close

४५ मिनेटभित्र सेवा दिने टाटाको अत्याधुनिक ईभी सर्भिस, ब्याट्री मर्मतमा कति हुन्छ खर्च ?

साउन २५, २०८० १४:४७

४५ मिनेटभित्र सेवा दिने टाटाको अत्याधुनिक ईभी सर्भिस, ब्याट्री मर्मतमा कति हुन्छ खर्च ?

नेपालमा अधिक बिक्री हुने बिजुली गाडीको ब्रान्डमा टाटा मोटर्स पनि पर्छ । नेपालका लागि यस ब्रान्डको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ हो । विद्युतीय सवारी (ईभी) सङ्ख्या बढ्दै जान थालेपछि सिप्रदीले सर्भिस सेन्टर पनि खोलेको छ ।

ईभीलाई केन्द्रित गर्दै सिप्रदीले देशभर १५ ओटा सर्भिस सेन्टर खाेलेकाे छ । इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) का लागि २५ ओटा सर्भिस सेन्टर छन् । हाल भएका ईभी सर्भिस सेन्टरहरूमध्ये बागडोलमा रहेको ‘स्टेट अफ द आर्ट’ (अत्याधुनिक) हो ।

ग्राहकहरूले गाडी खरिद गरेपछि जीवनभर दु:ख पाउनु नपरोस् भन्ने सिप्रदीको सोच छ । उहाँहरूको गाडी जहाँ बिग्रे पनि, त्यहाँ सर्भिस पाउनु पर्‍यो भन्ने मान्यता छ । आफ्नो त्यही लक्ष्य पूरा गर्न सिप्रदीले विभिन्न ठाउँहरूमा सर्भिस सेन्टर स्थापना गरेको हो ।

हाम्रा ती सर्भिस सेन्टरहरूमा जुनै समयमा ग्राहकहरू आएपनि सेवा पाउनुहुन्छ । ग्राहकहरू दुर्घटनामा परे बीमाले त्यसको आर्थिक क्षतिपूर्ति भर्छ । त्यस्तो भइहाले सिप्रदीले ग्राहकहरूलाई बीमा रकम दाबी गर्न सहयोग गर्छ । 

बागडोलको सर्भिस सेन्टर

अहिले यसमा ईभी र आईसीई दुवै प्रकारका गाडीको सर्भिसिङ हुने गरेको छ । अहिले तत्कालै यी दुईलाई फरक-फरक ठाउँमा राखेर काम गर्नुपर्ने अवस्था आएको छैन । यदि भविष्यमा त्यस्तो अवस्था आए कम्पनीले सोको पनि व्यवस्था मिलाउने छ । यहाँ (अन्यमा पनि) ग्राहकले आफ्नो गाडी सर्भिसिङ गराउन अगाडि अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ ।

यसका लागि टोल फ्री नम्बर र वेबसाइटको व्यवस्था गरिएको छ । अथवा वर्कशपमा प्रत्यक्ष रूपमा आएर पनि सर्भिसिङका लागि ग्राहकले बुकिङ गर्न सक्छन् । त्यसपछि यहाँ ‘जब कार्ड’ तयार हुन्छ । त्यसमा सर्भिसिङमा केके गर्नुपर्छ भन्ने कुरा लेखिएको हुन्छ । साथै ग्राहकको विवरण, सर्भिसिङ गर्न लाग्ने समय, शुल्क जस्ता अन्य विवरण पनि लेखिएको हुन्छ । 

सामान्य सर्भिसिङ गर्न हामीलाई ४५ मिनेटदेखि एक घण्टासम्म लाग्ने गर्छ । जुन ‘क्विक सर्भिसिङ’ हो । ग्राहकले गाडी छाडेर लिन आउने समयलाई हामी ९० मिनेट भन्छौं । त्यो हाम्रो ‘स्यान्डर्ड’ समय हो । तर पहिलो पटक सर्भिसिङमा आएका ग्राहकहरूलाई यहाँ भएका सर्भिस एड्भाइजरले गाडीबारे परामर्श दिनेछन् । उनीहरूले गाडीमा भएको समस्याहरूको ‍टिपोट गर्छन् । तब  मात्र वर्कशपभित्र ग्राहकहरूलाई उनीहरूले लान्छन् । यहाँ भित्र सर्भिस एड्भाइजरले उक्त काम फ्लोर सर्भिसमा भएका इन्जिनियरहरूलाई दिन्छन् । त्यही हेरेर इन्जिनियरहरूले अन्य जनशक्तिलाई कामको जिम्मा दिन्छन् ।

यो वर्कशपको क्षमता प्रतिदिन ३० ओटा गाडीहरू हुन् । तर हामीले यसमा ईभीको सर्भिसिङलाई ध्यान दिइरहेका छौं । खासमा ईभी मालिकहरूलाई ब्याट्री बिग्रे त्यसको खर्च कति आउँछ लगायतका प्रश्न आउने गर्छ । हामीले त्यही समस्या समाधान गर्न सिप्रदी र टाटा मिलेर मोटर र ब्याट्रीको मर्मत गर्ने सुविधा सुरु गरिसकेका छौं ।

अहिले ईभीको सुरुवाती चरण भएका कारण ब्याट्रीमा त्यस्तो समस्या देखिएको छैन । तर भविष्यमा हुन सक्छ । तयारी अवस्थामा त हुनुपर्छ । खासमा ब्याट्रीमा लाग्ने मूल्यको १०/२० प्रतिशतमा मर्मत गर्न सकिन्छ । ब्याट्रीमा‍ ठूलो खर्च आउँछ भनेर प्रयोगकर्ताले सोच्ने गर्ने गर्छन् । तर त्यस्तो धेरै हुँदैन ।

ईभी मालिकले केके गर्न पर्छ ?

ईभी भएका ग्राहकलाई हामीले चार ‌ओटा सर्भिस नि:शुल्क दिन्छौं । गाडीले साढे सात हजार किलोमिटर दूरी पार गरे ट्रान्समिसन ओइल परिवर्तन गर्नुपर्ने हुन्छ । एसीको फिल्टर हरेक १५ हजार किलोमिटर पार गरेपछि फेर्नु पर्ने हुन्छ ।  हरेक साढे सात हजार किमि र छ महिना सर्भिसङ गर्दा राम्रो हुन्छ ।

आईसीई र ईभीको सर्भिसिङमा फरक शुल्क हो । किनकी सर्भिसिङ गर्दा आईसीईमा सामान फेर्नुपर्ने हुन्छ भने ईभीमा पर्दैन । औसतमा एक पटकको सर्भिसिङ गर्न आईसीई गाडीमा सात हजार र ईभीमा १५ सय रुपैयाँ जति मात्र लाग्छ ।  

सिप्रदीमा प्राविधिक जनशक्ति

सिप्रदीले आफ्नै ईन-हाउस ट्रेनिङ सेन्टर प्राविधिकहरूलाई हरेक तीन-तीन महिनामा तालिम दिने गरेको छ । नयाँ प्रविधि आउन साथै उनीहरूले तालिम पाउनेछन् । कतिपय अवस्थामा प्राविधिकहरूलाई टाटा मोटर्स, भारतमा पनि सिप्रदीले पठाउने गर्छ । यसबाहेक टेक्निकल क्लब (वर्कशपमा कार्यरत प्राविधिकहरूको समूह) ले विभिन्न प्राविधिक कुराहरूमा छलफल तथा अन्तरक्रिया पनि गर्छ । यसले गर्दा प्राविधिकहरूले आफ्नो सीप तथा क्षमता सधैं बढाउने मौका पाइरहन्छन् । सुरुका दिनहरूमा ईभी नयाँ प्रविधि भएकाले यसमा काम गर्ने दक्षता नभएको महसुस भएपनि अहिले त्यस्तो कुनै समस्या छैन । 

गाडीको सर्भिस सेन्टरमा विभिन्न प्राविधिकहरूको आवश्यकता  पर्छ । सिप्रदीले त्यस्ता जनशक्ति उत्पादन गर्न र उनीहरूको करियरहरूमा सहयोग गर्न सधै लागेको छ । सिप्रदीले आफ्नो तालिम केन्द्रबाट वर्षेनि १२ इन्जिनियरहरू उत्पादन गर्छ । उनीहरूमध्ये केही यहाँ काम गर्छन् भने बाँकी अटोमोबाइलसँग सम्बन्धित संस्था काम गर्न जान्छन् । यसबाहेक टेक्निसियन, इलेक्ट्रिसियनहरू पनि सिप्रदीले हरेक वर्ष उत्पादन गरिरहेको हुन्छ । सिप्रदीसँग २०/२२ वर्षदेखि आबद्ध भएर काम गरिरहेका जनशक्तिहरू छन् । म स्वयं १९ वर्ष भयो ।

कतिपयले अब ईभीका कारण ईसीई प्राविधिकहरूको जागिर गुम्ने बताउने गर्ने गरेका छन् । तर त्यस्तो हुँदैन । सर्भिस  सेक्टरबाट हेर्दा प्रविधिको परिमार्जित भर्सन मात्र ईभी हो । प्रतिशतका हिसाबले भन्दा आईसीईमा हुने ७० प्रतिशत काम ईभीमा पनि हुन्छ ।  उदाहरणका लागि:  ब्रेक प्याड, स्टेरिङ, चक्का, सस्पेन्सन आदि । सिप्रदीले पनि आईसीईका जनशक्तिलाई नै तालिम दिएर ईभीको प्राविधिक बनाएका हाे ।

भविष्यको ईभी सर्भिसिङ सेन्टर

वास्तवमा यी दुई प्रकारका गाडी सबै कुराहरू एउटै हुन्छ । फरक भनेको ड्राइभ टेक्नोलोजी मात्र हो । आईसीईमा इन्जिनबाट पावर लिइन्छ भने ईभीमा मोटरबाट । त्यस्तै आईसीईमा इन्धन भण्डार गर्नुपर्थ्यो भने ईभीमा  ब्याट्री चार्ज । 

आईसीईको तुलनामा ईभीको सर्भिस सेन्टर बनाउन अलि खर्चिलो छ । किनकी त्यहाँ सुरक्षा, पूर्वाधार र प्रविधिका कुराहरू आउँछन् । जसले गर्दा आईसीईका सर्भिस सेन्टरहरू बजारमा देखिए जसरी ईभीको देखिनु अलि गाह्रै जस्तो देखिन्छ । 

आजसम्म वितरकहरूले आफ्नै वर्कशप बनाएर सेवा दिइरहेको देखिन्छ । अहिलेको अनुपातमा नै ईभीहरू बिक्री भए तेस्रो पक्षले भने‍ खोल्न सक्छन् । तर आजको दिनमा कुनै सामान्य वर्कशपमा गएर ईभीलाई मर्मत गर्ने अवस्था छैन । आधिकारिक विक्रेताले बनाएको सर्भिस सेन्टरमै जानुपर्ने हुन्छ । यसकारण सिप्रदीले देशैभर सर्भिस सेन्टरको नेटवर्क बनाउन लागिपरेको छ ।

त्यस्तै अहिलेसम्म काठमाडौंमा नै सबैभन्दा बढी ईभी छन् । यहाँ यही अनुपातमा नै ईभी बढ्न सक्छ । यसो हुँदा सिप्रदीले सर्भिस सेन्टरको योजनालाई दुई तरिकाले हेर्नेछ । पहिलो, अहिले भइरहेका सर्भिस सेन्टरहरूको अपग्रेड गर्ने ।

दोस्रो, नयाँ ठाउँहरूमा पनि सर्भिस सेन्टर थप्ने । यही योजना अन्तर्गत अहिले काठमाडौं कपनमा सिप्रदीले आफ्नो ‘स्टेट अफ दी आर्ट’ सर्भिस सेन्टर सर्भिस सेन्टर बनाइरहेको छ । त्यो ग्राहकका लागि ‘अल इन वान’ हुने छ । त्यसलाई सिप्रदीको स्टेट अफ दी आर्ट सर्भिस सेन्टर भन्न सकिनेछ । 

(कुमार भण्डारी टाटाको प्यासेन्जर कारको सर्भिस सेन्टरका व्यवस्थापक हुन्)

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १५:५७