो ।
सो मिसनबाट धेरै कुरा सिकेको र त्यही अनुसार यस नयाँ यानको डिजाइन र बनावटमा परिवर्तन गरिएको इसरोले जनाएको छ । ‘चन्द्रयान-३’ लाई भेहिकल मार्क ३ (एलभीएम थ्री) रकेटबाट प्रक्षेपण गरिने बताइएको छ ।
चन्द्रयान ३ का लागि तीन ओटा मिसन राखिएका छन् । पहिलो ‘चन्द्रयान ३’ लाई चन्द्रमामा सुरक्षित र सफ्ट ल्यान्डिङ गराउने, दोस्रो चन्द्रमाको सतहमा रोभरको क्षमता प्रदर्शन गर्ने र तेस्रो स्थलगत रूपमा वैज्ञानिक अवलोकन गर्ने उद्देश्यका साथ चन्द्रयान-३ को प्रक्षेपण गर्न लागिएको इसरोले जनाएको छ ।
चन्द्रयान २ मा जस्तै चन्द्रयान ३ मा पनि एउटा ल्याण्डर (चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने गर्ने अन्तरिक्ष यान) र एउटा रोभर (चन्द्रमाको सतहमा घुम्ने अन्तरिक्षयान) रहनेछ । त्यस्तै यो यानमा ल्याण्डरको नाम ‘विक्रम’ र रोभरको नाम ‘प्रज्ञान’ राखिएको छ । जुन ‘चन्द्रयान-२’ मा समेत राखिएको थियो ।
केके गर्छ यानले?
यो यान सफलता पूर्वक चन्द्रमामा पुगेको खण्डमा त्यहाँ पाइने माटो, पानी, रसायनिक तत्त्व जस्ता प्राकृतिक स्रोतसाधनहरुको अध्ययन गर्नेछ । त्यस्तै चन्द्रमाको बनावट बारे थप जानकारी सङ्कलन गर्ने गर्छ ।
यी वैज्ञानिक परीक्षणका लागि यानले विभिन्न उपकरणहरू पनि लिएर चन्द्रमामा जानेछ । जसमा सिस्मोमिटर, स्पेक्ट्रो पोलारिमेट्री अफ भिजेटेबल प्लानेट अर्थ अर्थात् एसएचएपीई लगायतका विभिन्न उपकरण राखिने छ ।
यानमा राखिएका विभिन्न प्रविधिले चन्द्रमामा हुने तापमान तथा वातावरणका अन्य तत्त्वहरूको बारेमा पनि अनुसन्धान गर्ने वैज्ञानिकले बताएका छन् ।
यसले चन्द्रमाको कक्ष बारे जानकारी प्राप्त गर्न सहयोग गर्ने छ । यो अभियानलाई केवल भारतका लागि मात्र नभई पूरै विश्वका वैज्ञानिक समुदायका लागि महत्त्वपूर्ण रहेको बताइएको छ ।
अन्तरिक्ष अभियानमा भारत
भारतले चन्द्रमालाई लिएर चन्द्रयान अभियान नै चलाएको छ । उसले सन् २००८ अक्टोबर २२ मा चन्द्रयान १ को नामबाट चन्द्रमा पहिलो पटक यान प्रक्षेपण गर्ने प्रयास गरेको थियो ।
त्यस बेला पोलार स्याटलाइट लञ्च भेहिकल (पीएसएलभी) बाट उक्त यान प्रक्षेपण गरिएको थियो । त्यसमा एउटा अर्बिटर र इम्प्याक्ट प्रोब (impact probe) पनि थियो ।
तर यो चन्द्रमाको शेकलटन क्रेटर (the crater shackleton) नजिकै दुर्घटनाग्रस्त भयो । त्यस स्थानलाई अहिले ‘जवाहर विन्दु’ को नामले चिनिन्छ । तर त्यो मिसन पूरा हुन पाएन । प्रक्षेपण गरिएकको ३१२ दिनपछि सम्पर्क विच्छेद भयो ।
यद्यपि त्यो मिसनको ९५ प्रतिशत लक्ष्य पूरा भएको दाबी गरिएको थियो । यो सँगै चन्द्रमामा पुग्ने चौथो देश भारत बन्यो । त्यसअघि अमेरिका, रुस र जापानले चन्द्रमामा आफ्नो यान पठाइसकेका थिए ।
आफ्नो चन्द्रयान प्रोगामका रूपमा भारतले ‘चन्द्रयान २’ प्रक्षेपण गर्यो । यसलाई सन् २०१९ को जुलाई २२ मा पृथ्वीबाट उडाइएको थियो । तर सेप्टेम्बर ६ का दिन चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङका क्रममा दुर्घटना हुन पुग्यो ।
सो कुराको पुष्टी त्यसको ३ महिनापछि नासाको स्याटलाइटले खिचेको तस्वीरहरूले गरे । उक्त यानमा विक्रम ल्याण्डर र प्रज्ञान रोभर पठाइएका थिए ।
यानको विक्रम ल्याण्डर असफल भएपनि अर्बिटरले भने चन्द्रमा र यसको वातावरणका बारेमा महत्त्वपूर्ण जानकारीहरू संकलन गरिरह्यो र अब भारतले ‘चन्द्रयान ३’लाई आफ्नो तेस्रो यानको रूपमा चन्द्रमामा पठाउन लागेको छ । यो यानको प्रक्षेपण श्रीहरिकोटाको लन्च भ्यू ग्यालरीबाट प्रत्यक्ष रूप हेर्न सक्ने छन् ।
यसका साथै इसरोले आफ्नो पहिलो सूर्य अभियान ‘आदित्य एल-१’ को पनि घोषणा गरेको छ । जसलाई आगामी अगस्ट महिनामा प्रक्षेपण गर्ने बताइएको छ ।
यो परियोजना सफल भए भारत चन्द्रमाको सतहमा चन्द्रयान पुर्याउने चौथो राष्ट्र हुनेछ । यसअघि अमेरिका, रुस र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान अवतरण गरिसकेका छन् ।