close

योग्य आईटी जनशक्ति तयार पार्न सरकार, उद्योग र शिक्षण संस्थाबीच सहकार्यमा जोड

टेकपाना टेकपाना

मंसिर १६, २०८० १२:३०

योग्य आईटी जनशक्ति तयार पार्न सरकार, उद्योग र शिक्षण संस्थाबीच सहकार्यमा जोड

काठमाडौं । शैक्षिक क्षेत्र र उद्योगबीचको अन्तर कम गर्न सरोकालवालबीच छलफल भएको छ । प्रेन्सिडेन्सियल बिजनेस स्कुलले शुक्रबार काठमाडौंमा आयोजना गरेको आईटी कन्क्लेभमा सरकार, शिक्षण संस्था तथा प्रविधि उद्याेगका प्रतिनिधिबीच अन्तर्क्रिया भएकाे हाे ।

छलफलमा भाग लिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले नेपालको आईटी शिक्षा साथै समग्र क्षेत्रलाई विकास गर्न सहयोग पुग्नेगरी विभिन्न कानूनी तथा नीतिगत पक्षमा काम गरिरहेकाे उल्लेख गरे ।

“नेपालको आईटी क्षेत्र विकास गर्न एआई, ब्लकचेन जस्ता नवीनतम प्रविधि साथै साइबर तथा डेटा सुरक्षासँग सम्बन्धित कानून ल्याउन छलफल गरिरहेका छौं । यसका लागि हामी मन्त्रालयमा नियमित रुपमा नै छलफलमा छाैं,” उनले भने । नेपाली आईटी जनशक्तिबारे भने मन्त्रालयको तर्फबाट अनुसन्धान नभएको स्वीकार्दै उनले आगामी दिनमा यी विषय पनि सम्बोधन गर्ने प्रतिबद्धता जनाए । 

त्यस्तै नेपाली आईटी शिक्षाको पाठ्यक्रम राम्रो भएको, तर विद्यार्थीलाई ‘सफ्ट स्किल’ सिकाउन पर्याप्त नभएको काठमाडौं विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङका डीन प्राडा. मनिष पोखरेलले उल्लेख गरे ।

“विद्यार्थी भर्ना हुँदा र उत्तीर्ण गर्दाको अवस्थामा परिवर्तन हुन्छ । यसकारण विश्वविद्यालय तथा कलेजले नयाँ वातावरणमा पनि सजिलै सिक्न गर्ने विद्यार्थीको क्षमता विकास गर्नुपर्छ,” उनले भने, “हामीले आईटी शिक्षाबारे आउने  गुनासा सुन्ने र तिनको समाधान गर्नुपर्छ । वास्तवमा यो अन्तर कम गर्न राज्यले प्रमुख भूमिका खेल्नु पर्छ ।”

प्रेन्सिडेन्सियलकी प्रिन्सिपल कल्पना गुरुङले विद्यार्थीलाई वास्तविक संसारबारे बुझाउन उद्योग आउनुपर्ने धारणा राखिन् । आफूले पढाएको एउटा विषयका लागि भारतीय कम्पनीसँग सहकार्य गरेको उदाहरण दिँदै उनले शैक्षिक क्षेत्र र उद्योगबीचको अन्तर कम गर्न त्यसले ठूलो भूमिका खेल्ने बताइन् ।

“विगतमा मेटाभर्सको विषयका लागि भारतीय कम्पनीसँग पनि सहकार्य गरेका छौं । कतिपय अवस्थामा नेपालका कम्पनीहरू उपस्थित हुन नसक्दा त्यसाे गर्न परेको थियो,” उनले भनिन्, “तर शैक्षिक र उद्योग क्षेत्रबीच अन्तर कम गर्न यी दुईबीच सहकार्य हुन आवश्यक छ ।”

यता नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (न्यास आईटी)का अध्यक्ष रिचन श्रेष्ठले भने कलेजहरू एक्लाएक्लै आउँदा शैक्षिक र उद्योग क्षेत्रबीचको आउँदा अन्तर कम गर्न समस्या भएको तर्क गरे । नेपालको आईटी उद्योग सानो भएकाले सबै शैक्षिक संस्थामा पुग्न नसक्ने भएकाले कलेजहरू पनि न्यासआईटी जस्तै संगठित भएर उद्योगसँग सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

सूचना प्रविधि क्षेत्रमा भएका प्रगति तथा चुनौतीहरूबारे छलफल गर्न गरिएको आईटी कन्क्लेभमा शैक्षिक क्षेत्र र उद्योगको अन्तर, नेपाली आईटी क्षेत्रको विकास गर्न सरकारको भूमिका लगायतका विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो ।

यसबाहेक प्रविधिमैत्री सिकाइको नयाँ तरिका, नेपालको आईटीमा आउटसोर्सिङको भूमिका, नेपालको डिजिटल भविष्यलाई आकार दिन आईटीका नवीनतम प्रवृत्तिको पहिचान लगायतका विषयमा प्यानल छलफल भएको थियो । कार्यक्रममा आईटी उद्योग, शिक्षा क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १५:३६