close

आईओईका एचओडीलाई प्रश्नः देशमा आधा सिभिल इन्जिनियरहरू बेरोजगार बस्नुपर्ने अवस्था किन आयो ?

टेकपाना टेकपाना

फागुन १०, २०८१ ११:२४

आईओईका एचओडीलाई प्रश्नः देशमा आधा सिभिल इन्जिनियरहरू बेरोजगार बस्नुपर्ने अवस्था किन आयो ?

तत्कालीन सोभियत सङ्घ (हालको रुस) बाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका गोकर्णबहादुर मोत्रा विसं २०४८ मा उपप्राध्यापकको रूपमा त्रिभुवन विश्वविद्यालयमा आबद्ध भए । पछि आईआईटी बम्बेबाट पीएचडी सकाए । ३२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराएका प्राडा मोत्रा  इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)कै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्याम्पस प्रमुख समेत रही सकेका छन् । पछिल्लो समय करिब ४ वर्षदेखि संस्थानको सिभिल इन्जिनियरिङ विभागको प्रमुखको रूपमा कार्यरत उनीसँग सिभिल इन्जिनियरिङको खस्कँदो आकर्षण र निम्तिरहेको शैक्षिक बेरोजगारी लगायतका विषयमा टेकपानाले गरेको कुराकानी :

१. नेपालमा सिभिल इन्जिनियरिङको पढाइको सुरुवातको विषयबाटै कुराकानीको थालनी गरौं न !

नेपालमा सिभिल इन्जिनियरिङतर्फ डिप्लोमा तहको पढाइ सुरु भएको धेरै पहिला नै हो । इन्जिनियरिङकै कुरा गर्ने हो भने वसन्तपुर तिर टेक्स्टाइल ट्रेनिङ स्कुल खोलिएको थियो, त्यो २०१८/२० सालतिरको कुरा हो । पछि सरकारकै पहलमा अहिले त्रिचन्द्र कलेज रहेको ठाउँमा इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने हिसाबले एक दुई वर्ष ट्रेनिङ क्लास चलाइयो । 

पुल्चोक इन्जिनियरिङको पुरानो भवन (आनन्द निकेतन) तत्कालीन समयमा नेपाल सरकारको सार्वजनिक निर्माण शाखाको रूपमा थियो । प्रशासनिक प्रतिष्ठान जावलाखेलमा दुई वर्ष डिप्लोमा तहको पढाइ भएपछि  विसं २०२१/२२ तिर त्यहाँका इन्जिनियर आएर आनन्द निकेतन स्कुल सञ्चालन गरियो र त्यहीँबाट डिप्लोमा तहको पढाइ हुन थाल्यो । 

२०२६/२७ सालतिर थापाथलीमा जर्मन सरकारको सहयोगमा मेकानिकल ट्रेनिङ सेन्टर खोलियो । २०२८ सालमा जब नेपालमा नयाँ शिक्षा ऐन आयो, त्यसपछि बल्ल थापाथलीको मेकानिकल ट्रेनिङ सेन्टरलाई थापाथली क्याम्पस र यहाँको इन्जिनियरिङ ट्रेनिङ सेन्टरलाई पुल्चोक क्याम्पस भनेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत राखियो र औपचारिक रूपमा डिप्लोमा तहको पढाइ सुरु भयो । त्यो अहिलेको प्लस टु सरहकै कोर्स  थियो । 

पछि २०३५/३६ सालतिर ब्याचलर तहमा पनि इन्जिनियरिङको पढाइ सुरु गर्ने कुरा आयो । र,  १५/१६ जना डिप्लोमा गरेका विद्यार्थीलाई राखेर त्यसको पढाइ सञ्चालन भयो । तर, त्यतिखेर दुई ओटा ब्याच मात्रै भर्ना लिइएको थियो ।  त्यस उपरान्त लामो समयको अन्तरालपछि आवश्यक प्राविधिक जनशक्तिको अभाव हुन थालेपछि नेपाल सरकारले नै विश्वविद्यालयसँग सहकार्य गरेर २०४२/४३ सालदेखि यहाँको सिभिल इन्जिनियरिङमा नियमित भर्ना लिन थालिएको हो । सुरुमा यहाँ निर सिभिलको मात्रै पढाइ हुन्थ्यो । 

२. इन्जिनियरिङ अध्ययन अध्यापनमा नेपालमा अहिलेको स्थिति के हो ?

अहिले आईओईको ब्याचलर लेभलमा मात्रै विभिन्न १० ओटा विषयमा इन्जिनियरिङको पढाइ हुन्छ । जसमा सिभिल इन्जिनियरिङ सबैभन्दा पुरानो विषय हो । अन्य विषयको रूपमा आर्किटेक्चर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिकल, एरोस्पेस र केमिकल इन्जिनियरिङ छन् । केमिकल र एरोस्पेस पुल्चोक क्याम्पसमा मात्रै छ । थापाथलीमा थप विषयको रूपमा इन्डस्ट्रियल इन्जिनियरिङ र अटोमोबाइल इन्जिनियरिङ छ । पश्चिमाञ्चल क्याम्पस पोखरामा जियोमेट्रिक्स इन्जिनियरिङको पढाइ हुन्छ, जुन नापी सम्बन्धी काम गर्ने इन्जिनियरिङ हो । अर्को धरानमा मात्रै पढाइ हुने एग्रिकल्चर इन्जिनियरिङ पनि छ । सामान्यतया अन्य विश्वविद्यालयमा भएका पनि यिनै विषयहरू नै हुन् । यस बाहेक पूर्वाञ्चल विश्वविद्यालयमा भएको छुट्‍टै विषय भनेको बायोमेडिकल इन्जिनियरिङ हो, त्यो चाहिँ मेडिकल इक्विपमेन्टसँग सम्बन्धित विषय हो । काठमाडौं विश्वविद्यालयले माइनिङ सम्बन्धी इन्जिनियरिङको अध्यापन सुरु गरेको, जुन नेपालमा अन्यत्र छैन । 

३. अहिले वार्षिक रूपमा देशमा कति सङ्ख्यामा सिभिल इन्जिनियर तयार भइरहेका छन्, त्यसको आँकडा के कस्तो छ ?

यसको यकिन तथ्याङ्क त मसँग पनि छैन । यद्यपि हरेक वर्ष ३५०० देखि ४००० को सङ्ख्यामा नेपालमै सिभिल इन्जिनियरहरू उत्पादन भइरहेका छन् । बाहिर अध्ययन गरेर आउने विद्यार्थीहरूको सङ्ख्या बेग्लै छ । ब्याचलर लेभलको सिभिल इन्जिनियरिङमा त्यससम्बन्धी सबै विषयको पढाइ हुन्छ । त्यसमा विद्यार्थीले बिल्डिङ कन्स्ट्रक्सन, रोड कन्स्ट्रक्सन, खानेपानी आपूर्ति तथा सरसफाई कन्स्ट्रक्सन, पुल कन्स्ट्रक्सन तथा मेन्टिनेन्स, हाइड्रोपावर, इरिगेसन क्यानल जस्ता सिभिल इन्जिनियरिङका जनरल विषयहरू सबै पढ्नु पर्छ ।

न‍र्मल गाइडलाइन र कोडहरू फलो गरेर ब्याचलर पढेको विद्यार्थीले डिजाइन गर्न सक्छन् । कुनै निश्चित विषयमा गहन ज्ञान हासिल गर्छु अथवा त्यसमा अनुसन्धान गर्छु वा विशिष्टीकृत काम गर्छु भन्ने हो भने विद्यार्थीहरूले मास्टर्समा स्पेसलाइजेसनका विषयहरू रोज्न सक्छन् । पुल्चोकमा मात्रै मास्टर्समा सिभिल इन्जिनियरिङका ८ ओटा विषयको पढाइ हुन्छ । जसमा स्टक्चरल, जियोटेक्निकल, ट्रान्सपोर्टेसन, इन्भाइरोमेन्टल, कन्स्ट्रक्सन म्यानेजमेन्ट, डिजास्टर रिस्क म्यानेजमेन्ट, हाइड्रोपावर र वाटर रिसोर्स इन्जिनियरिङ छन् । आईओईकै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा इन्फ्रास्टक्चर इन्जिनियरिङ र टनेल इन्जिनियरिङको पढाइ हुन्छ, नेपालमा अन्यत्र यी विषयहरूको पढाइ हुँदैन । त्यस्तै थापाथलीमा अर्थक्वेक इन्जिनियरिङको पढाइ हुन्छ र धरानमा वाटरशेड म्यानेजमेन्ट इन्जिनियरिङ छ । 

वार्षिक रूपमा त्रिवि अन्तर्गत १० ओटा विषयमा २०० जना र अन्य विश्वविद्यालयका समेत गरेर करिब ७०० जना विद्यार्थीले सिभिल इन्जिनियरिङमा मास्टर्स पास गर्छन् । मास्टर्स पढ्ने धेरैजसो जब होल्डरहरू नै हुने गरेका छन् । 

४. उत्पादित इन्जिनियर र बजारको रोजगारीको उपलब्धताबिच तालमेल देखिँदैन । आधा जति इन्जिनियरहरू बेरोजगार बन्नुपर्ने अवस्था कसरी आयो ?

खपतको हिसाबले हर्ने हो भने ब्याचलर्स पास गरेका विद्यार्थीमध्ये हरेक वर्ष २०० देखि ३०० जतिले सरकारी सेवा (लोक सेवा, प्रदेश सरकार र संस्थान) मा जागिर पाउँछन् । त्यस्तै निजी क्षेत्रमा रोजगारी पाउनेहरूको सङ्ख्या ५००/६०० जति हुन्छ होला । केही (५०/१०० जना जति) उद्यमशीलता रोज्छन् भन्ने लाग्छ । यसरी कूल मिलाएर वार्षिक १००० जना जति विद्यार्थी स्थानीय बजारमा खपत हुन्छन् । यसरी हेर्दा वार्षिक रूपमा देशभित्र तयार हुने आधा भन्दा बढी सिभिल इन्जिनियर बेरोजगार छन् भन्ने कुरा मान्न सकिन्छ । 

५. भनेपछि सिभिल इन्जिनियरिङ जस्तो विषयमा पनि विद्यार्थीको करियर सुरक्षित छैन ? 

धेरै जसो विद्यार्थीहरू करियर बनाउँछु, यही क्षेत्रमा केही काम पाउँछु भनेरै सिभिल इन्जिनियरिङ पढ्ने हो ।  अरू नै विषय पढ्ने र फरक खालको करियर बनाउने रुचि भएका तर अभिभावकको दबाबमा यो विषय पढ्न आउनेहरू भने अहिले एकदमै कम छन् । 

सिभिल इन्जिनियरिङ पढेर पनि बेरोजगार बस्नु पर्ने जुन सवाल छ, त्यो सन्दर्भमा राष्ट्रिय स्तरको योजना निर्माणका क्रममा विचार  गर्नुपर्ने विषय हो । हाम्रा कुनै क्षेत्रमा जनशक्ति नै नहुने, कतै बढी हुने अवस्था पो हो कि ! योजनाबद्ध जनशक्ति उत्पादन नभएको हो कि भन्ने पनि छ । तर अहिले विश्व बजार पनि निकै विस्तार भइसकेको छ । त्यस हिसाबले यहीँ मात्र जागिर गर्नुपर्छ भन्ने भन्दा पनि बाहिर पनि अवसर खोज्न सकिन्छ भन्ने मानसिकता पनि विकसित भइरहेको छ ।  

६. पछिल्लो समय सिभिल इन्जिनियरिङमा विद्यार्थीहरूको आकर्षण घट्दै जानुको कारण के होला  ?

अवश्य पनि पहिला पहिला जस्तो सिभिल इन्जिनियरिङमा विद्यार्थीको आकर्षण छैन । पहिलाको हिसाबले त ५० प्रतिशत नै घटिसक्यो भन्छु म त । यसमा विभिन्न कारणहरू छन् । पहिलो कुरा त विश्व बजार विस्तार भयो । काम गर्ने क्षेत्रहरू धेरै भए र मान्छेहरूले विभिन्न क्षेत्रमा करियर बनाउन थाले । उदाहरणका लागि बैंकिङ क्षेत्रलाई नै लिन सकिन्छ । यता भन्दा त्यो क्षेत्रको करियर अलि सजिलो हो कि ? यहाँ त फिल्डमा खटिनु पर्‍यो, जताततै जानु पर्‍यो । जुन सबैलाई फिट नहुन सक्छ । 

अर्को भनेको पछिल्लो समय बिजनेस सेक्टर तिर पनि विद्यार्थीहरू बढी अभिप्रेरित भएको हो कि भन्ने पनि लाग्छ । यस्तै कारणले गर्दा यता सिभिल इन्जिनियरिङको पाटो सङ्कुचित भएको हो कि ! 

इन्जिनियरिङ क्षेत्रले समाजमा जुन किसिमको छाप छोड्न सक्नु पर्थ्यो, त्यो गर्न नसक्नु पनि अर्को कारण हुन सक्छ । इन्जिनियरहरूको इथिक्समाथि पनि ठुलो प्रश्न छ, अहिले । त्यसैगरी पूर्वाधारमा राज्यले लगानी गरिरहेको छ, थुप्रै संरचना बनिरहेका छन् । घरै बसेर संसारभरका कुराहरू थाहा पाउन र देख्न सकिने भएको छ । त्यस हिसाबले हाम्रो यहाँका पूर्वाधार र तिनमार्फत प्रदान गरिने सेवाहरू अन्य विकसित देशका पूर्वाधारहरूसँग तुलना गरेर हेर्न सजिलो भयो । यसले गर्दा समाजमा हाम्रा स्थानीय सिभिल इन्जिनियरको छाप राम्रो नपरेको हो कि भन्ने पनि मलाई लाग्छ । 

७. आईटी तथा कम्प्युटर इन्जिनियरिङको दाँजोमा सिभिल इन्जिनियरिङ किन पछाडि परेको होला ?

इन्जिनियरिङका अन्य विषयहरूभन्दा सिभिल इन्जिनियरिङ कमजोर छ भन्न मिल्दैन । हाम्रो देशको तथ्याङ्क केलाएर हेर्नु भयो भने अहिले पनि सबैभन्दा बढी विद्यार्थीले पढ्ने इन्जिनियरिङ भनेकै सिभिल हो । र बजारमा रोजगारीको अवसर पनि यही क्षेत्रमा बढी छ । आईटी क्षेत्रकै कुरा गर्नु भयो भने पनि बाहिरको काम गर्नेहरू बढी होलान् । तर नेपालकै रोजगारीको कुरा गर्ने हो भने सिभिल इन्जिनियरहरूले नै बढी अवसर पाइरहेका छन् । अर्कोतर्फ भर्ना हुन आउने विद्यार्थीहरूलाई हेर्ने हो भने पनि पहिला एकताका इलेक्ट्रोनिक्समा एकदमै राम्रो थियो । सबै टपरहरू इलेक्ट्रोनिक्स रोज्ने गर्थे । किन भने त्यो बेला रोजगारीको अवसर (नेपालभित्र र बाहिर दुवैतिर) पनि त्यसैमा राम्रो थियो । 

पछि विस्तारै आईटी क्षेत्र तथा कम्प्युटर तिर आकर्षक रोजगारी पाउने भएपछि अहिले टपरहरू पनि त्यही विषय रोज्ने गर्छन् । तर त्यस बाहेकका बहुसङ्ख्यक विद्यार्थी, त्यसमा पनि औसत भन्दा माथिका विद्यार्थीहरू अहिले पनि सिभिल इन्जिनियरिङमै आउँछन् । यद्यपि इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ मात्र नभएर आईटी कलेजहरू अहिले नेपालभर सबैतिर छन् । यस हिसाबले विद्यार्थीको फ्लो पनि त्यता तिर नै बढी छ । यस विषय प्रतिको आकर्षण मुख्यतः विश्व बजारले गर्दा नै हो । नेपालमै बसेर बाहिरका आईटी कम्पनीहरूमा काम गर्ने पनि थुप्रै छन् ।

सङ्ख्यात्मक रूपमा पहिला जति विद्यार्थीहरू सिभिल इन्जिनियरिङ पढ्ने गर्थे, त्यसको दाँजोमा अहिले यो विषय पढ्ने विद्यार्थी घटेका छैनन् । पछिल्लो समय यदाकदा बाहेक इन्जिनियरिङ पढाइ हुने त्यस्तो कलेज छैन, जहाँ सिभिलको पढाइ नहोस् । अहिले सबै गरेर देशभर ४०/४५ ओटा कलेजमा इन्जिनियरिङको पढाइ हुन्छ ।  

सिभिलमा भने आफैँ स्टार्टअप सुरु गर्नकै लागि पनि ठुलो पुँजी चाहिन्छ । त्यसले गर्दा पनि गाह्रो भएको होला । भूकम्प पछिको अवस्था हेर्ने हो भने थुप्रै पुनर्निर्माणका कामहरू गर्नुपर्ने भयो । कन्स्ट्रक्सन सेक्टर ह्वात्तै माथि आयो । थुप्रै मान्छेहरूले जागिर पनि पाए । त्यो बेला टपर विद्यार्थीको रोजाइमा पनि सिभिल इन्जिनियरिङ परिरहेको थियो । पूर्वाधार निर्माणका काममा एक पटक जनशक्ति भर्ना गरिसकेपछि त्यो खाली नहुँदासम्म अर्कोले रोजगारीको मौका पाउने कुरा भएन । त्यसका लागि नयाँ अवसर आउनु पर्‍यो । तर त्यस्ता नयाँ अवसरहरू आउने सम्भावना पनि कम भयो । यसले गर्दा सिभिलका विद्यार्थीहरू बेरोजगार बन्नुपर्ने वा भनौँ रोजगार पाउन गाह्रो भएको हो । 

सिभिलको क्षेत्र व्यापक छ । पूर्वाधार बनिरहेका छन् । भविष्यमा पनि बन्छन् र बनि सकेकाहरूको मर्मत सम्भार गर्नुपर्ने हुन्छ । यस हिसाबले निश्चित सङ्ख्यामा जनशक्ति जहिले पनि चाहिन्छ । 

८. यस्तोमा सिभिल इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई तपाईँको सुझाव के रहन्छ ? 

रोजगारी पाउँछु भनेरै सिभिल इन्जिनियरिङ पढ्न चाहनु भएको हो भने अलिक सोच्नुस् भन्छु । हरेक मान्छेको आआफ्नै लगाव हुन्छ । अहिले बालबालिकाहरूलाई कुन पेसा के हो, त्यसका लागि कुन विषय पढ्नु पर्छ भन्ने कुरा सिकाइ रहनु पर्दैन, आफैँ बुझ्ने हुन्छन् । अब पढ्ने सवालमा आफ्नो लगाव र रुचिको विषय रोज्नुहोस् भन्छु म । यदि तपाईँको लगाव सिभिल इन्जिनियरिङमा छ, अथवा यो क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्छ भने यहाँको बजार खुम्चिएको छैन । अहिले पनि यो क्षेत्रमा गर्न सकिने थुप्रै सम्भावनाहरू छन् । र यो पूर्वाधार क्षेत्र हामी कहाँ मात्र नभएर संसारभर नै एकदमै व्यापक छ । केही मान्छे देशभित्रै खपत भए, केही पढ्न गए र आधा चाहिँ बेरोजगार भए भनेर जुन आँकलन हामीले गरिरहेका छौँ, त्यो पनि सही नहुन सक्छ । आफ्नै कन्सल्टेन्सी गर्ने, स्टार्टअप सुरु गर्ने ट्रेन्ड पनि छ, यो क्षेत्रमा । संसारका विकसित देशहरूमा सिभिल इन्जिनियरिङ जनशक्तिको अभाव नै छ । उनीहरू हाम्रा इन्जिनियरहरूलाई आफ्नो जब मार्केटमा लैजाने प्रस्ताव ल्याएर आइरहेका हुन्छन् । 

यो वर्षमात्रै हामी कहाँ जापानका चार ओटा ठुल्ठुला कम्पनी सहकार्य गरौँ भनेर आइसके । इमान्दार अनि प्राविधिक पृष्ठभूमि राम्रो भएका विद्यार्थीहरू छनौट गरिदिनु पर्‍यो भन्ने उनीहरूको माग छ, त्यो पनि एक दुई जना होइन कि सयौँको सङ्ख्यामा । उनीहरू आउँदो अप्रिलमा हाम्रा विद्यार्थीहरू रिक्रुट गर्न आउँदैछन् । अरू देशहरूबाट पनि त्यसैगरी आइरहेका छन् । 

९. गएको वर्ष त्यसरी विदेश जाने विद्यार्थीहरू कति थिए ? 

गत वर्षमात्रै हामी कहाँबाट १० जना विद्यार्थीहरू गएका छन् । दुई तीन वर्षदेखि त्यसरी विद्यार्थीहरू गइरहेका छन् । उनीहरू सन्तुष्ट पनि छन् । उनीहरू सधैँ त्यहीँ बस्ने पनि होइनन् । केही वर्ष काम गरेर यहीँ फर्किन्छन्, केही लगानी गर्छन् र उद्यमशीलताका कामहरू गर्छन् ।  

१०. इन्जिनियरिङ कलेजहरूले निर्धारित सिट सङ्ख्यामा विद्यार्थी भर्ना गर्न नसक्ने अवस्था पनि छ, यसपछाडि के के कारण हुन सक्छन् ? 

त्रिविका आङ्गिक क्याम्पसहरूमा यस्तो समस्या छैन । तर केही निजी कलेजहरूमा भने यस किसिमको समस्या देखिन थालेको छ । त्यो पनि अझ बढी अटो मेकानिकल, एग्रिकल्चर तिर बढी समस्या देखिएको हो । त्यसो हुनुको एउटा कारण गत वर्षको शिक्षा मन्त्रालयको आँकडा हेर्नु भयो भने 'नो अब्जेक्सन लेटर' लिएर विदेश जाने विद्यार्थीहरूको सङ्ख्या एक लाखभन्दा बढी थियो । 

त्यसमध्ये ५० प्रतिशत मात्रै स्नातक पढ्न गएका हुन् भने पनि ठुलै सङ्ख्यामा हाम्रा विद्यार्थीहरू बिदेसिएका छन् । धेरै देशहरूमा जनशक्ति अभावले गर्दा ‘अर्न एन्ड लर्न’ (पढ्दै कमाउने) भन्ने किसिमका अवसरहरू पनि दिइरहेका छन् । यसरी हाम्रो जस्तो तेस्रो विश्वका विद्यार्थीहरूलाई आकर्षित गर्न थाले । त्यस्ता स्किम हामी कहाँ छैनन् । यस्तोमा हामीले हाम्रा विद्यार्थीहरू कतिसम्म टिकाएर राख्न सक्छौँ ? 

 

११. यसरी सिभिल इन्जिनियरिङको स्कोप घट्दै गइररेको सन्दर्भमा आईओईले के गरिरहेको छ त ?

यो समस्या भनेको आईओईको मात्रै नभएर समग्रमा देशकै हो । यसमा जनशक्तिको क्षेत्रमा योजना तर्जुमा गर्ने उचित च्यानल सरकारी स्तरमा हुनु पर्छ । अर्को भनेको हामीले डेलिभर गरिरहेका कुराहरू पनि समय सापेक्ष बनाएर लैजानु पर्ने हुन्छ । सबैको आर्थिक अवस्था राम्रो नहुन सक्छ । यस्तोमा पढ्दै कमाउन सकिने ‘अर्न एन्ड लर्न’ जस्ता विदेशका आकर्षक स्किमहरूसँग कसरी सामना गर्ने भन्ने विषयमा पनि हामीले सोच्नु पर्ने होला । त्यसैगरी बाहिरको पढाइ राम्रो हुन्छ भन्ने सोचाइलाई पनि चिर्न यहाँको डेलिभरी सिस्टमलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानै पर्ने हुन्छ । त्यसो भयो भने मात्रै विद्यार्थीहरूलाई यहाँ रोक्न सक्छौँ । 

१२. नेपाली इन्जिनियरहरूको क्षमता र दक्षतालाई लिएर बारम्बार प्रश्न उठ्ने गर्छ । ‘नेपाली इन्जिनियरहरू ढलको ढक्कन समेत राम्रोसँग मिलाउन सक्दैनन्’ भन्ने तत्कालीन एक मन्त्रीको टिप्पणी निकै भाइरल नै बन्यो । हामीले तयार पार्ने जनशक्ति साँच्चिकै यति कमजोर छन् त ?

हाम्रै विद्यार्थीहरू बाहिर गएर कुन कुन तह र पदमा काम गरिरहेका छन् भनेर हेर्नु भयो भने संसारभरका राम्रा संस्थाहरूमा नेपाली इन्जिनियर नै भेट्नु हुन्छ । देशभित्रको कुरा गर्दा इन्जिनियर आफैँले गिट्‍टी बोकेर लगेर बनाउने त होइन । उनीहरूले त सुभरभिजन लगायतका केही कामहरू हेर्ने हो । कन्ट्रोल गर्ने हो । त्यसो गर्न नसक्नुमा केही गल्ती पक्कै होला । बाँकी कुरा हाम्रो निर्माणको स्तर र क्षमताले दर्साउने कुरा हो । हाम्रो खरिद प्रक्रिया हेर्नु भयो भने जसले सबैभन्दा कम लागत बोलकबोल गर्छ, उसैलाई ठेक्का दिनुपर्ने भन्ने छ । देशभरका खरिद प्रक्रिया मार्फत लगाइएका ठेक्का हेर्नु भयो भने २०/३०/४० प्रतिशत कम मूल्यमा सकारी रहेका छन् ।

अब भन्नुहोस् गुणस्तर कसरी कन्ट्रोल हुन्छ ? १०० रुपैयाँमा गर्नुपर्ने काम मैले ७० रुपैयाँमै गर्न सक्छु भनेँ भने त्यो कसरी सम्भव होला ? नाफा पनि राख्नु पर्‍यो । मोलमोलाइका कुरा अर्कोतिर होलान् । हाम्रा भौतिक पूर्वाधारको निर्माण कमजोर हुनुमा यस्ता विभिन्न कारणहरू जोडिएका छन् । इन्जिनियरहरूलाई मात्र दोष दिएर हुँदैन । अरब-कतारमा ठुला ठुला बिल्डिङ बनाउने मजदुरदेखि इन्जिनियरसम्म हाम्रै छन् । त्यहाँ राम्रो हुने अनि हाम्रोमा किन नराम्रो हुने ? जापानीहरू आएर यहाँ कुनै परियोजना निर्माण गर्ने भए भने पनि त्यसमा ९० प्रतिशत इन्जिनियर नेपाली नै हुन्छन् । मजदुर त्यसभन्दा बढी यहीँ कै हुन्छन् । यसरी गर्दा राम्रो गुणस्तर निस्किने अनि हामी आफैँले गरेको चाहिँ नराम्रो हुने किन हो भन्ने कुरा एकदमै गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । हाम्रो सिस्टममै केही खोट छ । पहिला पहिला केही समस्या पनि थियो होला, तर अहिले नेपाली इन्जिनियरहरूले सबै डिजाइनदेखि निर्माणका काम गर्न सक्छन् । 

अहिले पुलदेखि सुरुङसम्म सबै डिजाइन र निर्माण नेपाली इन्जिनियरहरू नै गर्न सक्षम छन् । नेपालमा माइनिङको पढाइ नै हुँदैन, इक्विपमेन्ट पनि छैनन् । त्यस्ता केही सीमित क्षेत्र बाहेक अन्य सबैजसो क्षेत्रमा नेपाली इन्जिनियर सक्षम छन् । पढाइको गुणस्तर कमजोर भएको अनि उत्पादित जनशक्तिले पर्फर्मेन्स दिन नसकेको भन्ने चाहिँ होइन । 

१३. नेपाली इन्जिनियरहरूको दक्षता बढाउने सवालमा यहाँहरूको कुनै योजना छ ?

हाम्रा विद्यार्थीहरू सैद्धान्तिक क्षेत्रमा एकदमै उत्कृष्ट छन् । प्रयोगात्मक क्षेत्रमा अलि कमजोर हुन् कि भन्ने कुरा केही समयदेखि उठेकै हो । त्यसलाई सम्बोधन गर्न भर्खरै हाम्रो करिकुलममा परिमार्जन गरेका छौँ । विद्यार्थीहरू अहिले दोस्रो वर्षमा पढिरहेका छन् । एउटा त हामीले तेस्रो र चौथो वर्षमा विद्यार्थीहरूले प्रोजेक्टहरू गर्नुपर्ने अनिवार्य व्यवस्था मिलाएका छौँ । उद्योग र प्राज्ञिक क्षेत्रको सहकार्य भएन, आपसमा जोड्ने पुल भएन भन्ने कुरा लामो समयदेखि उठ्दै आएको हो । हाम्रा विद्यार्थीहरू सोझै उद्योगमा गएर काम नसक्ने भएपछि तालिम दिनु पर्ने भयो भन्ने भएपछि अहिले आठौँ सेमेस्टरमा पूरै इन्टर्नशिप राखिएको छ । त्यसमा विद्यार्थीहरूले सम्बन्धित उद्योगमा गएर काम गर्नुपर्छ, यस क्रममा कलेज तथा विश्वविद्यालयले पनि सहजीकरण गर्छ । त्यसको मूल्याङ्कन र अनुगमन दुवै हुन्छ । अब त्यस किसिमको ग्यापमा कमी आउने अपेक्षा गरेका छौँ । 

१४. सिभिल अन्तर्गत अहिलेसम्म नेपालमा कुन कुन विषयको स्पेसलाइजेसन अध्ययन अध्यापन भइरहेको छ ? नयाँ विषयहरू थप गर्ने विषयमा आईओईले कुनै पहल गरिरहेको छ त ? 

सिभिल अन्तर्गत भर्खरै त्यस्तो कुनै नयाँ विषय सुरु गरी हाल्ने तयारी त छैन । तर भएकै विषयहरू, अनि ल्याबहरू परिमार्जन गर्ने भन्ने छ । ल्याबहरूलाई अनुसन्धानमा आधारित बनाउने र विद्यार्थीहरूलाई पनि उद्योगमा जुन खालको आवश्यकता हो, सोही अनुरूपका प्रोजेक्टमा लगाउने, हाम्रो ल्याब पनि त्यही अनुसार अपग्रेड गर्ने दिशामा काम गरिरहेका छौँ । 

हामी कहाँ अहिले रेल रुटहरू बनिरहेका छन् । त्यससम्बन्धी जनशक्ति पनि चाहिएला । यसका लागि कम्तीमा मास्टर्स तहमा त्यसको कोर्स सुरु गर्ने कि भन्ने सोचाई छ । यातायात क्षेत्रमा रेल इन्जिनियरिङको कुरा गर्दा मेकानिकल र सिभिल दुवैको संयोजन हुनुपर्ने रहेछ । त्यसमा गृहकार्य पनि हुँदैछ । सम्भवतः केही समयपछि आवश्यकता महसुस भएमा नयाँ कोर्स सुरु हुन सक्छ । त्यसैगरी मास्टर्स लेभलमा अन्य केही विषयहरू  थपिन सक्छन् । तर ब्याचलर्स लेभलमा नयाँ विषय थप्ने तत्कालको कुनै योजना छैन । 

१५. अन्तर्राष्ट्रिय स्तरका जर्नलहरूमा नेपाली रिसर्चरका आर्टिकल एकदमै बिरलै मात्र देख्न सकिन्छ । यसको कारण के होला ? 

पहिलेभन्दा अहिले नेपालबाट रिसर्च आर्टिकलहरू प्रकाशित हुने क्रम धेरै नै बढेको छ । अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित जर्नलहरूमा वर्षकै १५० देखि २०० सम्म रिसर्च पेपरहरू शिक्षक र विद्यार्थीबाट सहलेखनको रूपमा प्रकाशित भएका छन् । जब कि त्यो सङ्ख्या केही वर्षअघि १५/२० थियो । मास्टर्समा विद्यार्थीहरूले रिसर्च गर्नुपर्छ भनेर हामीहरूले प्रोत्साहन गरिरहेका छौँ । उनीहरूले जर्नल पेपरमा आर्टिकल प्रकाशित नगरी थेसिस डिफेन्स गर्नै पाउँदैनन् । सबैले जर्नल पेपरमा प्रकाशित नगर्न सक्छन् । त्यो भएन भने हामीले कम्तीमा ग्र्याजुएट कन्फ्रेन्स भनेर वर्षको ३ पल्ट आयोजना गर्छौँ । त्यसमा विद्यार्थीको पेपर एसेप्ट भएको हुनुपर्छ । यसरी पेपर एसेप्ट हुनका लागि त्यसको पियर रिभ्यु हुनुपर्छ । त्यसपछि मात्र विद्यार्थीले आफ्नो थेसिस डिफेन्स गर्न पाउँछ । पीएचडी गर्ने विद्यार्थीले त अन्तर्राष्ट्रिय जर्नलमा दुई ओटा पेपर पब्लिस नगरीकन थेसिस सब्मिट गर्न पाउँदैनन् । 

१६. रिसर्चलाई अगाडि बढाउन हाम्रा विश्वविद्यालय तथा कलेजहरूसँग पर्याप्त स्रोत साधन नहुन सक्छ । यस्तोमा राज्यस्तर वा सरकारबाट के कस्ता अनुसन्धानमूलक कार्यक्रम अगाडि बढाउनु पर्ला ? 

उद्योग र प्राज्ञिक क्षेत्रबिच सहकार्य आवश्यक छ भन्नुको कारण नै यही हो । उद्योगमा के आवश्यकता हो, कस्ता समस्याहरू छन्, तिनलाई यहाँबाट समाधान खोज्नु पर्ने हो । त्यसका लागि उनीहरूले आर्थिक रूपमा विद्यार्थीलाई सहयोग गर्नुपर्ने हुन्छ । अनि उनीहरूलाई जे आवश्यक परेको हो, त्यसको सोलुसन निस्किनु पर्‍यो । अरू देशमा पनि यस्तै किसिमको अभ्यास हुन्छ । अब हामी कहाँ केही केही सुधार भएको छ । सडकका विभिन्न समस्याहरूको बारेमा हामीले यहाँ अध्ययन गरिरहेका छौँ ।

यसका लागि उहाँहरूले मास्टर्स तथा पीएचडी गर्ने हाम्रा विद्यार्थीहरूलाई फन्डिङ पनि गरिरहनु भएको छ । त्यस्तै गरेर काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग मिलेर यहाँका ब्याचलर र मास्टर्स तहका विद्यार्थीलाई निश्चित समस्याहरूमा अनुसन्धान गर्न लगाउँछौँ । यसका लागि उहाँहरूले केही आर्थिक सहायता दिनु हुन्छ । यस्ता केही प्रयास भए पनि पर्याप्त भने छैन । सरकारबाट हामीलाई अनुसन्धानका लागि फन्डिङ भन्दा पनि ल्याबहरूको स्तरोन्नतिमा सहयोगको अपेक्षा छ । किन भने यहाँ भएका ल्याबहरू निकै पहिला स्थापना भएका हुन् । अनुसन्धानका लागि त्यही स्तरका ल्याबहरू चाहिन्छ । ल्याबहरूलाई कम्तीमा रिसर्च स्ट्यान्डर्डमा लैजानका लागि सरकारले केही सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा हो । केही ल्याब रिसर्च स्ट्यान्डर्डमा भए पनि सबै त्यो स्तरमा छैनन् । 

१७. अन्त्यमा केही  थप्न चाहनु हुन्छ ? 

संसारमा इन्जिनियरको सुरुवात नै सिभिल तिरबाटै भएको हो । अहिले धेरै नै विविधीकरण भइसक्यो । र अझै पनि यसको स्कोप घटेको छैन र घट्छ जस्तो पनि लाग्दैन । किन भने हाम्रा पूर्वाधारका विभिन्न क्षेत्रहरू छन् । तिनको आवश्यकता जहिले पनि रहन्छ । र तिनलाई आधुनिकीकरणसँगै मर्मत सम्भार पनि गर्नु पर्ने हुन्छ । जसलाई यो क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्छ र त्यसमा रुचि छ भने यो क्षेत्रमा एकदमै स्वागत छ । केही राम्रो गर्नुहोस् । अरनिकोले कुनै बेला चीनमा गएर बनाएका मन्दिरहरू हामी अहिले पनि सम्झन्छौँ । इन्जिनियर नभए पनि एउटा मान्छेको सीपले त्यत्रो गर्न सक्छ भने अहिलेका नयाँ इन्जिनियरले इनोभेटिभ प्रकारका संरचना बनाउनुहोस् । जसबाट देशले नै गर्व गर्ने र सम्झिन सक्ने होस् ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८१ १०:८