close

तर, आईफोनमा लाइटनिङ पोर्ट नै राम्रो थियो !

टेकपाना टेकपाना

असोज १, २०८० १०:४

तर, आईफोनमा लाइटनिङ पोर्ट नै राम्रो थियो !

काठमाडौं । गत हप्ता एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक भयो । एप्पलले आईफोनमा ११ वर्षपछि चार्जिङ पोर्टमा ल्याएको परिवर्तन विश्वभर चर्चाको विषय बन्यो । यससँगै कम्पनीले अब उपरान्त कुनै पनि नयाँ डिभाइसमा लाइटनिङ पोर्ट नल्याउने गरी बन्द गरिदिएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लाइटनिङ पोर्ट मान्छेको रोजाइमा पर्नु र नपर्नुका थुप्रै कारणहरू छन् । व्यक्तिको आवश्यकता र स्वभाव अनुसार लाइटनिङ पोर्ट कतिपयको रोजाइमा पर्‍यो भने कतिपयले आईफोनको कमजोरीका रूपमा हेरे । 

विश्वका अधिकांश चर्चित डिभाइसमा टाइप-सी पोर्ट छ । एप्पलले पनि यसअघि आफ्नो आईप्याड, म्याकजस्ता डिभाइसमा टाइप-सी पोर्ट समावेश गरिसकेको थियो । जसलाई कम्पनीले अहिले पनि निरन्तरता दिइरहेको छ । यसो त अन्य कम्पनीले आफूले उत्पादन गर्ने विभिन्न डिभाइसमा माइक्रो यूएसबी मिनी ए, यूएसबी माइक्रो बी, यूएसबी माइक्रो सी जस्ता पोर्ट राखे ।

तर, एप्पलले आफ्ना डिभाइसका लागि सुरुवातबाटै भिन्नै चार्जिङ पोर्ट उपलब्ध गराउँदै आयो । आईफोन प्रयोगकर्तालाई लाइटनिङ पोर्ट अन्यभन्दा सहज नै थियो । किनभने उनीहरूले आफ्नो डिभाइसलाई उल्टोसुल्टो जसरी पनि चार्ज गर्न सक्थे ।

टाइप-सीको उदय हुनुअघि यस्तो विशेषता लाइटनिङ पोर्ट बाहेक अन्य चार्जरमा थिएन (यो सन्दर्भमा नोकियाको पप-पोर्ट अरूभन्दा विशेष थियो )। विशेषगरी एप्पलले आईफोन फाइभभन्दा अगाडिका डिभाइसमा उपलब्ध गराउँदै आएको ३० पिनको पोर्टमा पनि उल्टोसुल्टो दुवैपट्टिबाट चार्ज गर्न सकिने सुविधा थिएन । 

३० पिन पोर्टको तुलनामा लाइटनिङ पोर्टले ओगट्ने स्पेस ८० प्रतिशतले कम थियो । सन् २०१२ मा आईफोन फाइभ सार्वजनिक भएसँगै कम्पनीले ३० पिन पोर्ट विस्थापित गर्दै लाइटनिङ पोर्टको सुरुवात गरेको थियो । त्यसपछि एप्पलले उपलब्ध गराउने प्रायः डिभाइसमा लाइटनिङ पोर्ट हुन थाल्यो । 

लाइटनिङ पोर्टको सुरुवात भएसँगै प्रयोगकर्तालाई ३० पिन पोर्टका लागि चाहिने जस्तो भद्दा केबल वा एडाप्टर बोकिरहनै परेन । सानो चिटिक्कको चार्जर पकेटमै राखेर यात्रा गर्न सकिने अवस्था आयो । ३० पिन चार्जर हुँदा पकेटमा बोक्नै नसकिने भन्ने पनि होइन, तर त्यति भद्दा चार्जर पकेटमा राख्दा भारी हुनुका साथै पिन बिग्रिने जोखिम उत्तिकै थियो । 

लाइटनिङ पोर्टको सुरुवातसँगै एप्पल इकोसिस्टममा रमाउने प्रयोगकर्तालाई धेरै सहज भयो । किनभने उनीहरूले एयरपड, एप्पलवाच लगायतका डिभाइसका लागि फरक-फरक चार्जर बोकिरहन परेन । उनीहरूले म्यागसेफ डुओकै सहायताले आईफाेन, एयरपड र एप्पलवाच चार्ज गर्न सक्ने भए । म्यागसेफ भनेको यस्तो वायरलेस चार्जर हो, जसको सहायताले एप्पलको आईफोन, एयरपड वा एप्पल वाच सँगै चार्ज गर्न सकिन्छ ।  

टिकाउका हिसाबले पनि लाइटनिङ केबल निकै टिकाउ भएको प्रयोगकर्ताको अनुभव छ । द भर्जका पत्रकार जय पिटर्स लेख्छन्, “लाइटनिङ केबल हुँदा मलाई कहिल्यै चार्ज हुँदाहुँदै चार्जर बीचमै बिग्रिन्छ भन्ने लागेन ।” 

त्यसबाहेक पनि म्यागसेफ डुओका कारण फोन चार्जरमा राख्नसाथ त्यसलाई राम्रोसँग मिलाउन बाध्यता नभएको उनले उल्लेख गरेका छन् । 

लाइटनिङ पोर्टसँगै आफूले आफ्ना अधिकांश एप्पल डिभाइसका लागि भरपर्दो चार्जिङ सिस्टम निर्माण गरेको उनले ब्लगमा लेखेका छन् । विशेषगरी एप्पलले ल्याएको एमएफआई प्रोग्रामपछि एप्पलको एक्सेसरिज बनाउने कम्पनीले एमएफआई सर्टिफिकेसन लिनुपर्ने भयो । एमएफआई सटिफिसकेन पाएका केबल वा एडाप्टर यस्ता एक्सेसरिज हुन्, जसले एप्पलले उपलब्ध गराउने सबै फिचर सपोर्ट गर्छन् । 

त्यसपछि एप्पलको लाइटनिङ केबल उपलब्ध गराउने कम्पनीले एमएआई सर्टिफिकेसन लिन थाले । आईफोन १५ का लागि आवश्यक पर्ने टाइप-सी पोर्टका सन्दर्भमा एमएफआई सर्टिफिकेसन लागू हुन्छ वा हुँदैन भन्ने अझैसम्म निश्चित छैन । 

लाइटनिङ विस्थापित हुनु भनेको लाइटनिङ पोर्ट वा कनेक्टर हराउनु मात्र होइन । यो त एउटा उत्कृष्ट मानिने चार्जिङ सिस्टम नै विस्थापित हुनु हो । 

पिटर्स लेख्छन्, “लाइटनिङ पोर्टलाई नराम्रो मान्नेहरू कहाँबाट आउँछन् भन्ने म बुझ्छु । विशेषगरी अहिले अधिकांश डिभाइसमा टाइप-सी चार्जिङ पोर्ट हुन्छ । अरू डिभाइसमा सो चार्जिङ पोर्ट हुनु, तर आईफोनमा नहुनुले केही मान्छेलाई लाइटनिङ पोर्ट मन नपरेको हुन सक्छ ।

यसो त यूएसबी-सी अहिले उपलब्ध अधिकांश डिभाइसमा समावेश छ । आफ्ना सबै डिभाइसका लागि एउटा एडाप्टर र टाइप-सी केबलमै निर्भर हुन सकिन्छ । विश्वव्यापी रूपमा एउटै चार्जिङ प्रणाली बनाउने नीति अन्तर्गत पनि यो आवश्यक पनि थियो ।

तर, अब आईफोन १५ लाइनअपका लागि कम्पनीले टाइप-सीमा आधारित म्यागसेफ ल्याउँछ वा ल्याउँदैन भन्ने प्रश्न यथावत् छ । यदि एप्पलले यूएसबी-सीमा आधारित म्यागसेफ ल्यायो भने टाइप-सीले पनि आईफोनमा उत्तिकै लोकप्रियता पाउनेछ । 

तर पनि टाइप-सी रोजाइमा पर्नेहरूका लागि आईफोन १५ लाइनअप उत्कृष्ट विकल्प हो । लाइटनिङ पोर्टले गर्ने प्रायः सबै काम यूएसबी-सीले गर्न सक्छ । जसरी ३० पिन चार्जिङ पोर्टबाट लाइटनिङ पोर्टमा सर्दा प्रयोगकर्तालाई सकस परेको थियो यूएसबी-सीका सन्दर्भमा त्यस्तो अवस्था छैन ।

किनभने म्याक, आईप्याड वा अन्य डिभाइसका लागि खरिद गरेको टाइप-सी एडाप्टर नै प्रयोगकर्ताका लागि उपयुक्त हुन्छ । २०१२ मा एप्पलका लागि लाइटनिङ पोर्ट ल्याउने एप्पलका कार्यकारी फिल स्चिलरले त्यतिबेला एक दशकका लागि लाइटनिङ पोर्ट आधुनिक कनेक्टर हो भन्ने दाबी गरेका थिए ।

नभन्दै त्यसको एक दशक बितेपछि संसारमा टाइप-सीको प्रचलन बढ्यो । युरोपेली संघले पनि विश्वभर एउटै स्ट्यान्डर्ड चार्जिङ सिस्टम विकास गर्न टाइप-सी अनिवार्य गर्नुपर्ने नीति ल्यायो । यससँगै एप्पलको युनिक चार्जिङ सिस्टम 'लाइटनिङ' विस्थापित भयो ।

पछिल्लो अध्यावधिक: असोज १, २०८० १०:४९