close

पहिरो जानुअघि साइरन बज्ने प्रविधि

सञ्जीवन राई सञ्जीवन राई

साउन ५, २०८० १३:६

पहिरो जानुअघि साइरन बज्ने प्रविधि

काठमाडौं । नेपालको भौगोलिक बनावट जटिल छ । खहरे खोला, डाँडापाखा, भिरालो जमिन निकै छन् । त्यसमाथि यहाँ भइरहेको अव्यवस्थित र अवैज्ञानिक विकासले जोखिम निम्त्याइरहेको छ । यस्तै जोखिममध्ये एक हो, पहिरो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा पछिल्लाे एक वर्षको अवधिमा मात्रै ५५४ ओटा पहिरोको घटना भएका छन् । उक्त घटनामा परेर १०१ व्यक्तिले ज्यान गुमाउँदा ८५ घाइते भए भने २२ जना अझै बेपत्ता छन् । त्यस्तै ६१ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

पहिरो एक प्राकृतिक प्रकोप हो । यो कहिले आउँछ कुनै ठेगान हुन्न । तर प्रविधि प्रयोग गरेर पहिरो जानसक्ने सम्भावना अगाडि नै थाहा पाउन सकिन्छ । त्यसले यसबाट हुने जोखिम कम गर्न मद्दत गर्छ । समयमा नै सुरक्षित स्थानमा जाँदा पहिरोको सम्भावित क्षति कम हुन जान्छ । यस्तै कामका लागि बनाइएको प्रविधि हो, पहिरो सूचक यन्त्र ।

लामो समयदेखि प्रविधिको क्षेत्रमा काम गरिरहेको रामलक्ष्मण इनोभेसनले चार वर्षअघि यो यन्त्र नेपालमा नै विकास गरेको थियो । कम्पनीले यस यन्त्रलाई देशका विभिन्न ठाउँहरूमा जडान गरिसकेको छ ।

विशेषत: पहिरोको उच्च जोखिम भएका ठाउँहरूमा यो उपकरण राख्ने गरिन्छ । पहिरोको पूर्वजानकारी दिने यो एक उपकरण हो । यसलाई ‘पहिरोको पूर्वचेतावनी प्रणाली’ नामले पनि चिनिन्छ ।

यस उपकरण बनाउनुको उद्देश्य पहिरोबाट पीडित हुने बस्तीलाई पूर्वचेतावनी दिनु र मानवीय क्षति कम गर्नु भन्ने रहेको इनोभेसनका अध्यक्ष राम रिमालको भनाइ छ ।

कम्पनीले राष्ट्रिय आविष्कार केन्द्र र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)सँग सहकार्य गरेर गोरखा, बुटवल लगायतका ठाउँमा यो उपकरण जडान गरेको छ । त्यहाँ यस उपकरणले सकारात्मक नतिजा ल्याएको अध्यक्ष रिमाल सुनाउँछन् ।

“गोरखाको खानीगाउँमा पहिरोपछि पनि बस्ती बसेको रहेछ । त्यसबेला निकै धनजनको क्षति भएको रहेछ । पछि नास्टसँग मिलेर हामीले यो उपकरण जडान गर्यौं । त्यसपछि फेरि पहिरो आयो ,” रिमाल भन्छन्, “तर १७/१८ घरमा असर परेपनि मानवीय क्षति भएन । किनकि यसको सूचना सुरुमा नै उहाँहरूले पाउनु भएको थियो ।”

गोरखामा उपकरण जडानकाे काम हुँदै

यस उपकरणले माइनस २० देखि ६० डिग्री सेल्सियस तापक्रमसम्म काम गर्न सक्छ । सेन्सर जडान गरिएको डिभाइस र साइरन सहितको रिसिभर गरेर यसमा मुख्य दुई यन्त्र छन् । सेन्सर भएको यन्त्रलाई पहिरो जानसक्ने सम्भावित क्षेत्रमा ९० डिग्रीमा गाडिन्छ । साइरन भएको यन्त्रलाई भने बस्ती वा गाउँको नजिकमा जडान गरिन्छ । यी दुई यन्त्रलाई करिब ५०० मिटरको दूरीमा राख्नु पर्ने हुन्छ । 

वर्षाका कारण नेपालमा धेरै पहिरो गएको देखिन्छ । कमजोर जमिनलाई वर्षाले ओसिलो बनाइदिन्छ । पृथ्वीको गुरुत्वाकर्षण बलले त्यो माटो तल जान्छ । त्यसपछि पहिरो जान्छ । नेपालमा वर्षा नै नभएको समयमा पनि सुख्खा पहिरो जाने गर्छ ।

यसको कारण भने भुइँचालो हो । यसबाहेक पनि यहाँ विभिन्न प्रकारका पहिरो जाने गर्छ । यो भुइँचालो जस्तै प्रकोप हो, जसको सजिलै आँकलन गर्न सकिँदैन । तथापि भुइँचालोको तुलनामा पहिरोको आँकलनमा केही सहजता छ । यसै कामका लागि पहिरो सूचक यन्त्र प्रयोग गरिन्छ ।

सामान्यतया रामलक्ष्मण इनोभेसनले यो उपकरणमा पहिरोको प्रकृति हेरेर त्यसको आधारमा सेन्सर जडान गर्ने गर्छ । इनोभेसनका अध्यक्ष रिमालका अनुसार एउटा पहिरो पहिचान गर्न दुईदेखि तीन ओटा सेन्सर लगाउनुपर्छ । एउटा सेन्सर मात्र लगाउँदा कहिलेकाहीँ गलत समयमा अलार्म (साइरन) बज्न सक्छ । साइरन बज्नुको अर्थ पहिरो जान सक्नु, सबै सतर्क हुनु, त्यस ठाउँबाट भाग्नु भन्ने हुन्छ । त्यो कराए मान्छेहरू सुरक्षित ठाउँमा जानुपर्ने हुन्छ ।

 

पहिरो जान सक्ने ठाउँमा राखिएको सेन्सरहरू

यसमा वर्षा (Rain Sensor), इन्क्लिनेसन (Inclination Sensor) र एक्सिलेरेसन गरी तीन ओटा सेन्सर लगाइएको छ । सामान्यतः कम्पनीले यो उपकरणमा पहिरोको प्रकृति हेरेर त्यसको आधारमा सेन्सर जडान गर्ने गर्छ । वर्षाको सेन्सरले कति वर्षा भयो भन्ने कुरा मिलिमिटरमा मापन गर्छ । तर धेरै वर्षा हुँदैमा भने साइरन बज्दैन । सेन्सर यन्त्रलाई कति धक्का पर्‍याे, कति डिग्रीमा झुक्यो भन्ने कुराले समेत साइरन बज्ने कुरा फरक पर्छ ।

साथै साइरन बजाउन यसमा विभिन्न मापदण्ड (थ्रेसहोल्ड) राखिएको छ । जस्तो; सेन्सर भएको यन्त्र ३५ डिग्रीभन्दा ढल्किए स्वत: साइरन बज्छ । तर पछि भने यसले थ्रेसहोल्ड आफैं निर्धारण गर्न सक्छ । किनकि यस उपकरणमा आर्टिफिसियल न्यूरल नेटवर्क भन्ने एल्गोरिदम प्रयोग गरिएको अध्यक्ष रिमाल सुनाउँछन् ।

 “कस्तो अवस्थामा साइरन बजाउने भन्ने कुरा यसले आफैं सिक्न सक्छ,” उनी अगाडि भन्छन्, “यसलाई कुनै पनि ठाउँमा जति लामो समय राख्यो, नतिजा त्यति नै ठीक हुने सम्भावना रहन्छ ।”

गाउँमा राखिने साइरन

यस उपकरणले साइरन बजाउनु भनेको खतराको सङ्केत हो । फेरि साइरन बजेर पहिरो आएन भने मान्छेहरूले ‘यस्तै त हो’ भन्ने सोचेर उपकरणको जनाउलाई बेवास्ता गर्न सक्छन् । यसकारण यसले कुनै एउटा सेन्सरका आधारमा साइरन बजाउँदैन । सबै सेन्सरको डेटालाई यसले आफैं पढ्छ ।

पहिरो जाने सम्भावना बढी भएमात्र नतिजामा आवाज निस्कन्छ । तर कुन कारणले साइरन बजेको हो भन्ने कुरा भने रिसिभरमा थाहा पाउन सकिन्छ । विशेषत: सेन्सर भएको यन्त्र आफ्नो नियमित स्थानबाट सर्दा, हल्लिँदा, झट्का आउँदा, ढल्किँदा साइरनले आवाज निकाल्ने गर्छ ।

सेन्सर भएको यन्त्रमा ३१५ मेगाहर्जको एउटा रेडियो फ्रिक्वेन्सी छ । यही कारण यसले वायरलेस (तार रहित) काम गर्छ । सेन्सर यन्त्रले आफू वरपरको विभिन्न डेटा लिइरहेको हुन्छ, जसलाई प्रत्येक पाँच सेकेन्डमा रिसिभरले आफ्नो डिस्प्लेमा देखाउँछ ।

यो उपकरण लिड एसिड ब्याट्रीबाट चल्छ, जुन एक-दुई वर्षसम्म टिक्ने कम्पनीको दाबी छ । रिसिभर युनिट भने बिजुलीको पावर वा सोलारबाट चल्ने गर्छ । यसलाई अन्य बाह्य कुराले खासै असर नगरे पनि वर्षायाम सुरु हुनुअघि हेल्थ चेकअप गर्ने र १५-१५ दिनमा म्यानुअल्ली साइरन बजाउनु पर्ने उनी सुनाउँछन् ।

हुन त बजारमा पहिरोको पूर्वानुमान गर्ने निकै महँगा प्रविधि छन्, जुन हाम्राे बजेटभन्दा निकै महँगो पर्ने हुन्छ । यसैले मूल्य कम पर्ने, तर प्रभावकारी उपकरण आफूहरूले बनाएको उनी धारणा राख्छन् ।

अहिले कम्पनी आफैंले यस उपकरणको डिजाइन तथा रिसर्च एन्ड डेभलपमेन्टको काम गर्छ । त्यस्तै सम्बन्धित ठाउँमा गएर जडान पनि गरिदिन्छ । यसको शुल्क डेढदेखि दुई लाख रुपैयाँ राखिएको छ । त्यस्तै दुई वर्षसम्म रिप्लेसमेन्ट र तीन वर्षसम्मकाे सर्भिस वारेन्टी छ ।

अब भने यस उपकरणलाई स्थानीयसँगै विपद् व्यवस्थापन गर्ने निकायहरूलाई पनि जानकारी दिने गरी अपग्रेड गर्ने काम भइरहेकाे उनले जानकारी दिए । यसबाट पहिरोमा परेकाहरूले चाँडै उद्धार र राहत पाउने उनकाे विश्वास छ ।

यो पनि हेर्नुहोस्:

राम–लक्ष्मणः जसले विकास गरे सयभन्दा बढी प्रविधि

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १४:५९