close

परराष्ट्र मन्त्री साउदले अमेरिकामा भेटे आईटी व्यवसायी, नेपालमा लगानी गर्न आग्रह

टेकपाना टेकपाना

कात्तिक १७, २०८० १३:९

परराष्ट्र मन्त्री साउदले अमेरिकामा भेटे आईटी व्यवसायी, नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका लगानीकर्ता, सूचना प्रविधि (आईटी) विज्ञ तथा व्यवसायीहरूसँग छलफल गरेका छन् ।

साे अवसरमा परराष्ट्रमन्त्री साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरे । नेपालमा राजनीतिक स्थिरता र सूचना प्रविधिको विकासमा सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ थियाे ।

मन्त्री साउद अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम) सँगकाे एक कार्यक्रममा समेत सहभागी बनेका थिए । वासिङ्टन डिसीमा अवस्थित यूएस च्याम्बर अफ कमर्सको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई देशका निजी क्षेत्रबीचको सहकार्य बढाउनुपर्नेमा जोड दिए । जसमा उनले अमेरिकी व्यवसायीहरूलाई नेपालमा ऊर्जा, आईटी, पर्यटनलगायत क्षेत्रमा लगानीका अवसर खोज्न निमन्त्रणा दिएका थिए । 

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को संभावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गरे ।  सूचना प्रविधिको कम्पनी स्थापनाका लागि सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उनले बताए । 

कार्यक्रममा अमेरिकन चेम्बर्स अफ कमर्सका प्रतिनिधिका साथै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत दूतावासका अधिकारी, परराष्ट्र मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति रहेकाे थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १३:१६