close

जहाज चढ्दा डिभाइस ‘फ्लाइट मोड’ मा राख्न नपर्ने फिचर ल्याउँदै गुगल

टेकपाना टेकपाना

असार ३१, २०८० १३:१४

जहाज चढ्दा डिभाइस ‘फ्लाइट मोड’ मा राख्न नपर्ने फिचर ल्याउँदै गुगल

काठमाडौं । हवाइजहाजमा यात्रा गर्दा चालक दलले सुरुमा नै सम्पूर्ण विद्युतीय उपकरणलाई ‘एरोप्लेन मोड’ मा राख्नका लागि अनुरोध गर्छ । 

प्राय: जसो डिभाइसमा वायरलेस फिचर जस्तै वाई-फाई तथा जीपीएस हुने गर्छन् । यस्ता फिचरले जहाजको प्रणालीमा अवरोध पुर्‍याउन सक्छ । 

त्यसैले जहाजमा यात्रा गर्दा सुरुमै यात्रुलाई फोन एरोप्लेन मोडमा राख्नका लागि अनुरोध गरिन्छ । तर, यो तरिका त्यति जायज हुँदैन । किनभने सबै यात्रुलाई आफ्नो स्मार्टफोनमा हुने एरोप्लेन मोडबारे थाहा नहुन सक्छ । उनीहरूलाई थाहा भए‍ पनि त्यसले कसरी काम गर्छ भन्ने कुरा थाहा नहुन सक्छ । यदि जहाजमा रहेको डिभाइसमा कनेक्टिभिटी अन छ भने त्यसले जमिनमा हुँदा जस्तो काम गर्छ त्यस्तै काम जहाजमा हुँदा पनि गर्छ । भन्नुको अर्थ ब्याकग्राउन्डमा एप चल्ने, फोटो ब्याकअप हुने लगायत अन्य फिचरहरू स्वचालित रूपमा काम गर्छन् । जसले गर्दा डेटा खपत भइरहेको हुन्छ । त्यसबाहेक पनि कनेक्टिभिटी अन हुँदा अन्य थुप्रै चुनौतीहरू हुन्छन् । 

यस्ता चुनौतीहरू कम गर्नका लागि गगुगलले हालै नयाँ पेटेन्ट दर्ताका लागि आवदेन दिएको छ । पार्किफ्लाईका अनुसार ‘कनेक्टेड फ्लाइट मोड’ नामको सो पेटेन्ट यस्तो फिचर हो जसले यात्राको बेला सम्बन्धित डिभाइसमा वायरलेस कम्युनिकेसनलाई व्यवस्थापन गर्छ । 

यो फिचर प्रयोगमा आइसकेपछि प्रयोगकर्ताले जहाजमा फ्लाईट मोड अफ गरिरहनु पर्दैन । जहाजमा चढिसकेपछि डिभाइस स्वतः ‘कनेक्टेड फ्लाइट’ मोडमा सिफ्ट हुन्छ । 

विशेषगरी डिभाइसले फ्लाइटको अवस्था जस्तै लोकेसन, एल्टिट्युड, प्रेसर, स्पिड, ब्याकग्राउन्ड न्वाइजलाई विश्लेषण गरी स्वतः फ्लाइट मोड अन गरिदिन्छ । 

अर्थात् यात्रु जहाजमा भएको थाहा पाउने बित्तिकै उक्त मोडले नर्मल मोडबाट डिभाइसलाई ‘कनेक्टेड फ्लाइट मोड’मा शिफ्ट गर्छ । यस मोडले रेडियो फ्रिक्वेन्सी कम्युनिकेसन जस्तै सेलुलर नेटवर्क, वाई-फाई तथा ब्लुटुथ कनेक्टिभिटी बन्द गर्छ । 

केही डिभाइसमा कनेक्टेड फ्लाइट मोडले केही सब-मोड स्वतः एक्टिभेट गर्नेछ । विशेषगरी उडान हुँदा, उडानका दौरान र अवतरण हुँदा आवश्यकता अनुसार विभिन्न सब मोडहरू अन हुनेछन् । 

यो पेटेन्ट मात्र हो । यो फिचर वास्तविकतामा आउँछ वा आउँदैन भन्ने कुरा भने निश्चित छैन । 

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १३:१६