close

युट्युबले एड ब्लकर प्रयोग गर्न नदिएपछि विकल्प खोज्दै प्रयोगकर्ता

टेकपाना टेकपाना

कात्तिक २२, २०८० १२:८

युट्युबले एड ब्लकर प्रयोग गर्न नदिएपछि विकल्प खोज्दै प्रयोगकर्ता

काठमाडौं । पछिल्लो समय ब्राउजरमा एड ब्लकर प्रयोग गर्ने प्रयाेगकर्तामाथि युट्युब आक्रामक रूपमा उत्रिएको छ । एडब्लकर प्रयोग गरिएको छ भने सबैभन्दा पहिले तीन ओटा भिडिओसम्म हेर्न दिने र त्यसपछिका भिडिओ ब्लक गरिदिने युट्युबको नीतिले प्रयोगकर्ता एडब्लकर हटाउन बाध्य छन् ।

केही प्रयोगकर्ता भने एडब्लकरको विकल्प खोज्न थालेका छन् । यसअघि सीमित प्रयोगकर्तामाथि सुरु भएको एड-ब्लकर प्रयोग गर्नेलाई भिडिओ हेर्नै नदिने युट्युबको नीति अहिले विश्वभर लागू भइरहेको छ ।

सञ्चारमाध्य वायर्डका अनुसार अक्टोबर महिनामा मात्र लाखौं प्रयोगकर्ताले ब्राउजरबाट एड ब्लकर हटाउन सुरु गरेका थिए । त्यही समयमा अन्य केही व्यक्तिहरू त्यस्तो टुलको खोजी गरिरहेका थिए, जसलाई युट्युबले रोक्न नसकोस् ।

अक्टोबरमा क्रोमका लागि चर्चित एड-ब्लकर घोस्टेरीलाई इन्स्टल र अनइस्टल गर्ने प्रयोगकर्ताको सङ्ख्या तीनदेखि पाँच प्रतिशतले बढेको थियो । अनइन्स्टल गर्दा विज्ञापनबिना भिडिओ हेर्न पाइन्छ भन्ने आशा बोकेका ९० प्रतिशत प्रयोगकर्ता निराश भए ।

अर्को एड-ब्लकर एडगार्डमा पनि सामान्यतः हरेक दिन औसतमा छ हजार प्रयोगकर्ताले अनइन्स्टल गरिरहेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ९ अक्टोबरदेखि सो महिनाको अन्तिम दिनसम्म झन्डै ११ हजार र १८ अक्टोबरमा मात्र सबैभन्दा बढी ५२ हजार प्रयोगकर्ताले सो क्रोम एक्सटेन्सन अनइन्स्टल गरेका थिए । त्यसपछि सशुल्क भर्सनको एडब्लकले भने युट्युबमा काम गर्छ ।

शुल्क तिर्दा एडब्लकरले युट्युबमा काम गर्ने थाहा पाएपछि १८ देखि २७ अक्टोबरसम्म झन्डै ६० हजारले एडगार्ड एक्सटेन्सन इन्स्टल गरेका थिए । यी एडब्लकरको विकल्पमा केही प्रयोगकर्ताले विज्ञापनबिना भिडिओ हेर्न सघाउने न्युपाइप (Newpipe) एक्सटेन्सन पनि प्रयोग गर्न थालेका छन् ।

साइबर सुरक्षा विश्लेषक क्रिजिस्टाेफ मोड्रासका अनुसार युट्युबको सो नीतिले प्रयोगकर्तालाई एड ब्लक गर्ने तरिकाको खोजी गर्न लगाउने र त्यसरी विकल्प खोज्दा प्रयोगकर्ताले सुरक्षा चुनौती आउनसक्ने चुनौती दिएका छन् ।

कतिपय एक्सटेन्सन कुनै ब्राउजरमा काम गर्ने र कुनैमा काम नगर्ने किसिमका हुन्छन् । उदाहरणका लागि यूओरिजिन (Uorigin) एडब्लकरले फायरफक्स ब्राउजरमा मात्र काम गर्छ । त्यस्तै कतिपय प्रयोगकर्ताले एडब्लक प्लस पनि प्रयोग गर्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० १२:१६