काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीले हालै मियूआई यूएक्स हटाउँदै हाइपर ओएस सुरु गर्ने घोषणा गरेको थियो । हाइपर ओएस साओमी १४ सिरिजमा पहिलो पटक उपलब्ध गराउने कम्पनीको योजना छ । त्यसपछि क्रमशः साओमीका अन्य मोडेलमा पनि मियूआई हटेर हाइपर ओएस सुरु हुनेछ । हाइपर ओएसको चर्चा बढेसँगै उक्त अपरेटिङ सिस्टममा समग्र युजर इन्टरफेस, एप आईकन तथा अन्य विषयहरूमा कस्ता परिवर्तन आउँछन् भन्ने धेरैको चासो थियो ।
अहिले साओमी हाइपर ओएस नामबाट खोलिएको टेलिग्राम च्यानलमा उक्त ओएसका विभिन्न जानकारी लिक भएका छन् । उक्त च्यानलमा साओमीको सिस्टम एप कस्तो हुनेछन् भन्ने देखाइएको छ । त्यसमा पनि २३.९.२८ बियुल्ड नम्बर भएको हाइपर ओएसको यूआई लिक गरिएको दाबी गरिएको छ । साओमीले नयाँ ओएसमा मितिलाई क्रमशः वर्ष.महिना.दिनको फर्म्याटमा राखिएको छ । फोटोमा रिड वन्ली मेमोरी (रोम) २८ सेप्टेम्बर २०२३ मा निर्माण भएको उल्लेख गरिएको छ ।
लिक भएका विभिन्न एपीके मियूआई १४ मा आधारित एन्ड्रोइड १३ ओएस अपडेट भएका फोनमा प्रयोग गर्न सकिन्छ । साओमीको सेक्युरिटी एपहरू पनि नयाँ यूआईसँगै अपडेट गरिएको छ ।
अन्य एपहरू जस्तै फाइल मेनेजर, वेदर, मेसेज, ग्यालरी, क्यालेन्डर र क्लक पनि नयाँ डिजाइनमा देखिएको छ । साओमीको वालेपेपर र सेटिङको पर्सनलाइजेसन सेक्सनमा पनि परिवर्तन ल्याइएको छ । हाइपर ओएसमा फरक स्टाइलको लक स्क्रिन देख्न सकिन्छ । यदि तपाईंलाई डिफल्ट रूपमा उपलब्ध हुने लकस्क्रिन मन परेको छैन भने त्यसलाई आफ्नो तरिकाले कस्टमाइज गर्न सक्नुहुन्छ । क्याल्कुलेटरको नयाँ यूआई पनि प्रयोगकर्ताले सहजै ख्याल गर्नेछन् ।
कम्पनीले चार्ज गर्दा जुन एनिमेसन देखाउँछ त्यसलाई पनि परिवर्तन गरेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा शेयर भएको स्क्रिनशटमा पनि साओमीको नयाँ यूआई कस्तो देखिनेछ भन्ने हेर्न सकिन्छ । हाइपर ओएसमा स्टाटस बारमा ब्याट्री र साउन्डको स्टाटस परिवर्तन भएको छ । अर्थात फोन चार्ज गर्दा वा नोटिफिकेसन अन अफ गर्दा स्टाटस बारमा अन अफ गरेको वा चार्ज लगाएको र चार्जबाट झिकेको जानकारी देखिनेछ ।
युट्युबर टेक्नोबजले एक्समा शेयर गरेको भिडिओमा हाइपर ओएसमा अलवेज-अन डिस्प्ले कस्तो देखिन्छ हेर्न सकिन्छ । हाइपर ओएस २७ अक्टोबरमा चिनमा साओमी १४ सिरिज सार्वजनिक भएसँगै बजारमा आउने बताइएको छ ।