काठमाडौं । आफूले पहिल्यै नै ट्रेडमार्क लिएको बताउँदै एउटा बेलायती कम्पनीले थ्रेड्सको नाम परिवर्तन गर्न मेटालाई ३० दिने अल्टिमेटम दिएको छ । थ्रेड्स सफ्टवेयर लिमिटेड नामक उक्त कम्पनीले सोमवार फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटालाई आफ्नो वकिलले यस विषयमा पत्राचार गरिसकेको बताएको हो ।
उक्त बेलायती कम्पनीले सन् २०१२ मा नै इन्टेलिजेन्ट मेसेजिङ हब थ्रेड्सको ट्रेडमार्क लिएको थियो । उक्त एपले क्लाउड डेटाबेसमा कम्पनीको ईमेल, ट्वीट र भोइस ओभर इन्टरनेट प्रोटोकल फोन कल लगायतक स्टोर गर्थ्यो ।
तर एलन मस्कको एक्ससँग प्रतिस्पर्धा गर्न थ्रेड्स नामक सामाजिक सञ्जाल ल्याएसँगै त्यसको असर आफूहरूलाई परेको सो कम्पनीले बताएको छ । मेटाले आफूहरूलाई फेसबुकबाट हटाएको र विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीहरू मध्येको एकबाट गम्भीर खतराको सामना गर्नुपरेको उक्त कम्पनीले जनाएको छ ।
त्यस्तै आफ्नो डोमेन नाम ‘threads.app’ किन्न मेटाले गरेका चार ओटा प्रस्ताव अस्वीकार गरेको समेत उसले बताएको छ । अब पनि मेटाले उक्त नाम प्रयोग गर्न नछाडे कानूनी सहायता लिन बाध्य हुने जनाएको छ ।
मेटाले मस्कको एक्ससँग प्रतिस्पर्धा गर्न गत जुलाईमा थ्रेड्स नामक सामाजिक सञ्जाल ल्याएको थियो । त्यस बेला सो एप च्याटजीपीटीलाई पछि पार्दै छोटो समयमा १० करोड प्रयोगकर्ता पाउने एप बन्यो । अहिले मोबाइल एप तथा वेबबाट इन्स्टाग्राम अकाउन्ट लिङ्क गरी थ्रेड्स प्रयोग गर्न सकिन्छ ।