close

नास्टका नवनियुक्त उपकुलपति भन्छन्ः अब नेपालमा विज्ञान प्रविधिको विकास द्रुत गतिमा हुन्छ

सञ्जीवन राई सञ्जीवन राई

साउन २८, २०८० १७:२४

नास्टका नवनियुक्त उपकुलपति भन्छन्ः अब नेपालमा विज्ञान प्रविधिको विकास द्रुत गतिमा हुन्छ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को उपकुलपतिमा प्राडा दिलीप सुब्बा नियुक्त भएका छन् । यही सेरोफेरोमा उनका आगामी योजना के छन्, विज्ञान तथा प्रविधिप्रति सरकारको दृष्टिकोण, युवा वैज्ञानिक बारेको सोच, बौद्धिक पलायन हुने योजना, नेपालको आफ्नै भूउपग्रह जस्ता विषयमा टेकपानाका लागि सञ्जीवन राईले उपकुलपति सुब्बासँग गरेको कुराकानीको सम्पादित अंश:

 

तपाईं भर्खरै नास्टको उपकुलपतिमा नियुक्त हुनु भएको छ । आफ्नो नियुक्तिको विषयको सन्दर्भमा के भन्नु हुन्छ ?

म विज्ञान तथा प्रविधिको क्षेत्रमा जीवन बिताएको व्यक्ति, त्रिभुवन विश्वविद्यालयमा ३७  वर्ष लामो समय अध्यापन गराएँ । नास्टसँग पनि लामो समयदेखि मेरो सम्बन्ध छ । 

विसं २०६३ देखि २०६७ सम्म नास्टमा सचिव भएर काम गरें । २०७१ सालदेखि प्राज्ञ भएर निरन्तर नास्टसँग सम्पर्कमै छु । त्यसपछि प्राज्ञबाट प्राज्ञ सभा हुने व्यवस्था अनुसार म प्राज्ञ सदस्य पनि भएँ । 

दुई तीन पटक नास्टको व्यवस्थापन परिषद्को  सदस्य भएर पनि काम गरें । जब पूर्वउपकुलपति डा सुनिलबाबु श्रेष्ठ ज्यूको सेवा अवधि सकियो, तब नयाँ उपकुलपतिको नियुक्ति हुने समय आयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन माग्यो । मैले पनि आवेदन दिएँ । त्यो समितिबाट छनौट प्रक्रियामा मेरो नाम पनि  सिफारिस भएछ । 

खुसीको कुरा, प्रधानमन्त्रीले उपकुलपतिमा काम गर्ने अवसर मलाई दिनुभयो । म अत्यन्त खुसी छु । विज्ञान प्रविधिको क्षेत्रमा काम गरेर राष्ट्रका लागि केही गर्ने एउटा इच्छा थियो । त्यो पूरा भएको छ । 

 

विज्ञान तथा प्रविधिको क्षेत्रमा यस अघिका पूर्वउपकुलपतिहरूले गरेको कामलाई तपाईंले कसरी हेर्नुहुन्छ ? 

नास्टको स्थापना भएको आज ४० वर्ष बढी भइसकेको छ । सात/आठ जना उपकुलपतिहरूले नास्टमा काम गरिसक्नु भएको छ ।  सबै उपकुलपतिहरूले नास्टको ऐन, नियम बमोजिम विज्ञान तथा प्रविधिको विकासका लागि काम गर्नु भएको छ । 

हरेक नयाँ उपकुलपतिहरूले यस क्षेत्रको प्रगतिमा ईंटा थप्दै जानु भएको छ । सुरुका दिन भन्दा अहिले धेरै कार्यक्रमहरू नास्टले सञ्चालन गरिरहेको । नास्टको कामको दायरा, त्यसबाट देश समाजलाई दिने परिणाम वा अवसर पनि बढेको छ । 

छोटोमा भन्नुपर्दा सबै पूर्वउपकुलपतिहरूले आआफ्नो क्षमता अनुसार योगदान दिएको पाउँछु । 

 

लामो समयदेखि नास्टसँग आबद्ध  भएको नाताले पक्कै पनि तपाईं नास्टका चुनौतीसँग पनि परिचित नै हुनुहुन्छ । तपाईंले देखेका ती चुनौत केके हुन् ? 

मान्छेले कुनै पनि क्षेत्रमा, कुनै पनि विषयमा काम गर्दा चुनौतीहरू आउँछन् । कुनै पनि काम सुरु गर्दा विभिन्न आकाङ्क्षा, लक्ष्य, प्रतिबद्धता र इच्छाहरू हुन्छन् ।  काम गर्दै जाँदा ती सबै पूरा हुँदैनन् । 

पूर्वउपकुलपतिहरूले यहाँ काम गर्दा होस् वा अन्य संस्थामा प्रमुख भएर काम गर्दा, जहाँ पनि यस्तै हुन्छ । तर  मान्छेले केही लक्ष्यहरू भने राख्नु पर्छ । प्रतिबद्धताहरू राख्नु पर्छ । त्यसो गर्दा सबै पूरा नभए पनि केही लक्ष्यहरू कुनै न कुन हदसम्म निश्चय नै प्राप्त हुन्छन् । 

अब मेरो लागि गनेर यो यो भनिहाल्दिनँ । किनकी भर्खरै नियुक्ति भएर पदबहाली गरेको छु । तर मेरा केही सपना पक्कै छन् । 

नास्टको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने कुरामा म सचेत छु । मेरो कार्ययोजना बनाउँदा ती विषयहरू पर्छन्, यी कामहरू गर्नु पर्छन् भन्ने अवधारणा पक्कै छन् । 

तर मेरा ती अवधारणाहरूलाई अन्तिम रूप दिन भने बाँकी छ । यसका लागि मैले प्रतिष्ठानमा काम गरिरहनु भएका वैज्ञानिक, अन्य जिम्मेवारीमा बस्नु भएका कर्मचारी, प्राज्ञ ज्यू लगायत सरोकारवालासँग अन्तरक्रिया गर्नु छ । तब मात्र म स्पष्ट भएर कार्ययोजना ल्याउँछु ।  

नास्ट विज्ञान तथा प्रविधिको सर्वोच्च संस्था हो ।  यसलाई असीमित अधिकार र अवसरहरू दिइएको छ ।  यसलाई यो नगर्ने, त्यो नगर्ने भन्ने छैन । विज्ञान प्रविधिको विकास मार्फत राष्ट्रलाई समुन्नत बनाउने नास्टको उद्देश्य हो ।

त्यसो हुनाले हाम्रा राष्ट्रका जल्दाबल्दा आवश्यकतकाहरू के के हुन् ? नागरिकका केके हुन् ? समाजका के के हुन् ? हाम्रो अहिलेको जुन आर्थिक अवस्था छ, त्यसबाट जीवन स्तर उठाउन केके गर्नु पर्छ ? भन्ने कुरालाई पुन: विचार गर्नु आवश्यक छ ।

खाद्य सुरक्षालाई मजबुत बनाउनु, प्रविधिको प्रयोग गरेर कृषि उत्पादनलाई बढाउनु, विज्ञान तथा प्रविधि शिक्षालाई अझ  वृहत् प्रविधियुक्त बनाउनु,  दैनिक जीवनमा नागरिकहरूले भोगिरहेका दु:खहरूलाई प्रविधिको प्रयोगबाट कम गर्नु अहिलेका चुनौतीहरू हुन् । यी सबैलाई विज्ञान तथा प्रविधि मार्फत सम्बोधन गर्नु छ ।

ती अवस्थाहरूमा सुधार ल्याउनु छ । यसकारण राष्ट्रलाई समृद्ध र जनतालाई सुखी बनाउन कसरी विज्ञान तथा प्रविधि प्रयोग गर्न सकिन्छ भन्नेमा मेरो ध्यान हुने छ । यसकारण  मैले कार्ययोजना बनाउँदा यिनै कुराहरूलाई  विचार गर्ने छु ।

 

नेपाली युवा वैज्ञानिक (स्वदेश तथा विदेश बस्ने)लाई प्रोत्साहन गर्ने सवालमा केही सोच्नु भएको छ ? 

यसका लागि मैले नयाँ योजनाहरू बनाइरहनु पर्छ जस्तो लागिरहेको छैन । गत आर्थिक वर्षदेखि मात्रै नास्टले सञ्चालनमा ल्याएका युवा वैज्ञानिक लक्षित कार्यक्रमहरू हेर्दा मैले अरू नयाँनयाँ कार्यक्रम बनाउनु पर्छ जस्तो  लाग्दैन । तथापि म यी कार्यक्रमहरूको समीक्षा भने गर्नेछु ।  यस अगाडि नै युवा लक्षित ‌ छ ओटा कार्यक्रम सञ्चालनमा छन् ।  

नास्टले युवा वैज्ञानिकहरूलाई अनुसन्धानमा सहयोगमा गर्न ‘ग्रान्ट’ दिने गर्छ । एक वर्षमा २०० जति युवा वैज्ञानिकले यो ‘ग्रान्ट’ पाउँछन् । यसो हुँदा उनीहरू अनुसन्धानमा लाग्नेछन् । देशमै बस्नेछन् । 

अनुसन्धानका लागि व्यग्र युवाहरूलाई विदेश पलायन हुनबाट यस कार्यक्रमले केही हदसम्म भए पनि रोक्न सक्छ । 

नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण, समृद्धिका लागि भनेर  गत वर्षदेखि नै नास्टको प्रविधि सङ्काय अन्तर्गत नवप्रवर्तन केन्द्र स्थापना गरेका छौं । यसको जति प्रचार हुन्छ, उति नै युवा वैज्ञानिकहरू आकर्षित हुँदै जान्छन् ।

कार्यक्रम बारे थाहा पाएपछि यस्तो गर्न सकिन्छ भनेर युवाहरू आउँछन् । हामी पनि बजेट बढाउँछौ । यसमा मकै छोडाउने हाते मसिन होस् वा बाँदर धपाउने मसिन, त्यस्ता खालका प्रविधिसँग सम्बन्धित नवप्रवर्तनको कार्य युवाहरूले यहाँ आएर गर्न सक्छन् ।

युवाहरूकै लागि भनेर विद्यावारिधि गर्न तीन वर्षका लागि नास्टले ‘ग्रान्ट’ दिने गरेको छ ।  कतिपय प्रतिभावान् युवाहरू विद्यावारिधि गर्न भनेर विदेश जाने र उतै पलायन हुने अवस्था छ । त्यसैलाई रोक्न यो कार्यक्रम आएको हो । 

त्यस्तै विशेष अनुदान भन्ने युवा लक्षित अर्को कार्यक्रम पनि छ । यसका लागि नास्टले योग्य वैज्ञानिकहरूबाट आवेदन माग गर्छ । नास्टका विद्धानहरूको कमिटीले केहीलाई छनोट गर्छ । नेपालभर  १० जनालाई यो अनुदान दिनु पनि ठूलो कुरो हो ।

विशेष प्रतिभा प्रवर्द्धन अनुदान अर्को युवा केन्द्रित कार्यक्रम हो । कोही शारीरिक अशक्त भएर, औपचारिक शिक्षा नलिएर पनि प्रविधि विकास गर्छु वा गरेको छु भनेर आउनु हुन्छ भने त्यस्ता व्यक्तिहरूका लागि भनेर यो कार्यक्रम नास्टले सुरु गरेको हो । 

अर्को ब्रेन पुलिङ कार्यक्रम पनि नास्टसँग छ । जुन ब्रेन ड्रेन भएको हुन्छ, त्यसलाई फेरी ‘गेन’ गर्ने कार्यक्रम ब्रेन पुलिङ हो । 

यस अन्तर्गत विदेशमा बसेका युवा वैज्ञानिकहरू स्वदेश फर्केर आए एक वर्षसम्म अनुसन्धान गर्न नास्टले सहयोग गर्छ । यदि कोही विदेशबाट नेपाल आउने सवालमा समस्या छ भने उहाँहरूले विदेशबाट पनि अनुसन्धान गर्न सक्नु हुन्छ ।

यसरी हामीले युवा वैज्ञानिकलाई लक्षित गरेर विभिन्न काम गर्दै आएका छौं । यिनै कार्यक्रमलाई थप प्रभावकारी बनाउने काममा म लाग्ने छु ।

 

विगतमा नास्टले ‘ग्रान्ट’का लागि आवेदन माग गर्ने र पछि रोक्ने काम भएका थिए । यस्तो कार्यले त ती ‘ग्रान्ट’ प्रति युवामा रहेको विश्वास गुम्दैन ?

गत वर्ष  नास्टले अनुसन्धान अनुदानका लागि आवेदन माग गर्‍यो । आवेदकहरू मध्ये उत्कृष्टलाई दिन छनोट कमिटीले काम गरिरहेको थियो । त्यति बेला नै राज्यको तर्फबाट बजेट अभावको कुरा देखाउँदै उक्त कार्यक्रममा राखिएको पाँच करोड रुपैयाँ फिर्ता लियो ।

अनि पैसा नै नभए पछि त्यो कार्यक्रम त्यत्तिकै अलपत्र परेको हो । अहिले अलपत्र रहेको अवस्थाबाट त्यसलाई  निरन्तरता दिने काम हामीले काम सुरु गरिसकेका छौं ।

यसका लागि बजेट पनि प्राप्त भइसकेको छ । राज्यको अवस्थाका कारण अलि ढिला हुन गएको मात्र हो । त्यो कार्यक्रम भने रोकिएको छैन । आगामी दिनहरूमा यस्तो हुन नदिन म सचेत रहने छु ।

 

नास्टभित्र विभिन्न सङ्काय छन् । तिनको वृत्ति विकास गर्न वा नास्टको साङ्गठनिक संरचना परिवर्तन गर्ने कुरामा तपाईंका केही योजना छन् ?

वृत्ति विकासको कुरा गर्दा बजेट हेर्नुपर्ने हुन्छ । अहिले राज्यले विज्ञान प्रविधि र रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी) मा लगानी गर्ने नीति लिएको देखिन्छ । यस पटक यो क्षेत्रका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ ।

हामीसँग बजेट कोषको राम्रो व्यवस्था भयो भने धेरै जनालाई अनुसन्धान अनुदानहरू दिन सक्छौं । त्यस्तै प्रकारका अन्य वृत्तिविकासका कार्यक्रमहरू थप्न सक्छौं ।  राज्यले आगामी  दिनहरूमा आरएन्डडीमा पक्कै लगानी बढाउने छ ।

निश्चय नै त्यसबेला नास्टसँग पनि पर्याप्त बजेट हुने नै छ । त्यसो भएको खण्डमा अनुसन्धानका लागि वृत्ति बढाउने काम हामी गर्ने छौं । वृत्ति दिने रकमदेखि लिएर लक्षित सहभागी सङ्ख्या बढाउने छौं ।

नास्टको संरचना बलियो बनाउने, अझै सुदृढ तुल्याउने कुराहरू पछिल्ला पदाधिकारीहरूबाट आएकै हुन् । उहाँहरूले विषयविज्ञहरूबाट केही  रिपोर्टहरू पनि तयार पार्नु भएको थियो । मैले ती रिपोर्ट हेर्न बाँकी नै छ ।

नास्ट विज्ञान तथा प्रविधिको सर्वोत्तम र व्यापक कार्यक्षेत्र भएको संस्था भएको हुनाले यसको संगठनमा समय अनुसार रूपान्तरणहरू गर्ने, कार्ययोजना विस्तृत गर्दै जाने र यसलाई देशव्यापी विस्तार गर्ने काम गर्नुपर्छ ।

गत वर्षदेखि यसका लागि केही सुरुआत भएको पनि छ । जस्तै: सबै प्रदेशहरूमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने काम सुरु भइसकेको छ । बजेट अभावले ती अनुसन्धान केन्द्रहरू सञ्चालन आएका थिएनन्, अब भने आउने छन् ।

र नबनेका ठाउँमा बन्नेछन् । केन्द्रीय बाहेक प्रदेश र स्थानीय सरकारसँग पनि आर्थिक सहयोग मागेर हामी यो काम गर्ने छौं । 


आफूलाई काम गर्न समय समयमा नीतिले नदिएको भनेर नास्टले बेला बेला भन्ने गर्छ । त्यसमा तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

हिजोका वर्षभन्दा अहिले धेरै उत्साहप्रद अवस्था छ । राज्यको नीति हेर्दा  म धेरै आशावादी छु ।  आउने दिनहरूमा यो अवस्थामा झन् झन् सुधार हुँदै जानेछ । म आशावादी छु, विज्ञान  तथा प्रविधिको विकास द्रुत गतिमा बढ्ने छ । अहिले विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति आइसकेको छ ।

कानून पनि बनिसकेको छ । नीतिगत तथा कानूनी व्यवस्था भएपछि काम गर्न पक्कै सजिलो हुने छ । ती नीतिहरूमा विज्ञान तथा प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने, युवा वैज्ञानिकहरूलाई प्रोत्साहन गर्नुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने भन्ने कुराहरू छन् । जुन काम नास्टले सुरु गर्ने छ । 

नेपालमा विज्ञान प्रविधि कुन अवस्थामा थियो, मैले जीवनभर हेरेको छु ।  राज्यले कति ध्यान दिएको थियो । अहिले सबै पक्षहरूबाट विज्ञान तथा प्रविधिलाई महत्त्व दिनु पर्छ भन्ने आवाज आइरहेको छ ।

त्यसै अनुसार राज्यले आरएन्डडीमा लगानी पनि बढाइरहेको छ । पहिले मन्त्रालयमा यस क्षेत्रसँग सम्बन्धित एउटा पनि विभाग थिएन । तर अहिले विज्ञान तथा  प्रविधिका काम हेर्ने गरी विशेष विभाग तथा निकाय गठन भइरहेको छ ।

त्यो विभागले नास्टसँग अत्यन्त नजिक भएर काम गर्ने छ । यसले नास्टको काम र प्रभाव बढ्दै जानेछ भन्ने मलाई लागेको छ । यसरी हेर्दा काम गर्न नीतिले नदिने भन्ने हुन्न कि !

 

विभिन्न संघसंस्थासँगको सहकार्यका लागि पनि तपाईंले केही सोच बनाउनु भएको छ ?

नास्टको बजेटको मुख्य स्रोत केन्द्रीय सरकारबाट प्राप्त हुने अनुदान नै हो । त्यस बाहेक नास्ट आफैंले विभिन्न आयोजनाहरू सञ्चालन गर्छ । विभिन्न संघसंस्थाहरूबाट अनुदान तथा परियोजना प्राप्त गर्छ ।

ती परियोजनाको अनुसन्धान गरेर, परिचालन गरेर समेत नास्टले केही आय गर्छ । त्यस्तै नास्टले केही वैदेशिक अनुदान पनि प्राप्त गर्छ । विदेशी संस्थाहरूसँग सहकार्य गर्छ । यी नास्टका लागि बजेटका स्रोत पनि हुन्, जुन सीमित छन् । 

स्वदेश र विदेशमा भएका अन्य धेरै संघसंस्थाहरूसँग नास्टको सम्झौता भएको छ । कतिपय त्यस्ता संस्थाहरूसँग सहयोग आदानप्रदान गर्ने र सहकार्य गर्ने काम नास्टले गर्छ ।

त्यसरी सहकार्य गर्दा पनि नास्टले केही आयआर्जन गर्छ । अझै हामी त्यस्ता वैदेशिक सहकार्य बढाउन र सम्बन्ध सुधार गर्न लागेका छौं । म त त्यसमा निश्चय नै लाग्ने छु । 

 भारतको काउन्सिल फर साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च (सीएसआईआर)सँग भएको सम्झौता नवीकरण नभएको कुरा  म आए पछि मात्र थाहा पाएँ । छ/आठ महिना अघि नै गर्नु पर्ने काम रोकिएको रहेछ ।

अब म त्यसमा लागिहाल्ने सोचमा छु । यसरी अन्तरराष्ट्रिय संस्थाहरूसँग मिलेर जाँदा प्रविधि हस्तान्तरण गर्न सजिलो हुन्छ । 

उच्चतम तथा नवीनतम प्रविधिहरू नास्ट एक्लैले विकास गर्न सक्दैन ।  त्यसका लागि विदेशी राष्ट्र र त्यहाँ भएका अग्रणी संस्थाहरूको सहयोग चाहिन्छ । नेपालले दुई वर्ष अगाडि नानो स्याट उडायो । त्यो दुई वर्ष जति अन्तरिक्षमा रह्यो ।

त्यसबेला जापानसँग सहकार्य गरिएको थियो । अब डाँफे र मुनाल नामका दुई ओटा ससना स्याटलाइट तयार भएका छन् । तिनीलाई थाइल्यान्ड र भारतको इसरोबाट प्रक्षेपण गर्ने योजना छ । अब यी उडाउने मात्र होइन, भूउपग्रहबाट लिन सक्ने लाभहरू पनि हामीले लिनु छ । 

पूर्वपदाधिकारी ज्यूहरूले स्थानीय पालिकाहरूसँग पनि सम्झौता गर्नु भएको छ । यद्यपि ती पालिकाहरूमा नास्टले विज्ञान तथा प्रविधिको क्षेत्रमा के गर्न सक्छ भनेर कार्यक्रमहरू तय भएका छैनन् । खाद्य, हरित सहर, वैज्ञानिक गाउँ जस्ता केही कार्यक्रम लागु भए । तर ती त्यति प्रभावकारी भएका छैनन् ।

एउटा समाजमा,  गाउँमा ‘वैज्ञानिक गाउँ’ लागु  गरेर देशले त्यति महसुस गर्न पाउँदैन रहेछ । यी कार्यक्रम लगेर हरेक प्रदेशमा जाने, रहेक गाउँमा जाने बारे मैले सोचिरहेको छु । नास्टले कुनै पनि प्रविधिको विकास गर्छ भने त्यसलाई देखाउने, प्रसार गर्ने, त्यसलाई व्यावसायिकीकरण गर्ने काम त्यो गाउँमा गरिनेछ ।

विकास भएका ती प्रविधिहरूको ‘एक्स्टेन्सन वर्क’ ती गाउँहरूमा हुने छ । यसरी उत्पादन र बजारलाई वैज्ञानिक गाउँ मार्फत जोड्ने सोचेको छु । पूर्व पदाधिकारीहरूले त्यसलाई कसरी अघि बढाउने सोच्नु भएको रहेछ, मैले हेर्नै बाँकी छ । तर मैलै यसलाई यसरी सोच्दै छु । 

 

अहिले नास्ट आफैंले बनाएका कतिपय उत्पादन गुमनाम छन् । उदाहरणका लागि नास्टले बनाएको रोबोट हेरौं । आफैँले बनाएर आफ्नै कार्यालयमा राखेको उक्त रोबोटको संरक्षण र थप विकास गर्न नास्टले सकेको छैन । यस्ता थुप्रै उदाहरण छन् । यसलाई तपाईंले कसरी लिइरहनु भएको छ ? आगामी दिनमा यस्तो हुन नदिन के गर्नु हुन्छ ?

मेरो ध्यान त्यता तिर पनि छ । अनुसन्धानले कुनै चीज वा वस्तुको उत्पादन गर्‍यो । तर त्यो त्यहीं सीमित भयो । त्यसको बजारिकरण तथा व्यापार पनि भएन । त्यसो हुन नदिन परियोजना परिकल्पना गर्दा नै त्यसको उत्पादन र बजारिकरणसम्मको खेस्रा तयार गर्नुपर्ने हो । 

वास्तवमा विज्ञान त ज्ञान हो । त्यो ज्ञानलाई प्रयोग गरेर प्रविधि विकास गर्ने हो । प्रविधिले कुनै पनि वस्तु तथा सेवा उत्पादन वा तयार पार्छ । त्यो समाजमा वास्तविक उपभोक्ता कहाँ जानुपर्ने हो । त्यसको व्यवसाय हुनुपर्ने हो । त्यसबाट आय आर्जनहरू हुनुपर्ने हो । खासमा काम यसरी हुनु पर्ने हो । 

तर नास्टले पनि यसरी काम गर्न भने सकेको छैन । यहाँ रोबोट त बन्यो । इलेक्ट्रिक मोटरसाइकल पनि बन्यो । अब के त भन्ने प्रश्न मेरा लागि पनि हो । म के कुरामा स्पष्ट छु भने अब यस्तो प्रवृत्ति दोहोरिनु हुन्न ।

यसको समाधान पत्ता लगाउनै पर्छ । यसमा नास्ट सफल हुनै पर्छ । नास्टले जुन उत्पादन तयार गर्छ, त्यसलाई बजारसँग जोड्नै पर्छ । नास्टले नागरिकलाई सुविधा दिनसक्नु पर्छ, राष्ट्रको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्‍याउनु पर्छ भन्नेमा म दृढ छु ।

त्यसका लागि उत्पादन गरेर मात्र हुँदैन ।  प्रदर्शनीमा मात्र राखेर हुँदैन । व्यवहारिक प्रयोग हुन आवश्यक छ ।

कृषिमा रोबोट प्रयोग गर्न सकिन्छ । नेपालमा रोबोटिक्स क्लब वा अन्य व्यक्तिले  रोबोट बनाउने, सम्भार गर्ने गर्छन् भने नास्टले अब तिनलाई कृषिमा लान्छ ।

स्याटलाइट सम्बन्धी कसैले केही काम गरेको छ भने त्यसलाई पनि कृषि उत्पादन र कृषि पेशाका लागि प्रयोग गर्छ । अहिले मैले यसरी सोचिरहेको छु ।​

 

नास्ट विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने राष्ट्रिय संस्था । कतिपयले यसको प्रयोगशालामाथि प्रश्न उठाउने गरेका छन् नि !

प्रयोगशालामा केही जटिलता छन् । नास्टमा पहिले विज्ञानका लागि छुट्टै र प्रविधिको छुट्टै प्रयोगशाला थिएन, एउटै भवनमा थियो । म सचिव भएको बेला विज्ञान ल्याबको भवन निर्माण भएको हो । हालै प्रविधिका लागि ल्याब बनेको छ ।

अहिले नास्टका मुख्य ल्याब यिनै हुन् । तर प्रदेशहरूमा हुने अनुसन्धान केन्द्रमा प्रयोगशाला निर्माण गर्नुपर्ने छ ।  त्यहाँ अहिले कार्यालयका लागि मात्र भवन छ । जहाँ प्रशासनिक, आर्थिक लगायतका काम हुने गर्छन् ।

तर त्यहाँ पनि प्रयोगशालाको आवश्यकता छ ।  फेरि प्रयोगशाला भनेको भवन मात्र होइन । त्यहाँ प्रयोग हुने सामग्री, वैज्ञानिक उपकरणहरू आदि पनि हुन् । त्यस्तै प्रयोगशाला निर्माण गर्दा निकै योजना बनाउनु पर्ने हुन्छ ।

जस्तो: सुदूरपश्चिमको प्रयोगशालामा जडीबुटी माथि अनुसन्धान गर्नु प्राथमिकताको विषय हो । तर जडीबुटी सम्बन्धित काठमाडौंमा पनि प्रयोगशाला छ । भनेपछि एउटै कामका लागि दुई प्रयोगशाला भए । यसमा भने मैले पक्कै सोच्ने छु ।

 

नास्टले जे गर्नु पर्ने हो, त्यो गर्न नसकेर राष्ट्रिय आविष्कार केन्द्र खुलेको भन्ने गरिन्छ । यसमा तपाईंको विचार के छ ? 

नास्ट व्यापक क्षेत्राधिकार पाएको राष्ट्रिय संस्था हो । यसको कार्यक्रममा विविधता छ । ती मध्ये कति महसुस हुन्छ, कति हुँदैनन् । नास्टका थुप्रै कामहरू मध्ये अनुसन्धान एक हो । राष्ट्रिय आविष्कार केन्द्रको काम पनि अनुसन्धान गर्नु नै हो ।

नास्टको काम विशाल छ । बहुआयामिक छ । तर आविष्कार केन्द्रको भने ‘इनोभेसन एन्ड इन्भेन्सन’ प्रमुख छ । आविष्कार केन्द्रले केही प्रविधि जन्य वस्तुहरूमा नवप्रवर्तन गरेको छ । आविष्कार गरेको छ । तर नास्टले भने अनुसन्धान बाहेक धेरै काम गर्छ ।

नास्टले धेरै राष्ट्रमा भएका संघसस्थाहरूसँग सहकार्य गरे जस्तै आविष्कार केन्द्रसँग पनि सहकार्य गर्छ । यदि भइसकेका छैनन् भने त्यो गर्नुपर्छ । आविष्कार केन्द्रलाई कहाँ सहयोगको आवश्यकता छ ? त्यो नास्टले गर्छ । आविष्कार केन्द्रका पनि आफ्नै केही सीमाहरू छन् । त्यसका लागि नास्ट सहायक र सहयोगी हुन सक्छ । ​

 

नास्टको पूर्वसचिव (२०६३ देखि २०६७सम्म) भएर समेत काम गरिसक्नु भएको छ । यस अर्थ  नास्टको हरेक विषय र गतिविधिसँग तपाईं जानकार नै हुनुहुन्छ । अब हामीले तपाईंको कार्यकालमा के अपेक्षा राख्ने ? चार वर्षपछिको नास्ट कस्तो होला ? 

नास्टमा सचिव भएर काम गर्दा विभिन्न अनुभव बटुलें । नास्टको सिस्टम थाहा पाएँ । त्यसै कारण अहिले उपकुलपति हुँदा काम गर्न सजिलो भएको छ । दैनिक कार्य सञ्चालनमा अलमलिनु पर्ने अवस्था छैन ।

म सचिव हुँदा कर्मचारी व्यवस्थापन सबैभन्दा जटिल चुनौती थियो । जनशक्ति व्यवस्थापन नभएसम्म संस्थाको उन्नति प्रगति हुन सक्दैन । त्यसबेला  नियमहरू बनाएर, त्यसमा मेहेनत गरेर कर्मचारी व्यवस्थापनको काम गरियो ।

त्यो अनुभव अहिले काम लाग्छ । त्यसबेला मेरो अवधारणामा प्रयोगशाला हुनै पर्दछ भन्ने थियो । अहिले प्रयोगशाला तयार भएर विभिन्न कामहरू भइरहेका छन् । त्यही बेला त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर विद्यावारिधि गर्ने विद्यार्थीलाई अनुसन्धानका लागि ‘ग्रान्ट’ दिने काम सुरु गरियो ।

त्यसबेला म सचिव भएर आउँदा नास्ट थलिएको जस्तो थियो । पछि सक्रिय बनाइयो । अहिले खासै त्यस्ता चुनौती छैनन् । हुन त काम गरेपछि चुनौती अवश्य आउँछन् । त्यसबाट डराउनु हुन्न । उद्देश्य राख्नु पर्छ । सकेसम्म उपलब्धि हासिल गर्नु पर्छ । 

कसरी स्वच्छ र सक्रिय रूपमा संस्थाको व्यवस्थापन चलाउन सकिन्छ, त्यसमा ध्यान दिनु पर्छ । मैले सचिव हुँदा पनि दिएकै थिएँ । अब पनि दिन्छु । काम गर्दा बाधा भए त्यो गर्न सकिँदैन । धरानमा म क्याम्पस प्रमुख हुनु अगाडि सधैं हड्ताल हुन्थ्यो ।

म आइसकेपछि भएन ।  मैले तिनै काम गर्दाका अनुभवहरू, सिकाइहरू र कसरी काम गर्दा त्यो संस्थाको अझ प्रगति हुन सक्छ, यिनै कुराहरू ध्यानमा राखेर अघि बढ्छु ।

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८० १७:५४