close

हिन्दीभन्दा पहिला यसरी सुरु भएको थियो नेपाली विकिपिडिया, चल्छ यो कसरी ?

हिक्मत आचार्य हिक्मत आचार्य

कात्तिक २२, २०८० १९:२३

हिन्दीभन्दा पहिला यसरी सुरु भएको थियो नेपाली विकिपिडिया, चल्छ यो कसरी ?

 

काठमाडौं । विकिपिडिया इन्टरनेटको पहुँचमा हुनेहरूका लागि अपरिचित शब्द होइन । आफूलाई आवश्यक परेका कुनै पनि जानकारी गुगलमा खोजियो भने विकिपिडियाको पेज शीर्ष स्थानमा देखिन्छ । 

सबै अवस्थामा विकिपिडियाकै पेज देखिन्छ भन्ने त छैन । तर, इतिहास, भूगोल, राजनीति, धर्म, विज्ञान, प्रविधि लगायतका कुनै शब्द खोजियो भने प्रायः विकिपिडिया नै शीर्ष स्थानमा देखिन्छ । 

त्यसो त विकिपिडियाकै पेज अधिकांश जिज्ञासामा अगाडि देखिन्छ भन्ने विषयको प्राविधिक कारण छ । हामीले खोजेका अधिकांश सामग्री विना कुनै शुल्क विकिपिडियामा हेर्न सकिन्छ । 

विकिपिडियामा रहेका कुनै पनि जानकारी हेर्दा हामीले कुनै किसिमको विज्ञापन हेर्नु पर्दैन । किनभने प्रयोगकर्तालाई उपयुक्त जानकारी दिए वापत कम्पनीले विज्ञापनको सहायता लिंदैन । 

त्यसोभए विकिपिडिया कसरी सञ्चालन भइरहेको छ त ? अनि विकिपिडियामा कसले, कसरी काम गरिरहेका हुन्छन् ? आज हामी विस्तृतमा चर्चा गर्दैछौं । 

विकिपिडिया के हो ?

सामान्य अर्थमा विकिपिडिया भनेको एउटा इन्साइक्लोपेडिया हो । इन्साइक्लोपेडिया एउटा त्यस्तो पुस्तक हो, जसमा हरेक किसिमका जानकारी समेटिएका हुन्छन् । 

इन्साइक्लोपेडियालाई विभिन्न सूचनाको भण्डार वा स्रोत पनि हो भन्दा फरक नपर्ला । त्यस्तै पुस्तकको डिजिटल संस्करण हो ‘विकिपिडिया’ ।

“आफूले खोजेका प्रायः सबै विषयमा जानकारी पाउन सकिने भएकाले विकिपिडियालाई इन्साइक्लोपेडिया भनिएको हो,” सन् २००४ देखि नेपालबाट विकिपिडियामा योगदान दिँदै आएका गणेश पौडेल भन्छन्, “यो कम्प्युटर वा भनौं डिजिटल संस्करणमा आधारित अनलाइन इन्साइक्लोपेडिया हो ।”

यसको सुन्दर पक्ष भनेको यो संसारका तीन सयभन्दा बढी भाषामा उपलब्ध छ । विकिपिडिया नेपालका झन्डै १०  भाषामा उपलब्ध छ । 

जसले पनि विकिपिडियामा भएका सामग्री निःशुल्क प्रयोग, वितरण र सम्पादन गर्न सक्छ । विकिपिडियाका कतिपय पेज कसैले सम्पादन गर्न नसकिने गरी लक गरिएका पनि हुन्छन् । 

विकिपिडियाले कसरी काम गर्छ ?

विकिपिडिया सन् २००१ मा ब्रिटिश अमेरिकन जिमी वेल्स र ल्यारी स्याङ्गरले सुरु गरेका हुन् । त्यति बेला इन्साइक्लोपेडिया, ब्रिटानिका र इन्कार्टा इन्साइक्लोपेडियाको प्रचलन थियो । 

यी इन्साइक्लोपेडिया २०,२५, ३० भोलुममा किताबका रूपमा छापिन्थे । यी पुस्तकमा प्रकाशकले बढी लगानी गर्नुपर्ने हुन्थ्यो र पाठकले खरिद गर्नपर्थ्यो । यसलाई सरल बनाउन इन्कार्टा इन्साइक्लोपेडियाले सीडीमा निकालेको थियो । 

तर, त्यसको सीमितता भनेको सीडी प्रयोग गर्नका लागि डिभाइसकै आवश्यकता पर्थ्यो । त्यो समयमा सबैसँग डिभाइसको पहुँच थिएन । यसले गर्दा धेरै मानिसको पहुँचमा इन्साइक्लोपेडिया पुग्न सकिरहेको थिएन ।

त्यसपछि अनलाइन प्रचलनमा आउन थाल्यो र इन्टरनेटबाटै इन्साइक्लोपेडिया उपलब्ध गराउनुपर्छ भन्ने हिसाबले ल्यारी र जिमीको सहकार्यमा सन् २००१ देखि विकिपिडिया अङ्ग्रेजी भाषामा सुरु भयो । तर सुरु भएको केही समयमै दुई जना सहसंस्थापकबीच विवाद भयो । 

इन्साइक्लोपेडिया सबैले पढ्ने भएकाले यो विद्धानहरूले लेख्नुपर्छ भन्ने ल्यारीको भनाई थियो । तर, जिमी भने जोसुकै व्यक्तिसँग जस्तोसुकै ज्ञान पनि हुनसक्छ भन्ने मान्यता राख्थे । त्यसैले यसलाई खुल्ला छोड्नुपर्छ भन्ने उनको बुझाइ थियो । 

यसरी दुई जनाबीच कुरा नमिल्दा ल्यारी अलग्गिए र जिमी एक्लै उक्त प्रयासलाई निरन्तरता दिन थाले । तर यसका पनि आफ्नै चुनौती थिए । जसले पनि एडिट गर्न सक्ने भएपछि बनाउने भन्दा पनि बिगारिदेलान् भन्ने डर भयो ।

यो सोचले राम्रो काम गर्‍यो । अङ्ग्रेजी विकिपिडियाको एकदमै छिटो बृद्धि हुन थाल्यो । मानिसहरू पढ्नुका साथै लेख्न पनि थाले । फोटो भिडिओ पनि राख्न थाले । यसरी संसारभर विकिपिडिया क्रशमः लोकप्रिय बन्दै गयो । 

नेपाली विकिपिडियाको सुरुवात 

अङ्ग्रेजीमा जनवरी २००१ देखि सुरु भएको विकिपिडियाको नेपाली संस्करण जुन २००३ मा थालिएको हो । “त्यतिबेला हिन्दी विकिपिडिया सुरु नै भएको थिएन । नेपाली विकिपिडिया एकदम छिटो भएको हो,” पौडेल भन्छन्, “हिन्दी बाहेक भारतका अन्य मुख्य मुख्य भाषाका विकिपिडिया पनि नेपालीले नै सुरु गरेका थिए ।”

नेपाली शब्दहरू देवनागरी लिपिमा लेखिन्छ । त्यतिबेला प्रितिमा लेख्ने चलन थियो । त्यसैले फन्ट नमिलेर अनलाइनमा लेख्न समस्या हुन्थ्यो । त्यही बेलामा एउटा महत्त्वपूर्ण कामको थालनी भयो । त्यो के थियो भने मदन पुरस्कार पुस्तकालयले नेपाली भाषाको युनिकोडका लागि युनिकोड कन्सोर्टियम (द युनिकोड कन्सर्टियम) ले देवनागरीलाई पनि स्लट दिएपछि पुस्तकालयले किबोर्डको इनपुट दियो । यसरी नेपाली भाषा युनिकोडमा लेख्न सहज भयो । देवनागरी लिपिलाई युनिकोड बनाउने कार्यमा पौडेल पनि संलग्न थिए ।

कसरी सञ्चालन हुन्छ विकिपिडिया ? 

विकिपिडिया निःशुल्क रूपमा पढ्न सकिने भए पनि यसलाई सञ्चालन गर्ने क्रममा वर्षेनि करोडौंको आम्दानी तथा खर्च भइरहेको हुन्छ । विकिपिडिया सञ्चालन गर्ने विकिमिडिया फाउण्डेसन गैरनाफामुखी संस्था भएकाले यसले कुनै पनि देशको सरकारी निकायलाई कर तिर्नु पर्दैन । तर, पनि विकिमिडिया फाउन्डेसनले विभिन्न शीर्षकमा विश्वभरका सीमित योगदानकर्तालाई भेला गराएर गोष्‍ठी तथा सम्मेलन आयोजना गरिरहेको हुन्छ ।

त्यसका साथै विकिपिडिया सञ्चालनका लागि प्राविधिक खर्च पनि लागिरहेको हुन्छ । यसका लागि विकिमिडियाले पाठकबाट सीमित सहयोग संकलन गरिरहेको हुन्छ । सहयोग मागेकै कारण संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले एक समय विकिपिडियाको चर्को आलोचना समेत गरेका थिए । नाम परिवर्तन गरेर (D*ckipedia) अङ्ग्रेजी अश्लील शब्द राखे एक अर्ब डलर दिने घोषणा पनि गरेका थिए ।

विकिपिडियाकै भाषामा भन्ने हो भने सो प्लेटफर्ममा प्रति मिनेट औसतमा ३४५ सम्पादन भइरहेका हुन्छन् र हरेक सेकेन्ड पेज हेरिएको सङ्ख्या छ हजार ७०० पुगेको हुन्छ । विकिपिडियालाई निष्पक्ष, विश्वसनीय र निःशुल्क बनाइराख्न विकिमिडिया फाउन्डेसनले डोनेसन मागिरहेको हुन्छ । उक्त संस्थालाई न्यूनतम तीन अमेरिकी डलर सहयोग गर्न सकिन्छ । उसले पाउने औसत सहयोग १५ डलर रहेको छ । यसरी विश्वभरका स्वयंसेवकलाई विभिन्न तवरबाट प्रभावित पारेर विकिपिडिया विश्वसनीयता कायम गर्दै सञ्चालन भइरहेको छ ।

को हुन् विकिपिडियाका लेखक र सम्पादक ? 

त्यसो त विकिपिडियामा जुनसुकै व्यक्तिले अकाउन्ट बनाएर वा नबनाएर पेजमा देखिएका गल्ती सम्पादन गर्न सक्छन् । सम्पादन गर्दा विकिपिडियाले त्यस्तो प्रयोगकर्ताको आईपी एड्रेस राखेको हुन्छ । सन् २०१३ देखि विकिपडियामा एड्मिन रहेका विप्लव आनन्द भन्छन्, “विकिपिडियामा नयाँ पृष्ठ कसरी आरम्भ गर्ने भन्ने कुराको जानकारी दिन सहायता पृष्ठ राखिएको छ । त्यसमा हामीले कसरी नयाँ पृष्ठ बनाउन सकिन्छ भन्ने सिकाएका छौं ।” 

त्यही हेल्प पेजबाट आफूलाई लागेका जिज्ञासा कुनै पनि एड्मिनलाई सोध्न सकिन्छ । त्यसो त विकिपिडियामा नयाँ पेज (कुनै नयाँ ठाउँको बारेमा जानकारी दिन, व्यक्तिको जीवनी लेख्न) तयार पार्न यति मापदण्ड पूरा गरेको हुनुपर्छ भन्ने हुँदैन । विकिपिडिया पेजमा तत्कालै अकाउन्ट बनाएर पनि नयाँ पेज तयार पार्न सकिन्छ । तर, पेज तयार पारिसकेपछि त्यहाँ उल्लेख गरिएका जानकारी भने सटीक हुनुपर्छ । आनन्द भन्छन्, “कुनै नयाँ पेज तयार भयो भने हामी एड्मिनलाई नोटिफिकेसन आउँछ । हामीले त्यो पेजलाई भेरिफाई गरेर स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने निर्क्यौल गर्छौं ।”

पेज बनाउनुभन्दा अघि आनन्द विकिपिडियाका नीति राम्रोसँग अध्ययन गर्न सुझाव दिन्छन् । उनका अनुसार विशेषगरी विकिपिडियामा कसरी लेख्ने, त्यसको ढाँचा कस्तो हुनुपर्छ, लेखलाई तटस्थ कसरी बनाउने जस्ता कुरामा ध्यान दिएर लेख लेखे स्वीकृत हुने र विकिपिडिया पेजमा सो लेख देखिन थाल्छ ।

“नयाँ पृष्ठ बनाउनका लागि सबैभन्दा पहिला आफूले लेख्न चाहेको विषय उल्लेखनीय छ वा छैन यकिन गर्नुपर्छ,” आनन्द अगाडि भन्छन्, “आफूले लेख्न लागेको विषय विश्वकोशमा राख्न उपयुक्त छ भन्ने कुरा ठम्याइसकेपछि त्यसबारे विश्वसनीय स्रोत तयार पार्नुपर्छ । विश्वसनीय स्रोतबिना लेख पूर्ण हुँदैन । यदि विश्वसनीय छैन भने कसैले आएर ‘डिलिसन ट्याग’ लगायो भने एड्मिनले डिलिट गरिदिन्छन् ।”

 प्रयोगकर्ताले अनुभव बटुलेर  मात्र लेखहरू राख्न थाले विश्वसनीय हुने आनन्दको भनाइ छ । फर्म्याट मिलेको छ, तटस्थ भएर जानकारी दिइएको छ, उचित स्रोत उल्लेख गरिएको छ भने विकिपिडिया पेज तयार हुने उनी सुनाउँछन् ।

विकिपिडियामा नयाँ पेज कसरी बनाउने ? 

आनन्दका अनुसार विकिपिडियाका सबै नीति र फर्म्याट बुझिसकेपछि नयाँ पेज बनाउने कार्यको थालनी गर्दा उपयुक्त हुन्छ । त्यसमा पनि विकिपिडिया ‘मिडिया विकि सफ्टवेयर’ को आधारमा चलेको हुन्छ ।

“जसरी हामीले डेस्कटप वा पीसीमा माइक्रोसफ्टको विन्डोज वा लिनक्स ओएस प्रयोग गर्छौं, त्यस्तै तवरमा विकिपिडियाले मिडिया विकि सफ्टवेयर प्रयोग गर्छ,” आनन्द भन्छन्, “यसले सीएसएस प्रयोग गर्छ । एडिट गर्नका लागि केही गाह्रो छैन । तर, नयाँ पेज बनाउनका लागि यो सफ्टवेयरमा टेम्प्लेट हुन्छ । त्यही टेम्प्लेट प्रयोग गरेर नयाँ पेज बनाउन सकिन्छ ।”

विकिपिडियामा नयाँ पेज बनाउने तरिका विस्तारै सिक्ने कार्य भएकाले सुरुमा एडिट गर्न सिकेर योगदान दिने र पछि नयाँ पेजतर्फ लाग्नुपर्ने उनको सुझाव छ । “एडिट गर्न थाल्यो भने नयाँ पेजको फ्रेमवर्कबारे थाहा हुन्छ । अनि सबै फर्म्याट बुझेर, नीतिमा रहेर पेज बनाएको छ भने पेज एसेप्ट हुन्छ,” उनी थप्छन् । व्यक्तिको बारेमा विकिपिडिया पेज तयार पार्ने विषय अरूभन्दा चुनौतीपूर्ण रहेको आनन्द सुनाउँछन् । “व्यक्तिको बारेमा विकिपिडिया पेज तयार पार्नु छ भने धेरै चुनौती छ,” उनी भन्छन्, “त्यसका लागि पर्याप्त स्रोत संकलन गरेको हुनुपर्छ र, यस्ता पेज अन्य पेजभन्दा बढी प्राथमिकताका साथ हेरिन्छन् ।”   

विकिमिडियन्स अफ नेपाल !

नेपालका कन्टेन्ट व्यवस्थापन गर्नका लागि विकिपिडियाका स्थानीय स्वयंसेवक पनि छन् । विकिमिडियन्स अफ नेपाल नाम गरेको उक्त समूहमा आठ जना एड्मिन सक्रिय रूपमा कार्यरत छन् । विशेषगरी तत्कालै सम्पादन गरिएका लेख ठीक छन् वा छैनन् जाँच गर्ने, सम्पादन युद्धलाई कम गर्न केही समयका लागि पेज लक गर्ने, आफ्नो मातृभाषा र स्थानीय संस्कृति, चालचलन र परम्परा प्रवर्द्धन गर्नेमा उनीहरू सक्रिय छन् । 

विकिपिडियाको स्थानीय व्यवस्थापक वा भनौं एड्मिन बन्नका लागि भने केही मापदण्ड पूरा गरेकै हुनुपर्छ । आनन्दका अनुसार डएड्मिनलाई एउटा लग जस्तो ड्याशबोर्ड उपलब्ध गराइएको हुन्छ । एड्मिनको मुख्य काम नै तत्कालै सम्पादन गरिएका लेख ठीक छ वा छैन जाँच गर्नु हो । 

“कतिपय लेखहरू विश्वकोषमा हुनैपर्ने किसिमका हुन्छन् । तर, तिनले सम्पूर्ण मापदण्ड पूरा गरेका हुँदैनन्,” आनन्द भन्छन्, “त्यस्तोमा हामी एड्मिनहरू सो लेखलाई उपयुक्त तरिकाले स्रोत थप्ने र सम्पादन गरी प्रकाशित गर्छौं ।” 

नेपाली सहित यहाँका १० भाषाका लागि उक्त समूह १० फरक सब-डोमेन तयार पार्ने प्रक्रियामा छ । नेपाली, मैथली, नेवारी, डोटेली, भोजपुरी, संस्कृत जस्ता भाषाका लागि छु्टाछुट्टै सब-डोमेन तयार भइरहेको छ भने गुरुङ, थारू, अवधी, लिम्बु, शेर्पा, शेषी खाम भाषाका लागि पेज तयार हुने प्रक्रियामा छन् । 

विकिपिडियाले समाजलाई के दिन्छ ? एडिट गरेर वा नयाँ पेज थप गरेर के पाइन्छ ?

विकिपिडियामा लेख राखेर प्रत्यक्ष रूपमा आम्दानी गर्न सकिंदैन । यदि कसैबाट रकम लिएर लेख राखिएको छ भने त्यो लेख एकपक्षीय हुन्छ र त्यस्तोमा एड्मिनले पेज नै डिलिट गरिदिन्छन् । त्यस्तै पैसा लिएर कुनै लेख लेखिएको छ भन्ने थाहा पाइएमा एड्मिनले एडिटर रिपोर्ट गरिदिन्छन् र विकिपिडिया फाउन्डेसनले सो अकाउन्टबाट कहिल्यै एडिट गर्न नसकिने गरी ब्लक गरिदिन्छ ।

त्यसोभए विकिपिडियामा लेखेर के पाइन्छ ? यो प्रश्नको जवाफ दिंदै सन् २०१४ देखि विकिपिडियामा एडिटर रहेका पंकज देव भन्छन्, “विकिपिडियामा लेख्नु भनेको मानिसलाई शिक्षित गराउनु हो । यसको मुख्य फाइदा नै त्यही हो । विकिपिडियाका पाठक संसारभर हुन्छन् । त्यसले तपाईंले लेखेका कुराहरू विश्वसामु पुर्‍याउन सघाउँछ । यस्तो साइटमा योगदान दिन सक्नु गौरवको विषय पनि हो ।”

आम्दानी नभए पनि आफ्नो धर्म, संस्कृति, भाषा, परम्परा र चालचलनका बारेमा विश्वभर जानकारी दिन सकिने पंकजको भनाई छ । यसैगरी सामान्य रूपमा एडिट गर्न थालेको छ भने प्रयोगकर्ताले विस्तारै पारदर्शिता कसरी कायम गर्ने, तथ्य जाँच कसरी गर्ने, कुनै पनि सूचना सही र सटीक छ वा छैन भन्ने कुरा छुट्याउन सक्छन् । यस्तो कला पछि गएर विभिन्न पत्रपत्रिका वा अनलाइन पत्रकारिता गर्दा काम लाग्छ । “यसले आन्तरिक र बाह्य रूपमा सञ्जाल बनाउन पनि सघाउँछ,” उनी भन्छन्, “विभिन्न भाषा, धर्म, संस्कृति, जातजाति, परम्परा भएका मानिसहरूमाझ आफू परिचित हुन सकिन्छ । नयाँ कुराका बारेमा सिक्न पाइन्छ ।” 

त्यस्तै प्रयोगकर्ता निःस्वार्थ भावले विकिपिडियामा सक्रिय छ भने विकिपिडियाले विश्वव्यापी रूपमा आयोजना गर्ने गोष्ठीमा सहभागी हुने मौका पनि दिन्छ । देव भन्छन्, “विकिपिडियामा आवद्ध भइसकेपछि म आफै पनि विभिन्न गोष्ठीहरूमा सहभागी हुन पाएको छु । सीमित एडिटरलाई बोलाइने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाएको छु । देशभित्रै पनि आफ्नो भाषा, धर्म, परम्परा र ठाउँलाई प्रेम गर्ने मानिसहरू एक ठाउँमा भेला भएर एक अर्काका कुरा सुन्छौं । यसले आपसी भाइचाराको सम्बन्ध स्थापित गर्न सघाएको छ ।” 

कन्ट्रिब्युट गर्दै गएमा स्थानीय व्यवस्थापकको जिम्मेवारी अर्थात एड्मिन बन्ने अवसर आउँछ । त्यसो त हरेक भाषाका विकिपिडिया समुदायले एड्मिन बन्नसक्ने मापदण्द तोकिदिएका हुन्छन् । न्यूनतम छ महिनाको अनुभव र एक हजारभन्दा बढी एडिट गरेको छ भने उक्त व्यक्ति एड्मिन बन्नका लागि योग्य ठहरिन्छ । त्यसबाहेक एड्मिन हुनका लागि अन्य थुप्रै मापदण्द पनि छन् । यदि सबै मापदण्द पूरा गरेको छ भने यहाँ क्लिक गरेर एड्मिनका लागि निवेदन दिन सकिन्छ । सबै मापदण्द पूरा गरेको छ भने व्यवस्थापकहरूले विभिन्न प्रक्रिया अपनाएर एड्मिन निुयुक्ति गर्छन् । यसरी विकिपिडियामा योगदान दिंदै जाँदा एड्मिन बन्ने अवसर आउने आनन्द सुनाउँछन् । 

कुनै पनि समुदायमा जातीय र धार्मिक दङ्गा हुनु नौलो कुरा होइन । यस्तोमा विकिपिडियामा ‘एडिटिङ वार’ (Editing War) अर्थात् सम्पादन युद्ध चल्छ । आफ्नो विपक्षी समुदायका बारेमा अनर्गल लेख लेख्ने, डेटा बिगारिदिने, अनावश्यक कुराहरू थप्ने हुन्छ । यस्तोमा कतै न कतै विकिपिडिया खुल्ला स्रोत हुनु वा सबैले सम्पादन गर्ने सक्ने हुँदा यसको कारणले समाजमा दङ्गा निम्तिन सक्छ भन्ने हुन्छ । यसलाई प्रस्ट पार्दै पंकज भन्छन्, “विकिपिडिया जोसुकैले पनि एडिट गर्न सक्ने प्लेटफर्म हो । कतिपय अवस्थामा आपराधिक लाभका लागि एडिट भइरहेको हुन्छ । यस्तोमा एड्मिनलाई त्यस्तो परिवर्तनको बारेमा सूचना जान्छ । अनि अनावश्यक छ भने पहिलेकै अवस्थामा राख्ने र दुवै तर्फबाट एडिट भइरहेको छ भने केही समयका लागि पेज लक गरिन्छ ।”

यसरी समाजिक भाइचारा, सद्भाव कायम राख्दै विकिपिडिया सञ्चालन भइरहने उनको ठहर छ । समाजका राम्रा विषय विश्वभर प्रचार गर्न सकिने भएकाले विकिपिडियाले समाज र सामाजिक तत्त्वलाई प्रवर्द्धन गरेर सघाइरहेको हुन्छ । 

प्रायः जानकारीका लागि विकिपिडियाको पेज नै शीर्ष स्थानमा किन आउँछ ?

प्रायः जानकारीका लागि विकिपिडियाको पेज शीर्ष स्थानमा आउनुका पछाडि विभिन्न कारणहरू छन् । एक त विकिपिडिया इन्टरनेटमा आएको सबैभन्दा पुरानो प्लेटफर्ममध्ये एक हो । सुरुवाती समयमा एउटै प्लेटफर्ममा अपडेटेड (अद्यावधिक) जानकारी पाउने भएपछि यो मानिसहरूको रोजाइमा पर्न थाल्यो ।

आफैंले राखेका जानकारी संसारभरका इन्टरनेट प्रयोगकर्ताले देख्न पाउने भएपछि स्वयंसेवकका रूपमा योगदान दिनेहरू पनि बढ्दै गए । निजी स्रोत साधनबाट सञ्चालनमा आएका प्लेटफर्मले विविध विषयमा जानकारी दिन सकेनन् । त्यसैले सुरुवाती समयमा विकिपिडिया शीर्ष स्थानमा रहँदै आयो । त्यसमा विभिन्न सर्च इन्जिन टुलको एल्गोरिदमले वेबसाइटको लोकप्रियताको आधारमा त्यसको पेजलाई सर्च रिजल्टको शीर्ष स्थानमा देखाउने गर्छ । 

अन पेज अप्टिमाइजेसन, अफ पेज अप्टिमाइजेसन, आउटलिङ्क, इन्टर्नल ब्याकलिङ्क, की फ्रेज फोकस, अल्टरनेटिभ टेक्स्ट जस्ता प्राविधिक विषयका साथै लेखमा विस्तृत विश्वसनीय स्रोत राखेको छ भने सर्च इन्जिनले सो वेबसाइट सिफारिस गर्छ ।

विकिपिडियाले सुरुवाती दिनदेखि नै यी कुरालाई प्राथमिकता दिंदै आएको हो । अहिले पनि स्रोत बिनाको अपूर्ण लेख छ भने विकिपिडियामा पब्लिश नै हुँदैन । तसर्थ आधारभूत तहदेखि नै हरेक विषयका विस्तृत जानकारी समेट्ने भएकाले विकिपिडिया सर्वाधिक बढी भिजिट हुने वेबसाइट मध्ये एक भएको हो । 

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० २२:१२