काठमाडौं । अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा आर्टिफिसियल अर्थात् कृत्रिम वर्षा कुनै नयाँ शब्दावली होइन । बाढी, खडेरी, लु, तुफान, डँढेलो जस्ता स्थितिलाई आकाशबाटै नियन्त्रण गर्ने विकल्पको खोजीको रूपमा कृत्रिम वर्षाको चर्चा हुने गर्छ ।
आज हामी यहाँ कृत्रिम वर्षा के हो, कसरी गराइन्छ, कुन अवस्थामा यसको आवश्यकता पर्छ, विश्वमा कुन कुन देशले यसको प्रयोग गरिसकेका छन्, आदि बारे चर्चा गर्दै छौं ।
के हो कृत्रिम वर्षा ?
जब वायुमण्डलमा प्राकृतिक रूपबाट बनेको बादलले आफैं वर्षा गराउँछ भने त्यसलाई नेचुरल अर्थात् प्राकृतिक वर्षा भनिन्छ । तर कतिपय पटक यस्तो हुन्छ कि बादल बने पनि त्यसभित्रको केही अपूर्ण प्रक्रियाका कारण वर्षा गराउन सक्दैन ।
अथवा वर्षात भ पनि केवल बादलसम्ममै सीमित भइदिन्छ, धर्तीसम्म पुग्न सक्दैन । यस्तोमा एउटा विशेष प्रविधिको माध्यमबाट बादलमा वर्षातको बीउ राखेर वर्षा गराइन्छ । जसलाई कृत्रिम वर्षा भन्ने गरिन्छ । यो प्रविधिको नाम हो क्लाउड सिडिङ ।
के हो क्लाउड सिडिङ प्रविधि ?
क्लाउड सिडिङ दुई शब्द क्लाउड र सिडिङ मिलेर बनेको छ । क्लाउडको अर्थ हो बादल अनि सिडिङको अर्थ हो बीउ रोप्ने काम ।
सुन्दा अनौठो लाग्न सक्छ, तर सामान्य शब्दमा भन्ने हो भने बादलमा वर्षाको बीउ रोप्ने प्रक्रियालाई नै क्लाउड सिडिङ भन्ने गरिन्छ । ध्यान दिने कुरा के छ भने बीऊको रूपमा सिल्भर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइड जस्ता पदार्थको प्रयोग गरिन्छ ।
यी पदार्थलाई एयरक्राफ्ट अर्थात् हवाई यान जस्ता साधनको सहयोगमा बादलमा छर्ने गरिन्छ । यी पदार्थले बादलमा रहेका पानीका थोपालाई जमाइदिन्छन् ।
त्यसपछि बरफका टुक्रा अन्य टुक्रासँग टासिन्छन् र बरफका गुच्छा बन्न पुग्छन् अनि ती बरफका गुच्छा जमिनमा झर्छन् । क्लाउड सिडिङको लामो इतिहास छ ।
अमेरिकी वैज्ञानिक विन्सेन्ट जे शेफरले क्लाउड सिडिङको आविष्कार गरेका थिए । यसको सुरुवात खोज्दै जाँदा सन् १९४० को दशकसम्म पुग्नु पर्ने हुन्छ ।
खासगरी उक्त दौरान अमेरिकामा यसमाथि काम भएको थियो । जहाँ कुनै पनि बादल छैन, त्यहाँ क्लाउड सिडिङ गराउन सकिन्न ।
त्यसैले सबैभन्दा पहिला कृत्रिम वर्षा गराउन खोजिएको स्थानमा बादल छ कि छैन भन्ने विषय हेरिन्छ । यदि बादल छ भने कति उचाईमा छ र त्यस वरपरको वातावरणीय अवस्था के छ भन्ने कुरा पनि विचार गरिन्छ ।
त्यसपछि पूर्वानुमानको सहयोगमा वा मापन गरेर बादलमा कति पानी छ भन्ने पत्ता लगाइन्छ । त्यसपश्चात् बादलमा उपयुक्त स्थानमा एक विशेष प्रकारको केमिकल (साल्ट वा साल्टको मिश्रण) राखिन्छ ।
उक्त केमिकलले बादलको माइक्रोफिजिकल प्रक्रिया (अर्थात् वर्षाको कण तथा बरफ) लाई तीव्र पारिदिन्छ । यसपछि वर्षाको रूपमा त्यो जमिनमा खस्छ ।
बादललाई इलेक्ट्रिक शक दिने एउटा अर्को विधि पनि छ । जसको प्रयोगबाट समेत वर्षा गराउन सकिन्छ । यो प्रक्रियामा ड्रोन प्रविधिको सहयोगमा बादलमा विद्युतीय झड्का दिइन्छ ।
कृत्रिम वर्षाको आवश्यकता
साधारणतया सुक्खा तथा बाढीको अवस्थासँग जुध्नका लागि कृत्रिम वर्षा गराइन्छ । यस बाहेक जङ्गलमा भीषण आगलागी हुँदा, असहनीय गर्मी वा लु, तुफान तथा प्रदूषण कम गर्नका लागि पनि यसको प्रयोग गरिन्छ ।
इजरायल नियमित रूपमा कृत्रिम वर्षा गराउँछ, किन कि त्यहाँ प्राकृतिक वर्षा निकै कम हुन्छ । आजको समयमा संयुक्त अरब इमिरेट्स (यूएई) समेत अनुसन्धान कार्यक्रम तथा अपरेसनल प्रोग्राममा कृत्रिम वर्षा गराउँछ ।
सबैभन्दा पहिला कहिले प्रयोगमा आएको थियो ?
हालको समयमा कतिपय देशले यसको प्रयोग गर्छन् । सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको मौसमसँग सम्बन्धित सङ्गठनले ५० भन्दा बढी देशले हालसम्म क्लाउड सिडिङ गराइसकेको जनाएको थियो ।
जसमा अस्ट्रेलिया, जापान, इथियोपिया, जिम्बाम्बे, चीन, अमेरिका र रुस समेत रहेका छन् । यहाँसम्म कि भारतले समेत यसको प्रयोग गरेको छ ।
प्रदूषणको मार झेलिरहेको चीन यसको अधिक प्रयोग गर्छ । सन् २००८ मा बेइजिङमा आयोजित ग्रीष्मकालीन ओलम्पिक खेल अघि चीनले पहिलो पटक क्लाउड सिडिङ प्रविधि प्रयोग गरेको थियो ।
त्यस्तै भारतले सन् १९८४ मा यसको पहिलो पटक प्रयोग गरेको थियो । त्यतिखेर तमिलनाडु भयङ्कर खडेरीको सामना गरिरहेको थियो ।
त्यसपछि तत्कालीन तमिलनाडु सरकारले १९८४-८७, १९९३-९४ को बीचमा क्लाउड सिडिङ प्रविधिको सहारा लिएको थियो । सन् २००३ र २००४ मा कर्नाटक सरकारले समेत क्लाउड सिडिङको प्रयोग गरेको थियो । सोही वर्ष महाराष्ट्र सरकारले समेत त्यसको सहयोग लिएको थियो ।