काठमाडौं । एलन मस्कको ब्रेन-चिप स्टार्टअप न्युरालिङ्कले पहिलो चरणमा प्यारालाइसिस भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने अनुमति पाएको छ । कम्पनीले मङ्गलवार इन्डिपेन्डेन्ट रिभ्यु बोर्डबाट पहिलो पटक प्यारालाइसिस (पक्षघात) भएका बिरामीमा चिप प्रत्यारोपण गर्ने अनुमति पाएको रोयटर्सले उल्लेख गरेकाे छ ।
खबर अनुसार मेरुदण्डमा चोट लागेर वा एमियोट्रोफिक लेटरल स्क्लेरोसिसका कारण प्यारालाइसिस भएका बिरामी यो परीक्षणका लागि छनाेट हुनेछन् । यद्यपि कम्पनीले पहिलो चरणमा कति जनामा चिप प्रत्यारोपण गर्ने भन्ने खुलाइसकेको छैन । कम्पनीका अनुसार पहिलो चरण सम्पन्न हुन छ वर्षको समय लाग्नेछ ।
शल्यक्रिया गरेर ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) प्रत्यारोपण गर्न रोबोटको प्रयोग गरिनेछ । न्युरालिङ्कका अनुसार यो चिप मस्तिष्कको त्यस्तो भागमा प्रत्यारोपण हुनेछ, जहाँबाट शरीरको सम्पूर्ण चाल नियन्त्रण भएको हुन्छ । मानिसको विचारको सहायताले किबोर्ड वा कम्प्युटर कर्सरलाई नियन्त्रण गर्न सघाउने कम्पनीकाे पहिलो लक्ष्य छ ।
यसअघि न्युरालिङ्कले १० जना बिरामीमा चिप प्रत्यारोपण गर्न अनुमति पाउने अपेक्ष गरेको थियो । तर पछि अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट कम व्यक्तिमा मात्र प्रत्यारोपण गर्ने अनुमति पाएको थियो । रोयटर्सलाई न्युरालिङ्कका पूर्वकर्मचारीले भने अनुसार एफडीएले सुरक्षा चुनौतीका कारण प्रत्यारोपण गर्ने व्यक्तिको सङ्ख्या घटाएको थियो ।
ड्रिप्रेसन, अटिजम, मोटोपना, सिजोफ्रेनिया जस्ता अवस्थाबाट ग्रसित व्यक्तिमा चिप प्रत्यारोपण गरी छिटोभन्दा छिटो निको बनाउने एलन मस्कको लक्ष्य रहेको छ । गत मे महिनामा न्युरालिङ्कले एफडीएबाट फर्स्ट-इन-ह्युमन क्लिनिकल ट्रायलका लागि एफडीएबाट स्वीकृति पाएको बताएको थियो । त्यसबखत कम्पनीले मानिसमा चिप प्रत्यारोपण गरिरहेको थियो ।
रोयटर्सले विज्ञको भनाइ उद्धृत गर्दै ब्रेन-कम्प्युटर इन्टरफेस डिभाइस मानिसमा प्रयोग गर्न सुरक्षित भए पनि न्युरालिङ्कलाई व्यावसायिक प्रयोजनका लागि प्रत्यारोपण सुरु गर्न एक दशक लाग्ने उल्लेख गरेको छ ।