close

च्याटजीपीटीलाई टक्कर दिन जेमिनी एआई ल्याउँदै गुगल

टेकपाना टेकपाना

भदौ ३०, २०८० १४:३७

च्याटजीपीटीलाई टक्कर दिन जेमिनी एआई ल्याउँदै गुगल

काठमाडौं । गुगलले केही कम्पनीहरूलाई आफूले बनाएको जेमिनी (Gemini) एआईको प्रारम्भिक भर्सनमा पहुँच दिएको छ । ओपनएआईको जीपीटी फोरसँग प्रतिस्पर्धा गर्न बनाएको यस एआई प्लेटफर्ममा गुगलले पहुँच दिएको इन्फर्मेशनले बताएको हो ।

च्याटजीपीटी जस्तै कुराकानी गर्न सक्ने भनिएको यस एआईलाई सफल बनाउन गुगलले निकै ठूलो धनराशी खर्चेको बताइन्छ । गत वर्ष सार्वजनिक भएको ओपनएआईको च्याटजीपीटीको सफलता देखेर त्यस्तै जेनेरेटिभ एआई बनाउन गुगल लागिपरेको छ । यस अर्थमा पनि जेमिनी गुगलका लागि महत्त्वपूर्ण भएको बताइन्छ ।

जेमिनी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो । यसले च्याटजीपीटी जस्तै सारासं लेख्ने, कविता, गीत लेख्ने, ईमेलको ड्राफ्ट बनाउने लगायतका काम गर्न सक्ने रिपोर्टमा उल्लेख छ । त्यस्तै सफ्टवेयर इन्जिनियरलाई कोड लेख्न सघाउने र तस्वीरहरू जेनेरेट गर्ने पनि बताइएको छ । 

गुगलले हाल डेभलपरहरूलाई परीक्षणका लागि जेमिनीको पछिल्लो संस्करणमा पहुँच दिएको, तर त्यसभन्दा पनि शक्तिशाली संस्करण विकास गरिरहेको जनाइएको छ ।

त्यस्तै निर्माण सम्पन्न भएपछि जेमिनीलाई गुगलले आफ्नो क्लाउड भेर्टेक्स एआईमार्फत ग्राहकहरूलाई सशुल्क उपलब्ध गराउने अनुमान गरिएको छ । यद्यपि यसबारे गुगलले केही प्रतिक्रिया दिएको छैन । 

गत महिना गुगलले भारत र जापानमा जेनेरेटिभ एआई सहितको आफ्नो सर्च इन्जिन सार्वजनिक गरेको थियो । प्रोम्टका आधारमा अक्षर तथा भिजुअल रिजल्ट देखाउन सक्ने उक्त टुल प्रयोग गर्न मासिक ३० डलर तिर्नु पर्ने हुन्छ ।

पछिल्लो समयमा एआईमा थुप्रै कम्पनीहरूले लगानी गरिरहेको सन्दर्भमा गुगलको यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० १४:३७