close

एलन मस्कको रिप्लाईले दङ्ग नेपाली किशोर, फोनबाट खिचेका फोटो बीबीसी-स्काई न्युजमा फिचर

हिक्मत आचार्य हिक्मत आचार्य

असोज २२, २०८० २०:२४

एलन मस्कको रिप्लाईले दङ्ग नेपाली किशोर, फोनबाट खिचेका फोटो बीबीसी-स्काई न्युजमा फिचर

 

काठमाडौं । राजबिराज घर भएका अमर्त्य मिश्र सानैमा बुबासँग काठमाडौं आएका थिए । उनलाई बुबा अतुलकुमार मिश्रले पढाइको शिलशिलामा काठमाडौं ल्याएका थिए । 

कान्तिपुरमा स्वास्थ्य तथा विज्ञान विषयमा पत्रकारिता गरिरहेका उनका बुबाको प्रभाव अमर्त्यमा पनि थोरबहुत परेकै थियो । उनी सानो छँदा डिस्कभरी च्यानल हेर्न खुबै रुचाउँथे ।

“मलाई टीभीमा कार्टुनभन्दा पनि डिस्कभरी च्यानल हेर्न रमाइलो लाग्थ्यो,” बाल्यकाल सम्झिंदै अमर्त्य भन्छन्, “डिस्कभरी च्यानल हेर्दा मनमा हरेक चिजहरू कसरी अस्तित्वमा आएका होलान् भन्ने जिज्ञासा जाग्थ्यो ।”

उनी पढ्दा पनि विज्ञान पुस्तकमा हुने अन्तरिक्ष तथा खगोल विज्ञानमा बढी रुचि राख्थे । उनको बाल्यकाल पनि सामान्य तवरमा बितिरहेको थियो । उनी सम्भव भएसम्म अन्तरिक्ष सम्बन्धी अनेकन् जानकारी खोजी बस्थे ।

“पूर्ण चन्द्रमा भएको रात आकाशमा हेर्दा आफै प्रेरित भइने रहेछ । चन्द्रमा सबैभन्दा पहिले पूर्ण हुन्छ । त्यसबाट परावर्तित भएको प्रकाशले केही हदसम्म धर्ती पनि उज्यालो बनाएको हुन्छ,” उनी भन्छन्, “तर, विस्तारै चन्द्रमा पनि सर्दै जान्छ अनि बादलले ढाक्दै जान्छ । हाम्रो जिन्दगी पनि त्यस्तै हुन्छ जस्तो लाग्छ । हामी कहिल्यै पूर्ण हुँदैनौं । पूर्ण भएपछि पनि बादल जस्तै अनेकौं चुनौती आएर हाम्रो अस्तित्व मेटाउन खोज्छन् । तर, सबै बेवास्ता गर्दै गएपछि बादल हट्दै गएपछि फर्किएर पुनः पहिलेकै अवस्थामा पुगिन्छ ।”

हरेक विषयवस्तुको उद्‌गम विन्दु कुनै न कुनै रूपमा अन्तरिक्षसँग जोडिने भएकाले उनलाई त्यतातर्फ थप रुचि जाग्दै गयो । उनी पढाइसँगै अन्तरिक्ष सम्बन्धी विविध जानकारी हासिल गर्दै गइरहेका छन् । कोभिड-१९ सुरु भए लगत्तै अमर्त्यको हातमा स्मार्टफोन परेको थियो । 

उनले त्यतिबेला ट्वीटरका रूपमा परिचित माइक्रो ब्लगिङ प्लेटफर्ममा स्पेसगाइ २४ युजरनेम राखेर नयाँ अकाउन्ट बनाए । त्यही प्लेटफर्ममा उनी आफूले जानेका कुराहरू राख्न थाले । 

अन्तरिक्ष र त्यससँगै जोडिएका सत्यतथ्य कुराहरू खोजेर उनी ट्वीटरमा पोस्ट गर्थे । ट्वीटरमा त्यस्ता सामग्री राख्दा अरू मानिसहरूलाई अन्तरिक्षबारे थप बुझ्न सघाउने उनको विश्वास थियो । 

पछि सन् २०२० तिर अमर्त्यले ट्वीटरमा टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कलाई मेन्सन गर्दै प्रश्न सोधे, “एलन मस्क, भविष्यमा टेस्लाको मेगाफ्याक्ट्री एसियामा चीन बाहिर अन्यत्र कतै विस्तार गर्नु हुनेछ ?”  

उक्त ट्वीटको जवाफमा एलन मस्कले लेखेका थिए, “अँ, तर पहिले हामीले गिगा बर्लिन र त्यसपछि उत्तर अमेरिकाको आधा भागमा सेवा दिन यूएस (संयुक्त राज्य) गिगा सम्पन्न गर्नुपर्नेछ ।”

एलन मस्कले ट्वीटरमा रिप्लाई दिएपछि उक्त विषय विभिन्न सञ्चारमाध्यमले समाचारका रूपमा प्रकाशित गरे । “मैले आफ्नो सामान्य जिज्ञासा राखेको ट्वीटमा मस्कले रिप्लाई दिंदा त्यो विश्वभर समाचारको विषय बन्यो,” उनी भन्छन्, “ठूला मान्छेको सङ्गत गर्न यो उपयुक्त प्लेटफर्म हो भन्ने लाग्यो अनि यसैमा निरन्तरता दिन थालें ।”

पहिले अन्तरिक्ष सम्बन्धी सामान्य जानकारी राख्दै आएका उनी विस्तारै आफूले खिचेका आकाशका फोटो राख्न थाले । अन्तरिक्षमा रुचि भएकैले उनले सन् २०२० तिर नेपाल एस्ट्रोनोमिकल सोसाइटी - नासोबाट टेलिस्कोप मागेर ल्याएका थिए । 

उनी त्यही टेलिस्कोपको सहायताले रातको समयमा आकाशका विभिन्न ग्रह तथा खगोलीय वस्तुहरूको अवलोकन गर्थे । विस्तारै उनले टेलिस्कोपमा देखिएको दृश्यलाई फोनमा कैद गर्न थाले र ती फोटो ट्वीटरमा राख्न थाले । 

 

फोनबाटै कसरी खिच्छन् चन्द्रमाका उच्चस्तरीय फोटो ?

त्यसो त अमर्त्य फोनको क्यामेरा चन्द्रमातर्फ तेर्साएर पनि फोटो खिच्छन् । उनी आफूले कुन आकारको चन्द्रमाको फोटो कस्तो अवस्थामा खिचेका छन्, त्यसमा नियाल्दै हराउँछन् । 

चन्द्रमाको नजिकैको फोटो स्मार्टफोनबाट खिच्न उनी टेलिस्कोपको सहायता लिन्छन् । आफूसँग भएको सेलेस्ट्रोन एस्ट्रोमास्टर ९० ईक्यू रिफ्र्याक्टर टेलिस्कोप एउटा ठाउँमा राख्छन् र त्यसलाई चन्द्रमातर्फ सोझ्याउँछन् । 

त्यसपछि चन्द्रमाको दृश्य प्रस्ट देखिने भएपछि स्ट्यान्डमा मोबाइल राख्छन् र मोबाइलको क्यामेरा खोलेर टेलिस्कोमा देखिएको चन्द्रमाको दृश्य कैद गर्छन् । उनले लामो समयसम्म नासोले उपलब्ध गराएको टेलिस्कोप प्रयोग गरे । 

तर, पछि आफैले रकम सङ्कलन गरेर करिब ४५ हजारमा अमेजनबाट टेलिस्कोप मगाए । फोटोलाई वास्तविक र स्तरीय बनाउन उनी फोनमा भएको प्रो मोड प्रयोग गर्छन् । 

बाहिरको प्रकाश अनुसार प्रो मोडमा भएको आईएसओ र स्पिड मिलाउन सकियो भने फोटो स्तरीय खिच्न सकिने उनको भनाई छ । “यो सामान्य फोटो खिचेजस्तै हो, त्यति धेरै केही गर्नु पर्दैन,” उनी भन्छन्, “समान्य फोनमा भएको प्रो फिचर प्रयोग गर्न जानियो भने राम्रो हुन्छ ।”

 

एक्सबाटै चिनिन थाले अमर्त्य !

अमर्त्य एक्समा आफ्नो जस्तै रुचि भएका मानिसहरूसँग जोडिंदै जान थाले । उनीहरूले फलो गरुन् वा नगरुन्, उनी आफूलाई रुचि लागेका सबै ह्यान्डल फलो गर्छन् । 

आफूले जाने बुझेसम्म रिप्लाई गरिरहन्छन् । यो विषयमा उनले राम्रो सम्पर्क बनाउँदै गएका छन् । उनले एक्समा स्पेस गाइ २४ (Space Guy 24) नामबाट नयाँ परिचय बनाएका छन् । 

त्यही क्षेत्रमा रुचि भएका र एस्ट्रो फोटोग्राफी गर्नेहरू उनीसँग जोडिएका छन् । उनले कहीं कतै पनि आफ्नो नाम र ठेगाना खुलाएका छैनन् । तर, पनि उनले खिचेका चन्द्रमाको फोटो तथा भिडिओले अमर्त्यलाई राम्रै परिचय दिएको छ । 

उनले खिचेका चन्द्रमाका फोटो विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकताका साथ छापिएका छन् । विशेषगरी बीबीसी न्युज,  स्काई न्युज जस्ता सञ्चार माध्यमले उनले खिचेका चन्द्रमाको फोटो तथा भिडिओमाथि फिचर गरेका छन् । 

“ट्वीटरले विभिन्न व्यक्तिमाझ परिचित बनाउन र मिडियामा ल्याउन निकै सघाउने रहेछ,” उनी भन्छन्, “मैंले टिकटक वा फेसबुकमा त्यही फोटो राखेको भए कुनै पनि सञ्चार माध्यमले मलाई मेरो फोटो प्रयोग गर्छौं, कुरा गरौं भनेर बोलाउँदैनथे होलान् ।”

भलै ट्वीटरबाट ठूलो अडियन्समाझ पुग्न नसकिएला । तर पेसागत मानिसहरू माझ सहजै पुगिने उनको विश्वास छ ।

“ट्वीटरबाटै मेरा कैयौं साथी बनेका छन् । उनीहरूलाई म मेरो कामबारे जानकारी दिन्छु । उनीहरू पनि मलाई उनीहरूले गरेका कामबारे बताउँछन् । एस्ट्रोफोटोग्राफीका टिप्सहरू आदान प्रदान गर्छौं । त्यसैले मेरा लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका ट्वीटरले खेलेको छ,” उनी थप्छन् । 

 

एस्ट्रोबायोलोजी अध्ययन गर्ने चाहना !

उमेरले १८ वर्ष लागेका अमर्त्यले विज्ञान सङ्कायबाट हालै कक्षा १२ उत्तीर्ण गरेका छन् । उनी भविष्यमा एस्ट्रोबायोलोजी (खगोलीय जीव विज्ञान) पढ्न चाहन्छन् । भन्छन्, “खगोल र जीव विज्ञान एक आपसमा अन्तर्निहित छन् । म अब अमेरिका गएर अध्ययन गर्न चाहन्छु । त्यसको तयारी पनि गरिरहेको छु ।”

एस्ट्रो फोटोग्राफीमा रुचि हुनेहरूलाई अमर्त्य थप अन्वेषण गर्न सुझाव दिन्छन् । “जति धेरै अन्वेषण गर्न सकियो, त्यति नै ज्ञानको दायरा बढ्दै जान्छ,” उनी भन्छन्, “यसले आफूलाई पनि अगाडि बढ्न प्रेरित गर्छ । फोटोग्राफीको सन्दर्भमा त झन् यो कुरा सधैं लागु हुन्छ ।”

हामीले आकाशमा प्रस्ट देख्ने चन्द्रमा बाहेक पनि सयौं खगोलीय पिण्डहरू नदेखिने दूरीमा रहेका हुन्छन् । आफ्नै सौर्य प्रणालीका ग्रह तथा उपग्रह चिन्न सकियो भने एस्ट्रो फोटोग्राफी झनै रोचक हुन्छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tech Pana (@techpananews)

विदेशको परिप्रेक्ष्यमा केही फोटोग्राफरले एस्ट्रो फोटोग्राफीबाट राम्रै आम्दानी गरिरहेका पनि हुन्छन् । तर, अमर्त्यले हालसम्म त्यसरी फोटो वा भिडिओ बिक्री गरेका भने छैनन् । भन्छन्, “यसैमा सक्रिय भएर लाग्छु भन्नेका लागि भविष्य राम्रै छ । तर, अरू फोटोग्राफी गर्दा गर्दै पनि रातको समय मिलाएर एस्ट्रो फोटोग्राफी गर्न सकिन्छ ।”

निलो आकाश, त्यसैमा स्वतन्त्र भइ उडिरहेको बादल र अगाडि केही पंक्षीको झुन्ड देख्दा फोटो खिच्न रहर नजाग्ने सायद कोही हुँदैन होला । तर, कहिलेकाहीं हामी क्यामेरा सूर्यतर्फ तेर्साएर फोटो खिचिरहेका हुन्छौं । 

त्यसो गर्दा सूर्यबाट सोझै क्यामेरामा ठोक्किएको प्रकाशको किरणले क्यामेराका साथसाथै मानिसको आँखामा पनि असर गर्छ । त्यसैले आकाशको फोटो खिच्दा घाम डुब्न लागेको वा अस्ताउन लागेको बेला बाहेक अन्य अवस्थामा फोटो खिच्दा जोखिम बढी हुने उनको बुझाइ छ । त्यसैले आकाशको फोटो खिच्दा ध्यान दिन अमर्त्यले सुझाव समेत दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८० २०:३८