close

फ्लप भएपछि २०२३ मा बन्द भए एप्पलका यी उत्पादन

टेकपाना टेकपाना

मंसिर १३, २०८० १०:२२

फ्लप भएपछि २०२३ मा बन्द भए एप्पलका यी उत्पादन

काठमाडौं । २०२३ सकिन करिब एक महिना बाँकी छ । यो वर्ष बहुप्रतिष्ठित कम्पनी एप्पलले आफ्ना केही उत्पादनहरू अब उप्रान्त बजारमा नल्याउने घोषणा गरेको छ । आज हामी एप्पलले याे वर्ष कुन-कुन प्रडक्ट बन्द गर्‍यो भन्ने विषयमा चर्चा गर्दैछौं ।

एप्पलले यस वर्ष आईफोन १३ मिनि, १३-इन्च म्याकबुक प्रो, म्यागसेफ ब्याट्री प्याक, म्यागसेफ डुओ चार्जर र लेदरका केही एक्सेसरिजहरू बन्द गर्ने घोषणा गरेको छ । 

१) आईफोन मिनि

एप्पलले गत सेप्टेम्बरमा आईफोन १५ सिरिज सार्वजनिक गरेसँगै आईफोन १३ मिनिको उत्पादन बन्द गर्ने निर्णय गरेको थियो । नयाँ आईफोन मिनि बजारमा नपाइए पनि रिफर्बिश्ड फोन भने एप्पलको अनलाइन स्टोरबाट खरिद गर्न सकिन्छ । 

५.४ इन्च डिस्प्ले, स्लिम बेजल भएको आईफोन १३ मिनि सानो साइजको स्मार्टफोन रुचाउने प्रयोगकर्ताका लागि रुचाइएको फोन थिुयो । तर, मार्केट रिसर्च फर्मले सो मोडेल अन्य फोनको तुलनामा कम बिक्री भएको निष्कर्ष निकालेपछि एप्पलले सो फोनको उत्पादन बन्द गर्ने घोषणा गरेको थियो ।

गत वर्ष पनि एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गर्ने क्रममा आईफोन १४ मिनि मोडेल समावेश गरेको थिएन । तर, त्यसबेला कम्पनीले आईफोन १३ मिनिलाई कम मूल्यमा उपलब्ध गराएको थियो । 

अहिले एप्पलले बिक्री गर्ने सबैभन्दा सानो मोडेलको फोन हो, आईफोन एसई । यसमा ४.७ इन्च डिस्प्ले छ भने पुरानो डिजाइन, होम बटन र बाक्लो बेजल रहेको छ । अब आउने नयाँ आईफोन  एसईमा भने ६.१ इन्च डिस्प्ले हुने र्‍युमर फैलिएको छ ।

२) १३-इन्च म्याकबुक प्रो

एप्पलले २०२३ मा बन्द गरेको अर्को प्रडक्ट हो, १३ इन्च म्याकबुक प्रो । कम्पनीले हालै सम्पन्न गरेको ‘स्क्यारी फास्ट’ इभेन्टमा सो मोडेलको उत्पादन बन्द गरेको घोषणा गरेको थियो । यो ल्यापटपमा सात वर्ष पुरानो डिजाइन छ । त्यस्तै टच बार भएको यो नै एप्पलको अन्तिम म्याकबुक हो । 

यस मोडेललाई कम्पनीले १४ इन्चको म्याकबुक प्रोले विस्थापित गरेको छ, जसमा अहिलेकको शक्तिशाली एम थ्री चिपसेट समावेश छ ।

१३ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य १२९९ डलर (करिब एक लाख ७२ हजार रुपैयाँ) रहेको छ भने १४ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य १५९९ डलर (करिब दुई लाख १२ हजार रुपैयाँ) रहेको छ । 

१३ इन्च म्याकबुकको तुलनामा १४ इन्च म्याकबुक बढी स्तरीय भएको कम्पनीको दाबी छ । यसमा १२० हर्ज प्रो मोसन डिस्प्ले, १०८० पी क्यामेरा र अन्य पोर्ट रहेका छन् । 

३) म्यागसेफ ब्याट्री प्याक 

एप्पलले २०२३ मा म्यागसेफ ब्याट्री प्याक प्रडक्टको उत्पादन पनि बन्द गरेको छ । २०२१ मा सार्वजनिक भएको यो प्रडक्टको मूल्य ९९ डलर थियो । आईफोन १२ का लागि ल्याइएको यो प्याकको पछाडि ब्याट्री समावेश थियो, जसले फोनलाई अतिरिक्त ब्याट्री ब्याकअप दिन्थ्यो ।

आईफोन १५ मोडेलमा यूएसबी-सी पोर्ट भएको र ब्याट्री प्याकमा लाइटनिङ पोर्ट भएकाले उक्त ब्याट्री प्याक आवश्यक नहुने देखेपछि कम्पनीले सो प्रडक्ट बन्द गरेको हो । 

४) म्यागसेफ डुओ चार्जर 

एप्पलले आईफोन १५ सार्वजनिक गरेसँगै म्यागसेफ डुओ चार्जरको उत्पादन पनि बन्द भएको घोषणा गरेको थियो । २०२० मा सार्वजनिक भएको यो प्रडक्टको मूल्य १२९ डलर थियो ।

यसबाट प्रयोगकर्ताले आईफोन र एप्पल वाच चार्ज गर्न सक्थे । म्यागसेफ ब्याट्री प्याकजस्तै म्यागसेफ डुओ चार्जमा पनि लाइटनिङ पोर्ट थियो । 

५) लेदरको एक्सेसरिज 

एप्पलले गत सेप्टेम्बरदेखि नै आफूले उत्पादन गर्दै आएका लेदरका सामग्रीको बिक्री बन्द गरेको छ । विशेषगरी आईफोनका लागि लेदरको केस, म्यागसेफ वालेट, एप्पल वाच ब्यान्ड्स र अन्य एक्सेसरिज बन्द गरेको हो । \

यसको विकल्पमा कम्पनीले फाइन ओभन फ्याब्रिक मटेरियलले बनेको एक्सेसरिज सार्वजनिक गरेको थियो । लेदरको तुलनामा यो मटेरियलले कार्बन फुटप्रिन्ट कम गर्ने कम्पनीको विश्वास छ ।

यी सामग्रीसँगै कम्पनीले आईट्युन्स मोभी ट्रेलर एप, एप्पल म्युजिक भ्वाइस प्लान पनि बन्द गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० १०:३८