close

वास्तवमा युट्युबमा भिडिओ हेर्दा कति डेटा खपत हुन्छ ?

टेकपाना टेकपाना

मंसिर १२, २०८० ११:१८

वास्तवमा युट्युबमा भिडिओ हेर्दा कति डेटा खपत हुन्छ ?

काठमाडौं । तपाईंले वाई-फाई प्रयोग गर्नुभएको छ वा अनलिमिटेड डेटा प्लान खरिद गर्नुभएको छ भने तपाईंलाई आफूले कति डेटा खपत गरेँ भन्ने ख्याल हुँदैन । तर, सीमित (लिमिटेड) डेटा खरिद गर्दा भने पक्कै ध्यान दिनुहुन्छ ।

नेपालका सन्दर्भमा टिकटक, फेसबुक, युट्युबजस्ता प्लेटफर्मले प्रयोगकर्ताको बढीभन्दा बढी डेटा खपत गरिरहेका छन् । त्यसमा पनि सीमित डेटा खरिद गरेर युट्युबमा भिडिओ हेर्नु भएको छ भने त्यसले आवश्यक वा अनावश्यक रूपमा कति डेटा खपत भइरहेको छ, त्यो मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

त्यसोभए युट्युबले हाम्रो कति डेटा खपत गर्छ होला त ? अनि युट्युबले खपत गर्ने डेटा कसरी मापन गर्न सकिन्छ ? युट्युबमा अनावश्यक डेटा खपत भइरहेको छ भने त्यसलाई कसरी कम गर्ने ? आज हामी त्यही विषयमा चर्चा गर्दैछौं ।

के युट्युबले डेटा प्रयोग गर्छ त ?

हो, युट्युबले मोबाइल डेटा प्रयोग गर्छ । कल गर्दा वा एसएसएम गर्दा बाहेक प्रायः अधिकांश काम गर्दा स्मार्टफोनले डेटा खपत गरेको हुन्छ । तर, त्यतिबेला तपाईंको फोन वाई-फाईमा कनेक्ट भएको हुनुहुँदैन । 

मेसेजिङ एप ह्वाट्सएप प्रयोग गर्दा, सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गर्दा, स्पोटिफाईमा म्युजिक स्ट्रिमिङ गर्दा र भिडिओ हेर्दा औसत प्रयोगकर्ताको फोनले डेटा खपत गरेको हुन्छ । त्यसैले धेरैका लागि ‘डेटा युसेज’ (Data Usage) कम गर्नु निकै महत्त्वपूर्ण विषय बनेको छ । 

यदि तपाईंको डिभाइस वाई-फाईमा कनेक्ट छ भने तपाईंले निर्वाध रूपमा डेटा प्रयोग नगरी युट्युब भिडिओ हेर्न सक्नुहुन्छ । तर, त्यसबाहेक मोबाइल डेटा खोल्नु भएको छ भने युट्युबले तपाईंको डेटा खपत गरेको हुन्छ । 

युट्युबले किन त्यतिका डेटा प्रयोग गर्छ ? 

यसको उत्तर सजिलो छ । भिडिओ ट्रान्समिट गरेर तपाईंसम्म पुर्‍याउने प्रक्रिया 'हेभी अपरेसन' हो । भिडिओ हजारौं पिक्सेलको संयोजनबाट बनेको हुन्छ, जो हरेक सेकेन्ड बदलिरहेका हुन्छन् । यसको अर्थ, त्यहाँ धेरै जानकारी छन्, जुन तपाईंको डिभाइसमा पुग्न इन्टरनेटमार्फत जानुपर्ने हुन्छ । 

इन्टरनेटबाट फोटो डाउनलोड गर्नु वा स्ट्रिमिङ अडियोको तुलनामा भिडिओ निकै जटिल हुन्छ । त्यसैले भिडिओले बढी डेटा खपत गरेको हुन्छ । यो युट्युबमा मात्र लागू हुन्छ भन्ने छैन, अन्य भिडिओ स्ट्रिमिङ प्लेटफर्मले पनि उत्तिकै डेटा खपत गरिरहेका हुन्छन् । 

त्यसोभए युट्युबले कति डेटा खपत गर्छ त ?

युट्युबले कति डेटा खपत गर्छ भन्ने विषय तपाईंले भिडिओ कुन क्वालिटीमा हेर्नुहुन्छ भन्नेले निर्धारण गर्छ । अधिकांश मोबाइल एपले विभिन्न क्वालिटीमा भिडिओ हेर्ने सुविधा दिएका हुन्छन् ।

विशेषगरी युट्युब मोबाइल एपमा १४४ पीदेखि २१६० पी (फोरके क्वालिटी)सम्मका भिडिओ सपोर्ट हुन्छ । तर फोरके भिडिओका सन्दर्भमा पनि उक्त क्वालिटी सपोर्ट गर्ने फोन हुनुपर्छ । 

युट्युबले खपत गर्ने डेटा फोनमा विभिन्न पक्षमा निर्भर हुने भएकाले यति नै डेटा खपत हुन्छ भन्न सकिने अवस्था छैन । यद्यपि हामी औसतमा कति पिक्सेलले कति डेटा खपत गर्छ भन्ने हिसाब गर्न सक्छौं । यसको परिणाम सधैं उही नआउन सक्छ । 

युट्युबको स्ट्रिमिङ हेल्प पेजमा स्ट्रिमिङ क्वालिटी अप्सनका लागि कति बाइरेट्स (Birates) को भिडिओ राख्ने भन्ने सूचना राखेको छ । त्यसैलाई आधार बनाएर भिडिओले कुन क्वालिटीमा कति डेटा खपत गर्छ भन्ने हिसाब गरिएको छ । 

४८० पी भिडिओ (स्टान्डर्ड क्वालिटी)का लागि युट्युबले ५०० देखि २००० केबीपीएस बाइरेट सुझाव दिएको छ । यहाँ यी दुई पिक्सेलको औसत १२५० केबीपीएसलाई आधार मानौं । 

१२५० केबीपीएस (किलोबिट्स पर सेकेन्ड) लाई १००० ले भागा गर्ने हो भने १.२५ एमबीपीएस (मेगाबिट्स पर सेकेन्ड) हुन आउँछ । एक बाइट (byte)मा ८ बिट्स (bits) हुने भएकाले, १.२५ एमबीपीएसलाई ८ ले भाग गर्दा ०.१५६ मेगाबाइट प्रति सेकेन्ड आउँछ । यो सङ्ख्यालाई ६० सेकेन्डले गुणान गर्दा ४८० पी भिडिओले प्रति मिनेट युट्युबमा ९.३७५ एमबी डेटा खपत गर्छ । 

यदि तपाईंले सोही भिडिओ एक घण्टासम्म हेर्नुभयो भने त्यसले ९.३७५ एमबी*६० मिनेट= ५६२.५ एमबी डेटा खपत गर्ने देखिन्छ । 

यही प्रक्रियाले अन्य क्वालिटीमा भिडिओको हिसाब गर्दा त्यसले कति डेटा खपत गर्छ भन्ने विषय तल उल्लेख गरिएको छ । 

याद गर्नुहोस् ७५० पी वा त्यसभन्दा माथिका भिडिओले ३० एफपीएस नभई ६० एफपीएस (फ्रेम पर सेकेन्ड) सपोर्ट गर्छन् । जति धेरै एफपीएस भयो भिडिओ त्यति नै स्मुथ हुन्छ । र, त्यसले तपाईंले अपेक्षा गरेकोभन्दा बढी डेटा खपत गर्छ ।

युट्युबले एचडीआर भिडिओ पनि सपोर्ट गर्छ । यस्तो भिडिओले अतिरिक्त डेटा खपत गरेको हुन्छ । यी सबै किसिमका भिडिओको हिसाब गर्ने हो भने हिसाब निकै लामो हुन्छ । सीमित डेटा खरिद गरेर भिडिओ हेर्दा क्वालिटीभन्दा पनि कन्टेन्टको महत्त्व बढी हुन्छ । त्यसैले औसत क्वालिटीका भिडिओले खपत गर्ने डेटाको चर्चा गरिएको छ । 

- १४४ पीः युट्युबले बाइरेट उपलब्ध गराएको छैन । 

- २५० पीः २२५ एमबी प्रति घण्टा ।

- ३६० पीः ३१५ एमबी प्रति घण्टा ।

- ४८० पीः ५६२.५ एमबी प्रति घण्टा ।

- ७२० एफपीएस @३० एफपीएसः १२३७.५ एमबी प्रति घण्टा ।

- ७२० पी @६० एफपीएसः १८५६.२५ एमबी प्रति घण्टा ।

- १०८० पी @३० एफपीएसः २.०३ जीबी प्रति घण्टा । 

- १०८० पी @६० एफपीएसः ३.०४ जीबी प्रति घण्टा । 

- १४४० पी (टुके) @३० एफपीएसः ४.२८ जीबी प्रति घण्टा ।

- १४४० पी (टुके) @६० एफपीएसः ६.०८ जीबी प्रति घण्टा ।

- २१६० पी (फोरके) @३० एफपीएसः १०.५८ जीबी प्रति घण्टा ।

- २१६० पी (फोरके) @६० एफपीएसः १५.९८ जीबी प्रति घण्टा ।

सामान्यतः ४८० पीलाई ‘स्टान्डर्ड डेफिनेसन’ (एसडी) मानिन्छ । १०८० पीलाई भने ‘फुल एचडी’ क्वालिटी मानिन्छ । र, अधिकांश युट्युब च्यानलले यही क्वालिटीको भिडिओ अपलोड गर्छन् ।

पछिल्लो समय केही च्यानलबाट फोरके क्वालिटीका भिडिओ पनि प्राथमिकता साथ प्रसारण हुन थालेका छन् । यदि तपाईं आफ्नो डेटा बचाउन चाहनु हुन्छ भने ३६० पीका भिडिओ तपाईंका लागि उपयुक्त हुन्छन् । यदि तपाईंका लागि भिडिओको क्वालिटीले खासै फरक पारेन भने त्यसभन्दा पनि कम क्वालिटीमा भिडिओ हेर्न सक्नुहुन्छ । 

युट्यबले डेटा खपत गरेको कसरी ट्रयाक गर्ने ? 

यदि तपाईं युट्युबले कति डेटा खपत गरेको छ भन्ने हेर्न चाहनु हुन्छ भने एन्ड्रोइड र आईफोन दुवै किसिमका डिभाइसले सो डेटा उपलब्ध गराउँछन् । मोबाइलको सेटिङमा गएर ‘mobile data usage’ सर्च गरेर कुन एपले कति डेटा खपत गरेको छ भन्ने हेर्न सक्नुहुन्छ ।

त्यसबाहेक पनि वाई-फाई प्रयोग गर्दा कति डेटा खपत भएको छ भन्ने विवरण हेर्न सकिन्छ । कतिपय डिभाइसमा युट्युबको सेटिङमा गएर ‘नेटवर्क एन्ड इन्टरनेट’मा रहेको ‘मोबाइल नेटवर्क’को अप्सनबाट पनि सो एपले कति डेटा खपत गरेको छ भन्ने हेर्न सक्नुहुन्छ । 

तपाईंले डेटा सेभर मोड अन गरेर युट्युब प्रयोग गर्नुभएको छ भने पनि युट्युबले आफूले चाहेको जति डेटा खपत गरेको हुन्छ । त्यसो हुन नदिन तपाईंले सेटिङमा गएर ‘अनरेस्ट्रिक्टेड डेटा युसेज’ अफ गर्नुपर्ने हुन्छ । 

युट्युबले बढी डेटा खपत गरेको छ भने त्यसलाई कसरी कम गर्ने ?

तपाईंले पूर्ण रूपमा युट्युबले डेटा खपत गर्नै नपाउने बनाउन सक्नुहुन्छ । तर, युट्युबका भिडिओ हेरिरहन पर्ने भएकाले तपाईंले त्यसो गर्नुहुन्न । तर यस्ता अन्य तरिका पनि छन्, जसले गर्दा तपाईं कम डेटाबाट पनि युट्युब भिडिओ हेर्न सक्नुहुन्छ । 

युट्युबले बढी डेटा खपत गर्नबाट रोक्नका लागि तपाईंले सबैभन्दा पहिले गर्नुपर्ने काम भनेको कम रेजोलुसनमा भिडिओ हेर्नु हो । यदि भिडिओ हेरिरहनु भएको छ भने भिडिओको माथि दायाँपट्टि रहेको सेटिङको अप्सनमा जानुहोस् र क्वालिटीको अप्सनमा गएर अन्तिमको ‘एड्भान्स्ड’ अप्सनमा जानुहोस् । अनि आफूलाई उपयुक्त हुने रेजोलुसन छान्नुहोस् । 

तपाईंले युट्युबको मोबाइल एप खोल्ने बित्तिकै भिडिओहरू स्वतः चल्न थाल्छन् । यो अटो प्ले (Auto Play) सेटिङ अन गरेकाले भएको हो । यो सेटिङ अन हुँदा युट्युबले बढी डेटा खपत गरिरहेको हुन्छ । त्यसैले मोबाइल डेटाबाट युट्युब प्रयोग गर्नुहुन्छ भने यो अटो प्ले अप्सनको कुनै तुक छैन । त्यसैले सेटिङमा गएर ‘अटो प्ले’को अप्सन अफ गर्नुहोस् । 

त्यस्तै बारम्बार होम पेज रिफ्रेस गर्दा, सर्च गर्दा वा सब्स्क्राइब गर्दा बढी डेटा खपत भइरहेको हुन्छ । त्यस्तोमा तपाईंले डेटा बचत गर्न यी कार्य नगर्दा उपयुक्त हुन्छ । यसरी तपाईंले स-साना कुरालाई ध्यान दिएर डेटा युसेज कम गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० ११:४६