काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वैज्ञानिक सहकार्यका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ समक्ष प्रस्ताव राखेको छ । मङ्गलबार नास्टको टोलीले विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोध वृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस गरेको हो ।
यसका निम्ति नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाको नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल समेत गको थियो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नव प्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धत वृत्ति जस्ता कार्यक्रमहरूको सञ्चालन गर्ने विषयहरू छन् ।
यसमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका निर्वाह गर्न सक्ने अपेक्षा सहित नास्टले यस्तो प्रस्ताव अघि सारेको हो । उद्योग क्षेत्रले चाहेका विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने विकल्प पनि नास्टले दिएको छ ।
यस्तै अनुसन्धान तथा विकास इकोसिस्टम एवम् इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा सहकार्यको विषय समेत प्रस्तावमा समेटिएको छ । छलफलमा महासङ्घका अध्यक्ष ढकालले नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य रहेको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने प्रतिक्रिया दिए ।
“निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना जस्ता विषय देशको समग्र विकासका लागि आवश्यक विषय हुन् । यसमा सहकार्य गर्ने विषयमा महासङ्घ सकारात्मक नै छ । थप अध्ययन गरेर यस विषयमा ठोस काम गर्न सकिन्छ,” उनले भने ।
यस्तै (नास्ट) का उपकुलपति प्राडा सुब्बाले नास्टले प्रस्ताव गरेका विषयमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने कुरामा जोड दिए । “हामीसँग वैज्ञानिकहरूको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरू पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरू सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ,” उनले भने, “यसका लागि महासङ्घ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।”