काठमाडौं । श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाटमार्फत उजुरी दिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै पहिलो चरणमा ५०० भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जनाएको छ ।
मुलुकको उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवाको क्षेत्रमा श्रम सम्बन्धी कानूनहरु प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकहरूको लागि सुरक्षित र मर्यादित कार्य वातावरण सिर्जना गर्दै असल श्रम सम्बन्ध स्थापित गराउन विभागले यस्ताे कदम चालेकाे हाे ।
श्रम कानून कार्यान्वयन नगरेकाे पाइएमा विभागको मोबाइल नं. ९८५१३५०४५१ मा सामाजिक सञ्जाल ह्वाट्सएप, भाइबर, ट्वीटरमार्फत प्रतिष्ठानको नाम ठेगाना सहित सूचना उपलब्ध गराउन विभागले अनुराेध गरेकाे छ ।
यसअन्तर्गत नियुक्तिपत्र वा रोजगार सम्झौता नगरी काममा लगाएको, न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, श्रम ऐन अनुसार इजाजतपत्र नलिई श्रमिक आपूर्ति गर्ने र त्यस्तो आपूर्तिकर्ता मार्फत श्रमिक आपूर्ति गरी काममा लगाइएका प्रतिष्ठानहरु, नियमित रोजगारी प्रकृतिको मुख्य काममा आपूर्तिकर्ता मार्फत काममा लगाइएको, बालश्रम प्रयोग गरेको, राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेको, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदान नगरेको, श्रम इजाजत प्राप्त नगरी विदेशी नागरिकले काम गरेको पाइएमा विभागलाई सूचना दिन सकिन्छ ।