काठमाडौं । प्रयोगकर्ताले ब्राउजरमा भिडिओ ढिलो लोड हुने गुनासो गरेपछि गुगलको स्वामित्वमा रहेको युट्युबले उक्त समस्या एड ब्लकरका कारण आएको स्पष्ट पारेको छ । क्रोम, एज, फायरफक्स जस्ता ब्राउजरमा भिडिओ ढिलो लोड भएको गुनासो बढेपछि कम्पनीले एक विज्ञप्ति जारी गर्दै एड ब्लकरका कारण त्यस्तो समस्या आएको जानकारी दिएकाे हो ।
“एड ब्लकरहरू इन्स्टल गरेका प्रयोगकर्ताहरूले जुनसुकै ब्राउजर प्रयोग गरिरहेको भए पनि सबोप्टिमल भ्युइङ (भिडिओ नराम्रो क्वालिटीमा देखिने, कम रेजोलुसनमा भिडिओ प्ले हुने, भिडिओ ढिलो लोड हुने) अनुभव गरिरहेका हुन सक्छन्,” विज्ञप्तिमा युट्युबका प्रवक्ताले भनेका छन् ।
एड ब्लकरलाई कडा रूपमा नियन्त्रण गर्ने कम्पनीको रणनीति अन्तर्गत गुगलले यस्तो नीति अपनाएको विश्लेषकहरूले जनाएका छन् । कम्पनीले विज्ञप्तिमा पनि कन्टेन्ट क्रियटरलाई समर्थन गर्न र प्रयोगकर्ताको युट्युब अनुभवलाई बढावा दिन युट्युब प्रिमियमलाई प्राथमिकता दिइरहेको उल्लेख गरेको छ ।
यदि विज्ञापनरहित भिडिओ हेर्नु छ भने युट्युब प्रिमियमको सब्स्क्रिप्सन लिन कम्पनीले अनुरोध गरेको छ । यसो त युट्युबले प्रिमियम मोडेललाई बढवा दिनुलाई विश्लेषकले कम्पनी विज्ञापनभन्दा सब्स्क्रिप्सनमा केन्द्रित हुन खोजेको अनुमान गरेका छन् । यसो त गुगलले यही ब्राउजरमा मात्र भिडिओ ढिलो लोड भइरहेको छ भन्ने समस्या उल्लेख गरेको छैन ।
प्रयोगकर्ताले भने अन्य ब्राउजरमा स्लो भए पनि क्रोममा भने उही गतिमा भिडिओ लोड भइरहेको उल्लेख गरेका छन् । कतिपय प्रयोगकर्ताले एड ब्लकर एक्सटेन्सन प्रयोग नगरे पनि क्रोम बाहेक अन्य ब्राउजरमा भिडिओ ढिलो लोड भइरहेको गुनासो गरेका छन् । यसको अर्थ गुगलले एड ब्लकर प्रयोग गर्ने अकाउन्टलाई मार्क गरेर अन्य ब्राउजरमा भिडिओ हेर्दा पनि ढिलो लोड हुने बनाएको हुनसक्ने एन्ड्रोइड अथाेरिटीले जनाएको छ ।