close

पहिलो पटक सफल भयो नेपालमै उत्पादित हाइड्रोजनबाट खाना पकाउने परीक्षण

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ ३१, २०८० १९:२८

पहिलो पटक सफल भयो नेपालमै उत्पादित हाइड्रोजनबाट खाना पकाउने परीक्षण

काठमाडौं । पहिलो पटक नेपालमै उत्पादन गरिएको हाइड्रोजन इन्धनबाट खाना पकाइएको छ । ग्रिन हाइड्रोजन ल्याब, काठमाडौं विश्वविद्यालयको प्रयोगशालामा स्विजरल्यान्डबाट ल्याइएको चुलो प्रयोग गरी आइतवार खाना पकाएर इन्धन र  चुलोको सफल परीक्षण गरिएको हो । 

नेपाल इनर्जी फाउण्डेसन, लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्विट्जरल्याण्ड र इनोभेटिभ यूके प्रोग्राम अन्तर्गतको इनर्जी क्याटलिस्ट प्रोजेक्टको आर्थिक सहायतामा पहिलो पटक यस्तो परीक्षण गरिएको थियो । 

“उपभोक्ता स्तरबाट ऊर्जाका रूपमा ग्रिन हाइड्रोजनलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने हाम्रो प्रयास हो,” टेकपानासँग कुरा गर्दै नेपाल इनर्जी फाउण्डेसनका प्रबन्ध निर्देशक दिलीप घिमिरेले भने, “त्यसका लागि हामीले एक डेढ वर्षदेखि निरन्तर प्रयास गर्दै आएका थियौं । आज पहिलो चरणको सफलता प्राप्त भएको छ ।”

अब उपभोक्ताको स्तरबाट आर्थिक पक्षलाई आधार बनाएर परीक्षण गर्न बाँकी रहेको र छ महिनादेखि एक वर्षको अवधिमा उक्त परीक्षण पनि सकिने घिमिरेले बताए ।

आर्थिक रूपमा हाइड्रोजन इन्धन कत्तिको सुलभ हुन्छ भन्ने विषय परीक्षण गर्न बाँकी रहे पनि सैद्धान्तिक रूपमा सस्तो पर्ने देखिएको उनले सुनाए । उनले अगाडि भने, “अहिले प्रविधि सहजै प्रयोग गर्न सकिने रहेछ भन्ने प्रमाणित भयो ।”

अहिले काठमाडौं विश्वविद्यालय प्रयोगशालामा उत्पादन गरिएको हाइड्रोजन इन्धन प्रयोग गरिएको भए पनि यो भन्दा पछिको परीक्षण बागलुङको बडिगाड गाउँपालिकामा रहेको खोलाबाट निकालिएको विद्युत्‌बाट तयार पारिएको हाइड्रोजन इन्धनमा परीक्षण गरिने उनले सुनाए ।    

विशेषगरी नेपालको भान्सा संस्कारसँग सुहाउने चुलो निर्माणका लागि लुसर्न स्कुल अफ इन्जिनियरिङ एण्ड आर्किटेक्चर स्विट्जरल्याण्डसँग सहकार्य भएको थियो ।

घिमिरेले भने, “खाना पकाउने हाम्रो आफ्नै भान्सा संस्कार छ । हाम्रो भान्सामा पाक्ने विभिन्न परिकार छन् । ती परिकार पकाउन मिल्ने भाँडा छन् । हामीलाई ती भाडामा पकाउन सकिने चुलो चाहिएको थियो । अहिले सफल भएको चुलो प्रविधि हो ।”

आजको परीक्षणबाट ग्रिन हाइड्रोजनलाई खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको उनको बुझाइ छ । 

हाइड्रोजन इन्धनबाट बनाएको खाना स्वादिलो हुनुका साथै खाना बनाउन छिटो भएको काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख बिराजसिंह थापाले बताए ।

“हामीले आफ्नै अवधारणामा प्रमाणीकरण गरेको चुलोबाट ग्रिन हाइड्रोजन प्रयोग गरी खाना पकाएर सफल परीक्षण गरेका छौं,” थापाले भने, “अबको चरण भनेको आर्थिक रूपमा एलपीजीभन्दा यसलाई कसरी सस्तो बनाउने भन्ने हो ।”

चुलोको अवधारणा बनाउँदा केही खर्च लागे पनि बजारसम्म पुग्दा सो चुलोको मूल्य एक हजार रुपैयाँसम्म पर्न सक्ने अनुमान छ । “तर, त्यसभन्दा पहिला हाइड्रोजन लक्षित राज्यको उपयुक्त नीति आउने हो भने नेपालमा एलपीजीको क्रमिक विस्थापनमा राज्यले नीति लिनुपर्‍यो,” थापाले सुनाए । 

नेपालमा एलपीजीको ४० प्रतिशत बढी बजार रहेको अवस्थामा हाइड्रोजन इन्धनले तत्कालै प्रतिस्पर्धा गर्न नसक्ने थापाको बुझाई छ । तर,राज्यले ठुलो मात्रामा एलपीजी खपत गर्ने उद्योगलाई उपयुक्त हुने नीति बनाएर हाइड्रोजनमा सर्ने स्थिति निर्माण गर्न सके ठूलो सङ्ख्यामा राज्यको ढुकुटी बच्ने थापाको विश्लेषण छ ।

उनले अगाडि भने, “प्राविधिक रूपमा के भन्न सक्छौं भने हामीसँग नभएको एलपीजी ग्यासलाई हामीसँग भएको विद्युत्‌ले हाइड्रोजन मार्फत विस्तारै विस्थापन गर्न सकिने कोसेढुङ्गा स्थापित भएको छ । र, व्यवसायलाई राज्यको नीतिले सञ्चालन गर्ने भएकाले व्यावसायिक रूपमा कसरी जाने, त्यसको व्यवसाय कसरी गर्ने भन्ने विषय राज्यको नीति, आत्मबल र क्षमतामा भर पर्छ ।”

“अहिले खाना पाक्छ कि पाक्दैन, सुरक्षित हुन्छ कि हुँदैन भन्ने थियो । हामीले यहाँसम्म आर्थिक पक्षलाई छोएका छैनौं । अबको चरणमा आर्थिक पक्षलाई आधार बनाएर अनुसन्धान गर्छौं,” उनले थपे, “आर्थिक रूपमा घरघरमा उपयुक्त हुन्छ वा ठूलो मात्रामा एलपीजी खपत गर्ने उद्योगमा यो प्रविधि उपयुक्त हुन्छ, त्यो पछिको पाटो हो ।”

देशको १५ देखि २० प्रतिशत बजेट जीवाश्म इन्धनको रूपमा बाहिरिरहेको अवस्थामा यता जलविद्युत् बनाउने वा नबनाउने, बनायो भने खपत कसरी गर्ने भन्ने अवस्था रहेको थापाले सुनाए ।

“त्यसैले यो बीचमा हामीसँग भएको बिजुलीले हामीसँग नभएको पेट्रोलियम उत्पादनलाई विस्थापन गर्‍यौं भने प्रत्येक रूपैयाँलाई राज्यको आर्जनका रूपमा लिन सक्छौं,” थापाले भने, “त्यस कारण अब हामीले देशवासी, व्यापारी र राज्यको नीति निर्माताले हामीले किन्नै पर्ने स्रोतलाई विस्थापित गर्दै हामीसँगै भएको ऊर्जा खपत गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।”

हाइड्रोजनलाई यातायात क्षेत्रमा इन्धनको रूपमा, उद्योगमा कोइलाको विकल्पमा प्रयोग गर्न सकिन्छ । साथै घरघरमा खाना पकाउने ऊर्जाका रूपमा प्रयोग गर्न, एमोनिया बनाएर कृषिमा प्रयोग गर्न सकिने अवस्था सिर्जना गर्न सकिए व्यापार घाटा घट्ने थापाको विश्वास छ । 

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० १९:३२