काठमाडौं । सन् २०१४ मा ध्रुव राठीले आफ्नो युट्युब च्यानल सुरु गरे । आजको मितिसम्म आइपुग्दा आफ्नो च्यानलमा ५०० भिडिओ अपलोड गरेका उनले एक करोड ३० लाख सब्सक्राइबर बटुलिसकेका छन् ।
युट्युबर ध्रुव राठी यतिखेर टाइम म्यागेजिनको 'नेक्स्ट जेनेरेसन लिडर्स २०२३' मा सूचीकृत भएका छन् । राठी 'फ्याक्ट चेकिङ'र शैक्षिक सामग्री प्रस्तुत गर्ने कार्यका लागि चिनिने राठीले आफ्नो च्यानलमा विभिन्न विषय वस्तुमाथि भिडिओ बनाउँदै आएका छन् ।
२८ वर्षीय यी कन्टेन्ट क्रियटरले सामाजिक सञ्जाल एक्समा यो विषयलाई लिएर शुक्रवार खुसी साटेका छन् । "'टाइम म्यागेजिनको नेक्स्ट जेनेरेसन लिडर्स २०२३ । यो प्रतिष्ठित सूचीमा समावेश हुन पाउँदा अत्यन्तै सम्मानित महसुस गरिरहेको छु र भारतलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन पाउँदा गौरवान्वित समेत भएको छु । धन्यवाद," उनले भनेका छन् ।
TIME Magazine’s Next Generation Leaders 2023
I’m honored to be included in this prestigious list and proud to represent India internationally.
ध्रुवले सुरुवाती समयमा ट्राभल भ्लगको रूपमा आफ्नो युट्युब च्यानल सुरु गरेका थिए । यद्यपि भारतीयहरू इन्टरनेट कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रशिक्षित नभएको र अनलाइनमा देखेका जुनसुकै कुरामा आँखा चिम्लेर विश्वास गर्ने गरेको महसुस भएपछि भने उनले फ्याक्ट चेकिङ अर्थात् सत्य तथा यथार्थ परीक्षण र सम्बन्धित भिडिओ बनाउन थालेको कुरा टाइम म्यागेजिनले उनलाई उद्धृत गर्दै लेखेको छ ।
"जटिल विषयवस्तुलाई साधारण शब्दमा टुक्राउने र सम्भव भएसम्म सजिलो गरी विषयवस्तु प्रस्तुत गर्ने मेरो उद्देश्य हो," उनले भनेका छन् । यी युट्यबुरले जब एक विवादास्पद फिल्म द केरला स्टोरीमा भिडिओ बनाएपछि उनी सञ्चार माध्यमका हेडलाइनहरूमा समेत छाएका थिए ।
राठीले भने अनुसार उनले फिल्ममा गरिएको दाबीको विरोध गर्न सरकारी आँकडाहरू प्रयोग गरेका थिए । तर उनलाई अनलाइनमा निकै ट्रोलको सिकार बनाइयो र उक्त भिडिओका लागि उनकी श्रीमतीलाई बलात्कारको धम्की सहितका प्रतिक्रियाको समेत सामना गर्नु पर्यो ।
"एउटा अर्को दृष्टान्त, तोडमोड गरिएको भारत प्रशासित कस्मिरको नक्सा समावेश गरेको दाबी गर्दै उनको भिडिओ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयबाट गत सेप्टेम्बरमा प्रतिबन्धित भएको थियो," म्यागेजिनले उल्लेख गरेको छ । भारतको हरियाणामा जन्मिएका राठीले जर्मनीमा मेकानिकल इन्जिनियरिङ पढेका छन् ।
आफ्नो युट्युब च्यानलको सफलतालाई लिएर उनी भन्छन्, "यति सामान्य चिजले पनि यत्तिका धेरै ध्यान खिच्न सक्छ भन्ने कुराले म अचम्मित छु... सायद कसैले पनि त्यो काम गर्ने कोसिसका लागि साहस नै गरेन कि ।"