close

राजिव शर्माको ईभी अनुभव- ‘बिजुली गाडीमा हुने रेञ्ज एन्जाइटी थानकोटको उकालोमा थाहा पाएँ’

राजिव शर्मा

भदौ २३, २०८० ११:४७

राजिव शर्माको ईभी अनुभव- ‘बिजुली गाडीमा हुने रेञ्ज एन्जाइटी थानकोटको उकालोमा थाहा पाएँ’

पोखराबाट काठमाडौं फर्कँदा फुल चार्ज गरेर हिँडेको थिएँ । बाटोका केही ठाउँहरूमा चार्जिङ स्टेसन राखिए पनि कतै पनि चार्ज गरिनँ । नौबिसे आएपछि भने रेञ्जका कारण मनमा हल्का चिसो पस्यो । उकालो चढ्न लाग्दा ७५ किलोमिटर बाँकी थियो । बच्चाहरू लिएर हिँडिएको छ, घर पुगिने हो वा होइन ? नपुगे के गर्ने होला भनेर मलाई डर लागिरहेको थियो ।

डराई डराई धेरै एक्सिलेरेसन नथिची विस्तारै गाडी कुदाएँ । त्यसबेला मैले वास्तविक रेञ्ज एन्जाइटीको महसुस गरेँ । थानकोट आइपुग्दा ५० किलोमिटर जति देखायो । तब मात्र म अलि ढुक्क भएँ । बाटो अलि ओरालो पनि थियो । त्यही भएर ५० किलोमिटरभन्दा रेञ्ज तल झरेन । बरु एक दुई किलोमिटर बढ्यो ।

घर पुग्दा ५० किलोमिटर अझै बाँकी देखाइरहेको थियो । रेञ्ज एन्जाइटीबारे कुराकानी निकै गरिन्थ्यो, तर मैले त्यसै समय ‍मात्र महसुस गरेँ । 

त्यसबेला पोखरा गएर म फर्किरहेको थिएँ । बिजुली गाडीबाट सबैभन्दा टाढा गएको भनेको पोखरा नै हो । त्यति लामो दूरीमा निस्कँदा कस्तो हुन्छ होला भनेर चिन्तित थिएँ । तर जाँदा निकै सहज र आराम भयो । कतिपय ठाउँका सडक ओरालो भएकाले ‘रेञ्ज गेन’ भयो । त्यसरी ‘रेञ्ज गेन’ हुँदा रमाइलो लाग्यो । त्यहीकारण १८१ किलोमिटर बाँकी हुँदा पोखरा पुगेको थिएँ ।

फुल चार्ज गरेर काठमाडौंबाट निस्केको मलाई कतै चार्ज गर्न परेन । पानी पर्ने मौसम भए पनि बाटो भने बिग्रेको थिएन । 

पहिले म डिजेलबाट चल्ने गाडी चलाउने गर्थेँ । गाडी परिवर्तन गर्ने सोच बनाएपछि हुन्डाईको क्रेटा मोडल लिने योजना बुनेको थिएँ । बिजुली गाडीबारे त केही पनि सोचेको थिइनँ । त्यहीँ समयतिर चिनियाँ ब्रान्ड एमजीका बिजुली गाडीहरू पनि नेपालमा आइरहेको थिए । त्यसको विशेषता हेरेँ ।

एमजीको गाडीमा आकर्षित हुनुको कारण पानोरामिङ सन रुफ हो । यही शुल्क सेराेफेराेमा अन्य गाडी पनि हेरेँ, यसमा धेरै विशेषता पाएँ । अनि बिजुली गाडी लिने भए एमजी नै लिने सोचेँ ।

तर मैले टाटाको नेक्सन पनि हेर्न गएको थिएँ । त्यो राम्रो गाडी हो । यद्यपि एमजीको जेड एस बिजुली गाडी लिएँ । पोखरा, म यही गाडीबाट नै गएको थिएँ । 

गाडीमा बुट स्पेस पनि ठूलै छ । पोखरा जाँदा १० र चार वर्षका बच्चाहरू र श्रीमती पनि सँगै थिए । बच्चाहरूसँग यात्रामा निस्कनु परे श्रीमतीले धेरै सामान लाने गर्छिन् । त्यो यात्रामा पनि सामान निकै थिए । तर बुट स्पेस ठूलो भएकाले सामान लैजाने कुरामा सम्झौता गर्नु परेन ।

तर पोखरा बिजुली गाडीमैत्री सहर भइसकेको छैन । एकपटक चार्ज गर्ने ठाउँ नपाएर एमजीको शाेरुममा गएको थिएँ । त्यहाँ पनि चार्जर बिग्रेको रहेछ ।

लेकसाइडमा भएको एउटा होटलमा सात किलोवाटको चार्जर पाइयो । त्यहीँ पाँच घण्टा चार्ज गरेर पाँच सय रुपैयाँ तिरेँ । महँगो भए पनि चार्ज गर्न पाइयो । पोखरामा हुँदा गाडीलाई फुल चार्ज गरेर स्याङ्जा, कुस्मासम्म पुगिसकेको छु ।

पोखरापछि सबैभन्दा टाढा गएको ठाउँ भने तातोपानी क्षेत्र हो । त्यहाँ जाँदा पनि रमाइलो अनुभव भयो । ग्राउन्ड क्लियरेन्स कम भएकाले भुइँ ठोक्किएला भन्ने डर थियो । तर त्यस्तो समस्या आएन । बाटो नराम्रो भए पनि चनाखो भएर कुदाउँदा केही भएन । एक/दुई ठाउँमा भने हल्का छोएको थियो ।

काठमाडौंबाट बिजुली गाडीलाई बाहिर लाँदा ग्राउन्ड क्लियरेन्स र रेञ्जको समस्या छ । मेरो पहिलेको गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स थियो । यो गाडीमा पनि त्यति नै हुनुपर्छ जस्तो लाग्छ । यसकारण बाटोमा गाडी कुदाइरहँदा अलि चनाखो भने हुनुपर्छ । 

अर्को भनेको कतै यात्रामा निस्कनु परे चार्जिङबारे पहिल्यै योजना बनाउनु हो । कहिलेकाहीँ आफू बसेको ठाउँमा अर्थिङ राम्रो नहुने, भोल्टेज नपुग्ने वा बिजुली नै जाने समस्याले गाडी चार्ज गर्न गाह्रो हुने रहेछ । यसकारण बिजुली गाडीबाट कतै जानु परे अगाडि नै योजना भने बनाउनुपर्ने रहेछ । ‘अब जान्छु भनेर गइहाल्न’ अलि नसकिने रहेछ ।


आफ्नो बिजुली गाडीमा राजिव शर्मा

 

एउटा मात्र ठाउँमा जाँदा त्यति डर मान्नुपर्ने अवस्था छैन । हुन त एक वर्ष अगाडिको तुलनामा अहिले पोखरा, चितवन, हेटौंडा, बुटवल, नेपालगञ्ज, विराटनगर जान सहज भएको छ ।

त्यस्तै एमजी गाडी मालिकहरूको ह्वाट्सएपमा ग्रुप छ । त्यसमा पनि धेरै सूचना आइरहन्छन् । नयाँ ठाउँ वा टाढाका ठाउँहरू जाने बेला त्यस ग्रुपमा प्रश्न राख्दा अरुहरूले जवाफ र राय दिन्छन् । 

बिजुली गाडीका मालिकहरूमा हुने साझा समस्या रेञ्ज एन्जाइटी हो । ममा यो अझै पनि छ । तर पहिलेको तुलनामा धेरै कम । एक पटक काठमाडौंबाट पाँचखाल जाँदा गाडी चार्ज गरिनँ । ६० प्रतिशत बाँकी नै भएकाले किन गर्ने भनेर सिधै गएँ । तर बाटोतिर यतिले पुगिन्छ र भन्ने भएको थियो । तर ओरालो बाटोले गर्दा ‘रेञ्ज गेन’ ‍भयो । धुलिखेलबाट काठमाडौं आउँदा त खासै ब्याट्री घटेन । यसकारण जति विश्वास भए पनि रेञ्ज एन्जाइटी पूरा हराउँछ जस्तो मलाई लाग्दैन । 

मेरो ‘ड्राइभिङ स्ट्रेस’ नै घटेको छ । परिवारमा बिजुली गाडी किन्नेमा म मात्र छु । प्रविधिमा विश्वास गर्ने हामी जस्तो मान्छेले बिजुली गाडीलाई अगाडि बढाउनु पर्छ भन्ने मेरो सोचाइ छ । 

अहिले हाइब्रिड मोडलका गाडीहरूको कुरा पनि आएका छन् । तर मुख्यत: जिवाष्म इन्धन र विद्युतबाट चल्ने गाडीहरू छन् । हाइब्रिड मोडलले गाडीको क्षेत्रमा तत्कालै केही ठूलो परिवर्तन पार्छ जस्तो लाग्दैन । पाँच/छ वर्षसम्म बिजुली गाडीले नै कब्जा गर्छ जस्तो लाग्छ । त्यसपछि अटोमोबाइलको क्षेत्रमा केही ठूलो विकास भए मात्र परिवर्तन होला । 

मेरो अनुभवमा बिजुली गाडी किन्ने सोच बनाइरहेको व्यक्तिहरू टेस्ट ड्राइभमा जानुपर्छ । अरुले भनेर भन्दा पनि आफैं शाेरुममा गएर बुझ्दा राम्रो हुन्छ । अझ दुई-तीन ओटा गाडीहरूलाई तुलना गरेर आफ्नो पेशा अनुसारको गाडी लिँदा राम्रो हुन्छ । सायद त्यो निर्णयले पछि समस्या दिँदैन ।

एक पटक बिजुली ट्याक्सीमा चढेर म एयरपोर्ट जाँदै थिएँ । चालकलाई मेरो पनि बिजुली गाडी नै छ भनेर सुनाएँ । बिजुली ट्याक्सीमा सरेपछि पेट्रोलको पैसा बचिरहेको उनले बताए । मैले पनि त्यसो के भनेको थिएँ, तपाईंहरू जस्तो गाडी मालिकले पेट्रोलको पैसा बच्यो भन्नु अलि सुहाउँदैन भनेर उनले जवाफ फर्काए । त्यस घटनापछि बिजुली गाडीले पेट्रोलको पैसा जोगायो भनेर मैले भन्न छाडेको छु । 

मेरो लागि पेट्रोल पम्पमा गएर ४५ मिनेट वा एक घण्टा लाइन नबस्नु नै ठूलो कुरो हो । पैसाको कुरा गर्दा बिजुली गाडी लिनुअघि डिजेलको पैसा प्रति लिटर ९०/९५ रुपैयाँ थियो । त्यसो हुँदा खासै खर्च भने हुँदैन थियो । 

गाडीबाट अहिलेसम्म म १० हजार किलोमिटर गुडिसकेको छु । यसबीचमा म दुई पटक सर्भिसिङमा गएँ । एमजीको ‘आफ्टर सेल्स सर्भिस’ (गाडी किनेपछिको सेवा) मा समस्या छैन । सर्भिसिङमा जानुअघि भने फोन कल गरेर मिति लिनुपर्ने हुन्छ । विशेष गरेर गाडी सफा गर्ने र जाँच्ने काम सर्भिसिङमा हुन्छ । दुई पटकको सर्भिसिङमा मेरो कत्ति पनि खर्च नै भएको छैन । तर गाडीमा स्पेयर टायर छैन । एक पटक घरबाट निस्केको थिएँ ।

सेन्सरले अगाडिको एउटा टायर पङ्चर हुन लागेको देखाइहाल्यो । म एक्लै भएकाले सधैं गइरहने अनामनगरमा भएको वर्कशपमा गएँ । त्याे बन्द रहेछ । त्यसपछि बुद्धनगरमा गएर मर्मत गरेँ । सेन्सरले पङ्चर हुनु अगाडि नै थाहा पाएकाले दुई देखि तीन किलोमिटरको दूरी पार गरेर बनाउने ठाउँसम्म पुगेँ । बिजुली गाडी भएपनि पङ्चर भएको टायर भने सामान्य अटो वर्कशपमा गएर मर्मत गर्न सकिन्छ । तर आधुनिक प्रविधि भएको वर्कशपमा जाँदा राम्रो हुन्छ । 

गाडीसँगको तीता अनुभवहरूमा रेञ्ज एन्जाइटी, स्पेयर टायर नहुनु, ग्राउन्ड क्लियरेन्स कम हुनु हो । त्यस्तै गाडीको ग्लास पनि छिट्टै तातिन्छ । अनि बढी एसी चाहिन्छ ।  पानोरमिक सन–रुफ वा अन्य प्राविधिक कुराहरूले त्यस्तो भएको हुन सक्छ । घाम लागेको ठाउँमा कार पार्क गरेर पछि फर्केर आउँदा बस्न अलि गाह्रै हुन्छ । यो सुधार गरेको भए केही राम्रो हुने थियो ।

तर पानोरमिक सन–रुफले पनि एक प्रकारको खुसी दिएको छ । मौसम सफा भएको बेला बच्चाहरू र श्रीमतीले त्यसलाई खोलेर आनन्द लिन्छन् । तर यत्रो फिचर दिएको गाडीमा ३६० डिग्री भ्यु क्यामेरा दिएर दुई लाख रुपैयाँ बढी लिएको भए भइहाल्थ्यो भन्ने लाग्छ । गाडीबाट रातिको यात्रा गर्दा अनुभव राम्रो पाउन सकिन्छ । तर राजमार्गमा भने प्रकाश पुग्दैन । यसकारण अलि होसियार हुनुपर्छ । सहरमा कुदाउँदा भने फरक पर्दैन । 

(शर्मा जब्स डाइनामिक्सका प्रबन्ध निर्देशक हुन् ।)

पछिल्लो अध्यावधिक: भदौ २३, २०८० १२:४७