काठमाडौं । नेपालीहरूको महान् चाड विजया दशमी (दशैं) भोलिदेखि सुरु हुँदै छ । याे अवसरमा विभिन्न कम्पनीहरूले छुट तथा विशेष अफर घाेषणा गरेका छन् ।
दशैंमा धेरैले आफ्नो लागि वा घरपरिवारको सदस्यका लागि नयाँ सामान किनेर उपहार दिने गर्छन् । त्यसरी किनिने वस्तुमध्ये स्मार्टफोन पनि एक हो ।
अहिले बजारमा विभिन्न ब्रान्डका मोबाइल फोनहरू उपलब्ध छन् । यसो हुँदा कुन ब्रान्डको फोन किन्ने, कुन मोडेल किन्ने, कहाँबाट किन्ने जस्ता प्रश्न/जिज्ञासा आउनु स्वाभाविक नै हुन्छ । तर खरिद गरेपछि सबैभन्दा बढी चलाइने डिभाइसमा पर्छ मोबाइल फोन । यसकारण फोन खरिद गर्नुअघि के के कुरामा ध्यान दिनु पर्छ, आज तिनै कुराबारे चर्चा गर्ने छौं:
अपरेटिङ सिस्टम
यसमा सबैभन्दा बढी गरिने प्रश्न - ‘एन्ड्रोइड कि आईओएस’ नै हो । यसको उत्तर व्यक्तिअनुसार फरक-फरक हुन सक्छ ।
तर केही फरक, सामान्य तथा पातलो डिजाइनको फोन किन्न खोजिरहनु भएको छ भने आईओएस विकल्प हुन सक्छ । एप्पलको अपरेटिङ सिस्टममा लक स्क्रिन, होम स्क्रिन, विजेट र फन्टहरू आफैंले मिलाउन सकिन्छ । एप्पलको आफ्नै आईमेसेज, एप्पल पे र फेस टाइममा पहुँच पाउन सकिन्छ ।
फोनलाई अझै आफू अनुकुल बनाउने र त्यसबाट बढी काम गर्ने सोचमा हुनुहुन्छ भने एन्ड्रोइड ठीक हुन सक्छ । यसका लागि गुगल पे, गुगल वर्कस्पेस लगायत गुगलका विभिन्न एप तथा सेवा पाइन्छ ।
साथै कुन अपरेटिङ सिस्टमको कुन भर्सन भएको फोन लिने कुराले पनि फरक पार्छ । पछिल्लो भर्सनको अपरेटिङ सिस्टम लिनुभयो भने अझै केही वर्षसम्म तपाईंले अपडेट पाउन सक्नुहुन्छ ।
साइज
नयाँ फोन खरिद गर्दा विचार गर्नुपर्ने अर्को कुरा साइज अर्थात् आकार हो । अहिले बजारमा विभिन्न आकारका फोन पाइन्छन् । तीमध्ये अधिकांशको औसत आकार ६ इन्च पाउन सकिन्छ । तपाईंलाई ठूलो डिस्प्ले र ब्याट्री चाहिन्छ वा आफ्नो गोजीमा सजिलै अट्ने फोन ? तपाईंले फोनको आकारका आधारमा निर्णय गर्न सक्नुहुन्छ ।
बजारमा आईओएसका फोन एन्ड्रोइडभन्दा सानै छन् । यता एन्ड्रोइडमा भने आकारमा पनि थुप्रै विकल्प उपलब्ध छ । आकारको बारेमा सोच्दै गर्दा सम्झनु पर्ने कुरा भनेको ठूलो आकार भएका फोनमा अलि बढी क्षमताको ब्याट्री हुन्छ । डिस्प्ले ठूलो हुन्छ ।
डिस्प्ले
फाेन हरेक समय प्रयाेग गरिन्छ । यसकारण नयाँ फाेन किन्दा डिस्प्लेमा निकै ध्यान दिनुपर्छ । विशेषत: ठूलो डिस्प्लेमा बढी रेजाेलुसन पाइन्छ । सामान्यत: बढी रेजाेलुसन भन्नुको अर्थ तस्वीर वा भिडिओको गुणस्तर बढी हुनु हो । फोनबाट भिडिओ हेर्ने बेला यसले निकै फरक पार्छ ।
त्यस्तै डिस्प्लेबारे अध्ययन गर्दा तपाईंले प्यानल (panel)को प्रकार हेर्नुपर्ने हुन्छ । अहिलेका धेरै ब्रान्डले ओलेड तथा ओमेलेड डिस्प्ले प्रयोग गर्ने गर्छन् । यी डिस्प्लेहरूमा बढी कलर एक्युरेसी, डार्कर ब्ल्याक, डार्क मोड, एल्वेज-अन डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ । यद्यपि एलईडी डिस्प्ले भने बढी उज्यालो हुने गर्छ ।
साथै रिफ्रेस रेटमा पनि तपाईंले ख्याल पुर्याउनु पर्ने हुन्छ । सरल अर्थमा बुझ्दा प्रति सेकेन्ड कति पटक स्क्रिन रिफ्रेस हुन्छ, त्यही नै रिफ्रेस रेट हो । यो जति बढी भयो, भिडिओको चाल उति राम्रो देखिन्छ । अहिले प्राय: १२० हर्जको रिफ्रेस भएकोलाई राम्रो मानिन्छ ।
प्रोसेसर
फोनको प्रदर्शन राम्रो छ/छैन भन्ने कुरा प्रोसेसरमा भर पर्छ । यस वर्ष आएका फ्लागशिप प्रोसेसरमा स्न्यापड्रागन ८ जेन टु (एन्ड्रोइड) र ए१७ प्रो (आईओएस) हुन् ।
फोनहरूमा अन्य पक्ष जतिसुकै राम्रो भएपनि प्रोसेसर पुरानो भए दैनिक काम गर्न पनि असजिलो हुन्छ । फोन ढिलो चल्ने, काम गर्दा फोन अड्किने जस्ता समस्या निम्तिन्छ ।
फोरके भिडिओ रेकर्डिङ, भिडिओ प्ले जस्ता प्रोसेसर बढी चाहिने काम गर्न नयाँ तथा शक्तिशाली प्रोसेसर चाहिन्छ । त्यस्तै फोनमा नयाँ प्रोसेसर हुनुको अर्थ फोनले धेरै वर्ष काम गर्न सक्नु पनि हो ।
ब्याट्री
फोन चल्न अति आवश्यक पक्ष ब्याट्री हो । फोनको ब्याट्रीलाई एमएएच (mAh) एकाईमा मापन गरिन्छ । एमएएच बढी भएको फोनको ब्याट्री बढी समय टिक्छ ।
तर एप्पलका फोनमा एमएएच कम भएपनि कम्पनीले सफ्टवेयरको माध्यमबाट बढी टिक्ने बनाएको छ । ब्याट्रीको कुरा गर्दै गर्दा चार्जिङ स्पिडबारे बुझ्न बिर्सनु हुन्न ।
क्यामेरा
नयाँ फोन किनेपछि फोटो त खिच्नै पर्यो । राम्रो फोटो खिच्न फोनको क्यामेरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । पछिल्लो समयमा आएका नयाँ फोनमा हाई रेजोलुसनको क्यामेरा दिइएको छ । अहिले त अझ एआई एकीकृत गरिएको क्यामेरा सहितको फोन पनि बजारमा आइसकेका छन् । सामान्यतया क्यामेराको गुणस्तरलाई मेगापिक्सेल (एमपी)मा मापन गरिन्छ । तर फोनमा भने यसले खासै फरक पार्दैन ।
किनकी १०८ एमपी भएको एन्ड्रोइड फोनभन्दा ४८ एमपी भएको आईओसले राम्रो खिच्छ । यसको कारण इमेज प्रोसेसिङ सफ्टवेयर हो । यसकारण कन्टेन्ट क्रियसनको काम गर्न नयाँ फोन खरिद गर्दै हुनुहुन्छ भने तपाईंले राम्रो इमेज प्रोसेसिङ भएको फोन लिनुपर्ने हुन्छ ।
समग्रमा फोन खरिद गर्दा ख्याल पुर्याउनु पर्ने कुरा यति हुन् । यसबाहेक फोन बनेको मिति, वारेन्टी, ग्यारेन्टी लगायत केही कुरामा पनि ख्याल दिँदा राम्रो हुन्छ । समग्रमा आफूलाई उपयुक्त हुने र बजेट सुहाउँदो फोन लिनु पर्छ ।