close

कुन बाटोमा ट्राफिकको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन गुगलले यसरी प्रयोग गर्छ तपाईंको फोन

टेकपाना टेकपाना

साउन ३१, २०८० १३:१७

कुन बाटोमा ट्राफिकको अवस्था कस्तो छ भन्ने पत्ता लगाउन गुगलले यसरी प्रयोग गर्छ तपाईंको फोन

काठमाडौं । हाम्रो दिनचर्या सहज बनाउन स्मार्टफोनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसमध्ये पनि कतै नौलो ठाउँमा जानुपर्‍यो भने गुगल म्याप्सले नै गाइडको काम गरिदिन्छ । अहिले परम्परागत तरिका जस्तो कुन ठाउँ कता छ भन्ने कुरा सोधिरहन नपर्ने अवस्था आइसकेको छ ।

गुगल म्याप्सका त्यसबाहेक पनि अन्य थुप्रै विशेषता छन्, जसले हाम्रो यात्रा झन् सहज बनाउन सक्छन् ।

गुगलले केही समयपहिले नेपालमा बाटोको ट्राफिक अवस्था कस्तो छ भन्ने थाहा पाउन सकिने फिचर सार्वजनिक गरेको थियो । सो फिचर प्रयोग गरी हामी कुन बाटोमा ट्राफिक अवस्था कस्तो छ पहिचान गर्न सक्छौं । त्यसैको आधारमा यात्राको योजना बनाउँदा हामीलाई त्यति सकस हुँदैन ।

त्यसो भए गुगललाई कसरी थाहा हुन्छ त बाटोको ट्राफिक अवस्था ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं:

तपाईं कहाँ हुनुहुन्छ भन्ने गुगललाई कसरी थाहा हुन्छ ? 

तपाईं कुनै ठाउँमा जानुभएको छ, तर फोनमा गुगल म्याप्स खोल्नु भएको छैन भने पनि गुगललाई तपाईं कहाँ कसरी जानुभयो भन्ने थाहा हुन्छ । विशेषगरी एप नखोले पनि म्याप्स ब्याकग्राउन्डमा चलिरहेको हुन्छ । जसले गर्दा हरेक पल गुगललाई तपाईंको लोकेसन थाहा हुन्छ ।

गुगल म्याप्सले तपाईंको लोकेसन थाहा पाउन विभिन्न तत्त्वको प्रयोग गर्छ । सबैभन्दा पहिले जीपीएस (Global Positioning System) । तपाईंले गुगल म्याप्सलाई लोकेसन वा जीपीएसको एक्सेस दिनुभएको छ भने गुगलले हरेक पटक तपाईंको लोकेसन ट्रयाक गरिरहेको हुन्छ । जीपीएसले नै गुगललाई तपाईंको वास्तविक लोकेसनको डेटा पठाइरहेको हुन्छ ।

त्यस्तै वाई-फाईको सहायताले पनि गुगलले तपाईंको लोकेसन थाहा पाउँछ । विशेषगरी तपाईंको डिभाइस कुन वाई-फाई नेटवर्कसँग कनेक्ट छ र उक्त वाई-फाई नेटवर्क कुन ठाउँमा छ भन्ने गुगललाई थाहा हुन्छ । यसैको सहायताले पनि गुगलले तपाईंको लोकेसन ट्रयाक गरिरहेको हुन्छ ।

त्यसैगरी तपाईंको सिमको नेटवर्कले पनि गुगललाई तपाईंको लोकेसन उपलब्ध गराउन मद्दत गरेको हुन्छ । तपाईंको मोबाइलमा कुन लोकेसनको टावर कनेक्ट छ भन्ने डेटा गुगलले पायो भने त्यसैलाई तपाईंको सटीक डेटा थाहा पाउन प्रयोग गरिन्छ ।

तपाईंले आफ्नो डिभाइस इन्टरनेटमा कनेक्ट गर्नुभएको छ भने तपाईंको डिभाइसको आफ्नै आईपी एड्रेस तयार हुन्छ । गुगलले त्यही आईपी एड्रेसको सहयातले तपाईंको लोकेसन अनुमान लगाउँछ । 

गुगलले यी विभिन्न डेटालाई विश्लेषण गर्छ र तपाईं कुन ठाउँमा हुनुहुन्छ भन्ने कुराको जानकारी दिन्छ । 

तपाईंले गुगलमा कुनै राम्रो होटेल सर्च गर्नुभयो भने गुगलले हाम्रै वरिपरिका होटेलहरू सुझाव दिन्छ । त्यस्तै अन्य सेवा वा प्रडक्ट खोज्दा पनि यो लागू हुन्छ । यही सेवाबाट पनि गुगलले आम्दानी गर्छ । 

तपाईंले स्मार्टफोन प्रयोग गर्न थालेपछि कुन मितिमा आफू कहाँ कहाँ जानुभएको थियो भन्ने कुरा गुगल म्याप्सको टाइमलाइनबाट हेर्न सकिन्छ । त्यसमा तपाईंले हरेक दिनको डेटा हेर्न सक्नुहुन्छ । यसरी गुगल म्याप्समा प्रयोग भएको विशेष प्रविधिले तपाईंलाई हरेक समय ट्रयाक गर्छ । जसले गर्दा गुगललाई कुन बाटोमा ट्राफिक अवस्था कस्तो छ पहिचान गर्न सहज हुन्छ ।

गुगलले ट्राफिक अवस्था थाहा पाउन माथि उल्लेख गरिएका जानकारी कसरी प्रयोग गर्छ ?

माथि उल्लेख गरिएका जानकारी र ट्राफिक जामको सम्बन्ध के छ ? तपाईंको फोन कहाँ छ भन्ने थाहा पाएकै भरमा गुगलले कसरी ट्राफिक जामको अवस्था अड्कल लगाउँछ ? त्यसबारे तल चर्चा गरिएको छ । 

गुगल म्याप्सबाट प्रयोगकर्ता पहिचान

अधिकांश प्रयोगकर्ताको स्मार्टफोनमा गुगल म्याप्स एप हुन्छ । त्यस्तै म्याप्सका फिचर प्रयोग गर्न प्रयोगकर्ताले लोकेसन पनि अन गरेका हुन्छन् । यसबाट को प्रयोगकर्ता कहाँ कहाँ छन् भन्ने डेटा गुगलसँग हुन्छ । त्यसैको आधारमा गुगल म्याप्सले बाटोमा ट्राफिक अवस्था अनुमान लगाउँछ ।

तपाईंले कुनै पनि दुई ठाउँको डिरेक्सन हेर्नुभयो भने बाटोलाई निलो, पहेँलो र रातो रङ्गले सङ्केत गरिएको हुन्छ । जसमा निलोले बाटोमा त्यति ट्राफिक नभएको सङ्केत दिन्छ, पहेँलोले रङ्गले ट्राफिक केही बढी भएको सङ्केत दिन्छ भने रातोले ट्राफिक जाम भएको सङ्केत दिन्छ । 

प्रयोगकर्ताको डिभाइसबाट प्राप्त डेटालाई आधार मान्ने भएकाले सबै अवस्थामा यो सटीक नहुन पनि सक्छ । किनभने सबैले फोनमा म्याप्स नराखेका हुन सक्छन् । त्यस्तै म्याप्स भए पनि उनीहरूको डिभाइस इन्टरनेटमा नजोडिएको हुन सक्छ । गुगलको यही प्रविधिको दुरुपयोग गरी भर्चुअल जाम गराउने गरेका घटना पनि सतहमा आएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १३:१७