close

तपाईंको ह्वाट्सएप अर्कैले चलाइरहेको त छैन ? यसरी चेक गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १, २०८० १०:१६

तपाईंको ह्वाट्सएप अर्कैले चलाइरहेको त छैन ? यसरी चेक गर्नुहोस्

 

काठमाडौं । मेटाले मेसेजिङ एप ह्वाट्सएपमा डेटाको गोपनीयता र सुरक्षालाई निकै प्राथमिकता दिएको छ । एक पटक मात्र एउटा लगइन गर्न मिल्ने र टु फ्याक्टर अथेन्टिकेसनका कारण अन्य एपहरूभन्दा ह्वाट्सएप अलि बढी सुरक्षित छ । तर इन्टरनेटमा जोडिएका कारण जाेखिम भने हुने गर्छ ।

अझ गलत नियत भएका व्यक्तिले तपाईँको ह्वाट्सएप अकाउन्टमाथि पहुँच बनाउन सक्छन् । यसकारण आज तपाईंको ह्वाट्सएप अकाउन्ट अन्य व्यक्तिले चलाइरहेका छन्/छैनन् भनेर चेक गर्ने तरिकाबारे सिकाउँदै छौं: 

अरुले ह्वाटसएप अकाउन्ट चलाइरहेको छ/छैन चेक गर्ने तरिका

सबैभन्दा सुरुमा आफ्नो ह्वाट्सएप लगइन गर्नुहोस् । लगइनका लागि ह्वाट्सएपले वेब र आईओएस तथा एन्ड्रोइड एप दिएको छ । तपाईंले तीमध्ये जुनै माध्यमबाट पनि लगइन गर्न सक्नुहुन्छ । अब तलका विधिमार्फत ह्वाट्सएप अरुले चलाइरकेको छन्/छैनन् भनेर चेक गर्न सक्नुहुन्छ । 

-ह्वाट्सएप एक्टिभिटिज

जब तपाईंले ह्वाट्सएप खोल्नुहुन्छ, तपाईंले सुरुमा कुराकानी गरिएका कन्ट्याक्ट (व्यक्तिहरू) देख्नुहुन्छ । यदि ती च्याट तपाईंले गरेको होइन भने अरुले ह्वाट्सएप चलाइरहेका छन् भनेर बुझ्न पर्छ । 

-आफ्नो प्रोफाइल

यदि तपाईंको ह्वाट्सएप अकाउन्ट अन्य व्यक्तिले चलाइरहेका छन् भने उनीहरूले प्रोफाइलको विवरण परिवर्तन गर्न सक्छन् । आफ्नो प्रोफाइल चेक गर्न च्याट सेक्सनको माथिल्लो बायाँ भागमा हुने तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

अब सेटिङमा ट्याप गर्नुहोस् । र माथि देखिने आफ्नो नाममा ट्याप गर्नुहोस् । यदि त्यहाँको विवरणहरू तपाईंले राख्‍नु भएको छैन भने अरुले चलाइरहेको हुन सक्छन् ।  

-ह्वाट्सएपबाट आउने मेसेज

ह्वाट्सएपबाट आएको मेसेज हेर्नु पनि एउटा तरिका हो । त्यसबाट कति पटक र कहिले अन्य डिभाइसमा लगइन गरियो थाहा पाउन सकिन्छ ।

यसका लागि च्याट सेक्सनको सर्च बार (ओईओएसमा म्यागनिफाइङ ग्लास) गएर अङ्ग्रेजी ह्वाट्सएप टाइप गर्नुहोस् । त्यहाँ ह्वाट्सएपबाट आएका मेसेजहरू देख्‍न सक्नुहुन्छ । 

-नयाँ साथी 

अन्य व्यक्तिले तपाईंको ह्वाट्सएप अकाउन्ट प्रयोग गरिरहेका छन् भने तिनीहरूले तपाईंको कन्ट्याक्ट विवरण पनि तलमाथि गर्छन् । यसकारण आफ्नो कन्ट्याक्ट विवरण हेर्नु पनि राम्रो विकल्प हो ।

यसका लागि च्याट सेक्सनको तल्लो भागमा भएको मेसेजिङ आईकनमा ट्याप गर्नुहोस् । त्यहाँ सेभ नगरेका कन्ट्याक्ट छन् भने अन्य व्यक्तिले प्रयोग गरिरहेका हुन सक्छन् । 

-लिङ्क्ड डिभाइस 

मुख्य डिभाइस बाहेक अन्य सहायक डिभाइसमा पनि ह्वाट्सएप चलाउने सुविधा ह्वाट्सएपमा छ । तपाईंले यसबारे पनि हेर्न सक्नुहुन्छ । यसका लागि च्याट सेक्सनको बायाँमाथि हुने तीन ओटा डटमा ट्याप गर्नुहोस् । त्यसपछि देखिने 'लिङ्क्ड डिभाइस'मा ट्याप गर्नुहोस् ।

त्यहाँ लिङ्क गरिएका डिभाइस र पछिल्लो पटक कहिले एक्टिभ भएको थियो त्यो देखिन्छ । यदि तपाईंले लिङ्क गरेको डिभाइस होइनन् भने अन्य व्यक्तिले चलाएको हुन सक्छ ।

तपाईको मुख्य फोन इन्टरनेटमा जोडिएको छैन भने पनि तपाईले लिङ्क गरिएका डिभाइसबाट ह्वाट्सएप चलाउन सक्नुहुन्छ । तर लिङ्क गरिएको डिभाइसमा १४ दिनसम्म ह्वाट्सएप प्रयोग गर्नु भएन भने स्वत: लग आउट हुन्छ ।

अर्को डिभाइसबाट लग आउट गर्ने तरिका

यदि आफ्नो ह्वाट्सएप अकाउन्ट चलाइरहेकाे फेला पारे वा शङ्का भए लिङ्क गरिएका डिभाइस हटाउन सक्नुहुन्छ । वा त्यस डिभाइसबाट ह्वाट्सएप लग आउट गर्न सक्नुहुन्छ । यसका लागि पुन: च्याट सेक्सनको बायाँमाथि हुने तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

त्यसपछि देखिने 'लिङ्क्ड डिभाइस'मा जानुहोस् । त्यहाँ लगइन गरिएका अन्य डिभाइस देखिन्छ । अब तिनमा ट्याप गर्नुहोस् । अब त्यहाँ ‘लग आउट’ भन्ने विकल्प देखिन्छ । त्यसमा ट्याप गरेपछि तपाईंको डिभाइस अन्य अकाउन्टबाट लग आउट हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १०:३५