close

मोबाइलको नोटमा लेखेका कुरा हराउँछन् कि भन्ने डर छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

भदौ १९, २०८० १३:५७

मोबाइलको नोटमा लेखेका कुरा हराउँछन् कि भन्ने डर छ ? यसो गर्नुहोस्

काठमाडौं । एन्ड्रोइड फाेनमा केही कुरा लेख्न ‘नोट’ एप बढी प्रयोग गरिन्छ । यो एप फोनको ब्रान्ड फरक फरक नामले उपलब्ध हुन्छ । हामीमध्ये अधिकांश प्रयोगकर्ता फोनमा भएको डिफल्ट ‘नोट’ एप नै प्रयोग गर्छौं । त्यसैमा आफूले चाहेका कुराहरू राख्छौं ।

तर, कहिलेकाहीँ फोन फ्याक्ट्री रिसेट गर्नुपर्‍यो भने नोटमा राखेका त्यतिका कुराहरू कता सार्ने भन्ने चुनौती हुन्छ । त्यस्तै कहीगरी फोन हरायो भने पनि फोनसँगै नोटमा लेकेका महत्त्वपूर्ण टेक्स्ट पनि हराउँछन् । प्रायः डिभाइसमा नोट अनलाइन अकाउन्टमा सिङ्क गर्ने सुविधा हुन्छ । तर यस्तोमा सोही ब्रान्डको अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

उदाहरणका लागि हामीसँग सामसङ फोन छ भने छुट्टै सामसङ अकाउन्ट बनाएको हुनुपर्छ । त्यस्तोमा सो सामसङ अकाउन्ट प्रयोग गरी रेड्मी वा अन्य ब्रान्डका फोनबाट डेटा पाउन सकिँदैन । त्यसबाहेक पनि हामीलाई ब्रान्ड पिच्छेका ईमेल अकाउन्ट थाहा नहुन सक्छ ।

त्यसैले हाम्रो फोन हरायो वा फ्याक्ट्री रिसेट गर्नुपर्‍यो भने त्यससँगै नोटमा लेखिएका महत्त्वपूर्ण टेक्स्ट हराउँछन् । यसरी नोटमा लेखिएका टेक्स्ट नहराओस् भन्ने चाहनुहुन्छ भने तपाईंका लागि गुगलको किप नोट्स निकै उपयोगी हुन्छ । यो टुलमा आफ्नो जिमेल अकाउन्ट प्रयोग गर्नुपर्ने हुन्छ ।

यसले गर्दा यो टुल सोही गुगल अकाउन्ट प्रयोग गरी अन्य फोन, कम्प्युटर वा अन्य डिभाइस प्रयोग गर्न सकिन्छ । त्यसबाहेक पनि अन्य नोट्सको फिचरभन्दा नोट्सका फिचर स्तरीय छन् ।

यदि तपाईंको डिभाइसमा ‘गुगल किप’ एप छैन र अहिलेसम्म प्रयोग गर्नुभएको छैन भने यो लेख तपाईंका लागि उपयुक्त हुनसक्छ । आज हामी 'गुगल किप'लाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ । तर त्यसभन्दा पहिले एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।

गुगल किपबाट यसरी तयार पार्नुहोस् स्मार्ट शपिङ लिस्ट

हामीले सामान्य तरिकाले मोबाइलको नोट्समा शपिङ लिस्ट बनायौं भने केही समस्या आउन सक्छ । ​विशेषगरी कुन सामान खरिद गरियो वा कुन सामान खरिद गर्न बाँकी छ भन्ने कुरा छुट्याउन सकस पर्छ । गुगल किपलाई गुगल असिस्टेन्ट लिङ्क गरेर पनि व्यवस्थापन गर्न सकिन्छ ।

यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले 'किप नाेटस्' एपमा लिस्टको आइकन क्लिक गरी लिस्ट तयार पार्नुहोस् ।

-  त्यसपछि 'Hey Google ! Open assistant setting' भनेर गुगल असिस्टेन्टको सेटिङ मेनु खोल्नुहोस् ।

-  स्क्रोल गर्दै तल गएर 'Notes and List' को अप्सन छान्नुहोस् ।

-  र, 'किप नाेटस्'​ को छेउमा रहेको बक्समा ट्याप गर्नुहोस् ।

-  उदाहरणका लागि 'Hey Google! Add mobile phone to my shopping list' भन्नुभयो भने तपाईंको लिस्टमा गुगलले तपाईंले भनेको सामग्री (फाेन) थपिदिन्छ ।

नोट्समा भएका कुरा गुगल डक्समा ल्याउन यसो गर्नुहोस्:

फुर्सद हुँदा हामी हाम्रा कुरा फोनमा लेख्न रुचाउँछौं । यदि तपाईंले 'किप नाेटस्' एपमा केही कुरा लेख्नुभएको छ वा फोटो राख्नुभएको छ भने सोझै गुगल डक्समा ल्याउन सक्नुहुन्छ ।

'किप नाेटस्' मा लेखेका कुरा गुगल डक्समा ल्याउन तलको प्रक्रिया अपनाउनुहोस्:

(याद गर्नुहोस् त्यसका लागि तपाईंले डेस्कटप वा ल्यापटप प्रयोग गरेको हुनुपर्छ । अनि मात्र मोबाइलको 'किप नोट्स' मा लेखिएका कुरा गुगल डक्समा ल्याउन सकिन्छ ।)

-  सबैभन्दा पहिले ब्राउजरमा 'गुगल डक्स' खोल्नुहोस् । (यदि तपाईंले साइनअप गर्नुभएको छैन गुगल अकाउन्ट प्रयोग गरेर साइनअप गर्नुहोस्)

-  त्यसपछि दायाँपट्टि तपाईंको प्रोफाइलभन्दा तल 'किप नोट्स'को लोगो देखिन्छ ।

-  त्यहाँ क्लिक गर्नुभयो भने मोबाइलको 'किप नोट्स'मा लेखिएका कुरा सोझै गुगल डक्समा कपी गर्न सक्नुहुन्छ ।

 

गुगल किप नाेट्समा रिमाइन्डर टाइम कसरी परिवर्तन गर्ने ?

तपाईंले गुगल 'किप नाेट्स' मा रिमाइन्डर तयार पार्न सक्नुहुन्छ । विशेषगरी कुनै मिति वा समयमा आफूले केही काम गर्नु छ भने त्यस्तो अवस्थामा 'किप नाेट्स'​ को रिमाइन्डर फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

'किप नाेट्स'​ मा रिमाइन्डर फिचर प्रयोग गर्न तलका प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले 'किप नाेट्स' एप खोल्नुहोस् ।

-  त्यसपछि माथि बायाँपट्टि भएको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

-  अनि सेटिङ अप्सन छान्नुहोस् ।

-  रिमाइन्डर डिफल्टको अप्सनमा बिहान, दिउँसो र साँझका लागि डिफल्ट टाइम दिएको हुन्छ । त्यसमा आफूलाई उपयुक्त हुने टाइम छान्नुहोस् ।

गुगलको किप नोट्समा यसरी लेबल तयार पारेर एड गर्नुहोस्

किप नोट्समा आफ्ना विभिन्न लेखलाई व्यवस्थापन गरेर राख्न लेबल तयार पार्न सकिन्छ । उदाहरणका लागि तपाईंले गुगल किप्समा विभिन्न कथाहरू लेख्नुभयो । अब नोट्समा कथाबाहेक अन्य विधाका लेख पनि हुन सक्छन् । यस्तोमा कुनै फाइलमा लेबल प्रयोग गरेर कथा लेख्नुभयो भने उक्त फाइल 'कथा लेबल'मा भेटिन्छ ।

लेबल एक किमिमको फोल्डर पनि हो । तपाईंले विशेष फाइललाई विशेष फोल्डरमा राख्नुपर्‍यो भने लेबलको प्रयोग गर्न सक्नुहुन्छ । 'किप नाेट्स'​ मा लेबल तयार गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले 'किप नोट्स' एप खोल्नुहोस् ।

-  त्यसपछि सबैभन्दा माथि बायाँपट्टि रहेको तीन ओटा लाइनमा ट्याप गर्नुहोस् ।

-  अनि त्यहाँ 'क्रियट लेबल'को अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि लेबलको नाम राख्नुहोस् । (उदाहरणका लागि कथा, कविता, फाइल, फोटो आदि)

-  यसरी लेबल तयार पार्न सकिन्छ ।

अब कुनै कथालाई 'कथा' लेबलमा राख्नुपर्‍याे भने तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले माथिको तरिका अपनाएर 'कथा' नाम दिएर लेबल तयार पार्नुहोस् ।

-  त्यसपछि किप नोट्समा रहेको कुनै कथाको फाइललाई छान्नुहोस् ।

-  फाइल खोलिसकेपछि तलपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-  अनि लेबलको अप्सन छानेर आफूले राख्न चाहेको लेबल छान्नुहोस् ।

-  त्यसपछि माथि रहेको सर्च बारमा ट्याप गर्नुहोस् ।

-  यति गरेपछि लेबलका विभिन्न अप्सनहरू देखिन्छन् । जहाँबाट लेबल छानेर उक्त लेबलका फाइलहरू हेर्न सक्नुहुन्छ ।

फोटोमा रहेको टेक्स्ट सजिलै कपी गर्नुहोस्

गुगलको किप नोट्सका माध्यमबाट फोटोमा भएका टेक्स्ट सजिलै उतार्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले 'किप नोट्स' एप खोल्नुहोस् ।

-  त्यसपछि तलपट्टि रहेको फोटोको आइकनमा ट्याप गर्नुहोस् ।

-  अनि टेक्स्ट भएको कुनै फोटो छान्नुहोस् ।

-  फोटो नोट्समा आइसकेपछि उक्त फोटोलाई ट्याप गर्नुहोस् ।

-  यति गरेपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-  र, 'ग्र्याब द टेक्स्ट' मा क्लिक गर्नुहोस् । यति गर्नुभयो भने तत्कालै उक्त फोटोमा भएको टेक्स्ट नोटमा कपी हुन्छ । (तर याद गर्नुहोस् यसका लागि तपाईं इन्टरनेटमा जोडिएको हुनुपर्छ ।)

 


 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १३:५७