close

जुम, स्ल्याक वा माइक्रोसफ्ट टिम्सको विकल्पमा नेपाली युवा सहितको टिमले ल्यायो ‘एनिडन’

टेकपाना टेकपाना

भदौ १२, २०८० २२:११

जुम, स्ल्याक वा माइक्रोसफ्ट टिम्सको विकल्पमा नेपाली युवा सहितको टिमले ल्यायो ‘एनिडन’

काठमाडौं । जुम, स्ल्याक र माइक्रोसफ्ट टिमको फिचर समावेश भएको सफ्टवेयर एनिडन (anydone) सार्वजनिक भएको छ । मुख्य कार्यालय अमेरिकाको न्यूयोर्क राज्यमा रहेको यस प्लेटफर्ममा दुई नेपालीहरू दीपक मल्ल र अशोक कुमार पन्त सह-संस्थापकका रूपमा जोडिएका छन् ।

नेपालमा भने यस कम्पनीको कार्यालय काठमाडौं शङ्खमूलमा रहेको छ । विश्वभरका ठूला  वा साना कम्पनीलाई लक्षित गर्दै ल्याइएको यो प्लटेफर्म हालै मात्र औपचारिक रूपमा सुरु भएको हाे । 

के हो एनिडन, अनि कसले प्रयोग गर्ने ?

एनिडन क्लाउडमा आधारित प्लेटफर्म हो, जसले कुनै कम्पनीलाई टिम सहकार्य गराउन, टास्क व्यवस्थापन गर्न र कामलाई स्वचालित बनाउन सघाउँछ ।

नेपाली कम्पनीहरूलाई सहयोग गर्न एनिडनले नेपालमा पनि कार्यालय स्थापना गरेको छ । विशेषगरी एनिडन प्लेटफर्म कसरी प्रयोग गर्ने भन्ने कुराको तालिम चाहिएमा नेपालको टिमले सहयोग गर्ने कम्पनीकी मार्केटिङ मेनेजर लक्ष्मी थापाले बताइन् ।

“केही सपोर्ट आवश्यक पर्‍यो भने साइटभित्रै ब्लगहरू राखिएको छ,” उनले भनिन्, “त्यसबाट पनि सपोर्ट पाउन सकिन्छ । तर, तालिम दिनुपर्ने भयो भने हामी अनलाइनबाट वा पायक पर्ने स्थानमा पुगेरै तालिम दिन्छौं ।”

त्यस्तै यहाँ क्लिक गरेर पनि सहयोग लिन सकिन्छ ।

कुनै पनि कामका लागि तपाईंको कार्यप्रवाहलाई सरल बनाउन र उत्पादन बढाउँदै यो प्लेटफर्मले सबै आवश्यक कुराहरू एक ठाउँमा ल्याउँछ । यसमा रहेका सब्जेक्ट, को-कनेक्ट, मिट असिस्ट, को-भास, रिफाइनमेन्ट, एआई बट्स, स्क्रिन रेकर्डिङ, अटो असाइन तथा एक्स्टर्नल टिम्स जस्ता फिचरले प्रयोगकर्ताको टास्क सहज र स्वचालित बनाउने कम्पनीले जनाएको छ । 

टिम कोलाबोरेसन

यस प्लेटफर्ममा प्रयोगकर्ताले आफ्ना विभिन्न परियोजनाका लागि छट्टाछुट्टै को-स्पेस (समूह) बनाउन सक्छन् । र, त्यही प्रोजेक्टका लागि उपयुक्त कर्मचारीलाई टास्क असाइन गर्न सकिन्छ । प्रोजेक्ट लिइएको संस्था र प्रोजेक्ट पाउने कम्पनीका कर्मचारीहरूबीच प्रत्यक्ष छलफल हुन्छ ।

यसमा विशेषगरी फाइल शेयर गरेर, भिडिओ तथा अडियो कल गरेर वा च्याट गरेर आफ्ना कुराहरू राख्न सकिन्छ । त्यसबाहेक पनि फरक-फरक क्षेत्र र फरक-फरक टाइमजोनमा भएका व्यक्तिहरू डाइरेक्ट मेसेज, को- स्पेस, को-कनेक्टबाट जोडिएर सहज रूपमा काम गर्न सक्छन् । 

टास्क मेनेजमेन्ट

एनिडनले टास्क मेनेजमेन्ट सिस्टम पनि उपलब्ध गराएको छ । यसका माध्यमबाट टिमका सदस्यको काम ट्रयाक गर्न, उनीहरूका लागि डेडलाइन सेट गर्न र विभिन्न परियोजनामा सहकार्य गराउन सकिन्छ ।

यसको सहायताले कम्पनी आवद्ध भएको प्रोजेक्टलाई सहज रूपमा सम्पन्न गर्न सघाउने कम्पनीले जनाएको छ ।

अटोमेसन

एनिडनमा केही स्वचालित एआई फिचरहरू पनि समावेश गरेको छ । यसको सहायताले प्रयोगकर्ताले आफ्ना विभिन्न काम स्वचालित रूपमा अगाडि बढाउन सक्नेछन् । त्यसबाहेक पनि यो जेनेरेटिभ एआई टुलले टेक्स्टलाई आवश्यकता अनुसार आकर्षक बनाएर व्यावसायिक बनाउन मद्दत गर्छ ।

यही प्लेटफर्मभित्रबाट प्रयोगकर्ताले भाषा ट्रान्सलेट गर्नसमेत सक्छन् । त्यस्तै स्वतः मेसेज रिप्लाई गर्न, लामो मेसेजको सारांश पाउन, आफ्नो काममा केन्द्रित हुने यो फिचरले सघाउने कम्पनीको विश्वास छ । 

पर्सनल एआई असिस्टेन्ट जिपी

यसो त एनिडनका अधिकांश फिचरहरू एआईद्वारा सञ्चालित छन् । विभिन्न काम र काम गर्ने तरिकालाई व्यवहारिक र वैज्ञानिक बनाउन यसमा थुप्रै एआई फिचरहरू समावेश गरिएको छ । एआईमध्ये पनि पर्सनल एआई असिस्टेन्ट यो सफ्टवेयरको आकर्षक फिचर हो ।

पर्सनल एआई असिस्टेन्टको सहायताले तपाईं क्षणभरमै ईमेल लेख्न, विभिन्न कुराको जानकारी लिन, डेटा पाउन, कोड लेख्न, विभिन्न शीर्षकमा अनुसन्धान गर्न र क्रियटिभ कन्टेन्ट लेख्न सक्नुहुन्छ । 

कसका लागि उपयोगी छ एनिडन ?

विशेषगरी वर्क फ्रम होम व्यवस्था भएका जुनसुकै संस्थाका लागि पनि एनिडन उपयोगी हुने कम्पनीले जनाएको छ ।

विशेषगरी सफ्टवेयर तथा आईटी कम्पनी, टेलिकम्युनिकेसन कम्पनी, मेनुफ्याक्चरिङ कम्पनी र वित्तीय संस्थाका लागि यो प्लेटफर्म उपयोगी हुन सक्छ । 

कसरी प्रयोग गर्ने ? शुल्क कति लाग्छ ? 

नेपाली प्रयोगकर्ताले एनिडनका सम्पूर्ण फिचर निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

यदि वेबसाइट मार्फत प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् । यदि एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ र आईओएस प्रयोगकर्ता हुनुहुन्छ भने यहाँ क्लिक गरी एप इन्स्टल गर्नुहाेस् ।

एप तथा वेबसाइटमार्फत एनिडन प्रयोग गर्दा सबैभन्दा पहिले माथि भनिएको तरिका अपनाएर आफ्नो डिभाइसमा एप वा वेबसाइट खोल्नुहोस् ।

त्यसपछि माथि दायाँपट्टि रहेको ‘ट्राई फर फ्रि’ (Try for free) को बटनमा ट्याप गर्नुहोस् । अनि आफ्नो पूरा नाम, ईमेल, देश र पासवर्ड राखी टर्म्स एन्ड कन्डिसनमा क्लिक गरी रजिस्टर गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० २२:२