close

युट्युबर विवेक बिन्द्रा र सन्दीप महेश्वरीबीच जुहारी, के हो कारण ?

टेकपाना टेकपाना

पुस ५, २०८० १३:४

युट्युबर विवेक बिन्द्रा र सन्दीप महेश्वरीबीच जुहारी, के हो कारण ?

काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा भारतका दुई चर्चित युट्युबरबीचको विवादले तहल्का मच्चिएको छ । युट्युबमा दुई करोड ८० लाख बढी सब्स्क्राइबर भएका सन्दीप महेश्वरी र दुई करोड १० लाख बढी सब्स्क्राइबर भएका विवेक बिन्द्राबीच एक भिडिओका कारण विवाद उत्पन्न भएको हो । यही विवादले गर्दा अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा 'ह्याशट्याग नो विवेक बिन्द्रा' (#NoVivekBindra) ट्रेन्डिङमा छ ।

कुनै समय एउटै स्टेजमा रहेर आफ्ना धारणा बाँडेका यी दुई युट्युबरबीच किन विवाद भयो ? आज हामी यही विषयमा चर्चा गर्दैछौं, जसको प्रभाव नेपालमा पनि उत्तिकै छ ।

सन्दीप महेश्वरीले ११ डिसेम्बर २०२३ मा 'बिग स्क्याम एक्सपोज्ड' शीर्षकको भिडिओ अपलोड गरेका थिए । यो भिडिओ विशेषगरी बिजनेस कोर्सका नाममा गरिने नेटवर्किङ बिजनेससम्बन्धी थियो । उक्त भिडिओमा बोल्ने एक व्यक्तिले आफू भारतका ठूलो युट्युबरले सञ्चालन गरेको बिजनेस कोर्समा ५० हजार रुपैयाँ तिरेर आवद्ध भएको, तर त्यसबाट कुनै आम्दानी नै नभएको अनुभव सुनाएका थिए ।

त्यस्तै अर्का एक व्यक्तिले पनि बिजनेस कोचले भनेअनुसार उनको क्लासमा आवद्ध हुन ३५ हजार तिरेको र त्यसबाट कुनै उपलब्धि नभएको बताएका थिए । उही बिजनेस कोर्समा कसैले ५० हजार, अनि कसैले ३५ हजार किन तिर्नुपरेको भन्ने प्रश्नमा ती सहभागीले भनेका छन्, "त्यहाँ हरेक कोर्सको लेभल हुन्छ । त्यही अनुसार फरक-फरक लेभलको फरक-फरक मूल्य हुन्छ । त्यहाँ १० लाख रुपैयाँसम्मका कोर्स छन् ।"

यति भनेपछि महेश्वरीले उक्त कोर्स स्क्याम हो भन्नका लागि विभिन्न दाबी प्रस्तुत गरेका छन् । कुनै व्यक्तिलाई आवश्यक नै नभएको कोर्स बिजनेसका नाममा बिक्री गर्नु स्क्याम भएको उनको ठहर छ । सो भिडिओ प्रत्यक्ष रूपमा विवेक बिन्द्रामा केन्द्रित भएको नदेखिए पनि अप्रत्यक्ष रूपमा उनलाई लक्षित गरी तयार पारिएको हो भन्ने अनुमान लगाउन सकिन्छ ।

महेश्वरीले उक्त भिडिओ अपलोड गरिसकेपछि भिडिओ डिलिट गर्न दबाब आएको भन्दै एक साताअघि कम्युनिटीमा पोस्ट राखेका थिए । "मेरो पछिल्लो भिडिओ युट्युबबाट हटाउन मेरो टिमलाई धेरै दबाब दिइएको छ," उनले पोस्टमा लेखेका छन्, "हामी कुनै पनि परिस्थितिमा यो भिडिओ डिलिट गर्ने छैनौं, त्यसमा हामी स्पष्ट छौं ।

उनले अगाडि भनेका छन्, "वास्तवमा, भिडियोमा यो स्क्यामको पर्दाफास गर्ने व्यक्तिलाई आफ्नो बोली फेर्नका लागि थुप्रै कलहरू आइरहेका छन् । जसको कल रेकर्ड हामीसँग छ ।" यो पहल समाजका लागि लिएकाले आफ्नो भनाइमा अडिग रहने उनले उल्लेख गरेका छन् ।

त्यसलगत्तै अर्को पोस्ट राख्दै महेश्वरीले भनेका छन्, "मेरो प्यारो विवेक, एकातर्फ तिमीले मेरो टिम विरुद्ध कानूनी लडाईं लड्ने धम्की दिइरहेका छौं । अर्कोतर्फ तिमीले मेरो घरमा आफ्ना कर्मचारीलाई बारम्बार पठाइरहेका छौ । तिमीलाई म तिम्रो धम्कीबाट डराउँछु जस्तो लाग्छ ?"

आफूले केही गलत नगरेकाले कसैको डर वा धम्कीमा नपर्ने महेश्वरीको अडान छ । अब विवेक बिन्द्रा र उनको 'बडा बिजनेस'को बारेमा झनै खुलेर आफ्ना धारणा राख्ने महेश्वरीले उल्लेख गरेका छन् । त्यसपछि उनले बिन्द्राको 'बडा बिजनेस' कसरी स्क्याम हो भन्ने विषयमा एक कम्युनिटी पोस्ट राखेका छन् ।

जसमा लेखिएको छ, "जसलाई काइँयो (अथवा कोर्स) आवश्यक परेको छ, त्यसलाई काइँयो बेच्नु कुनै स्क्याम होइन । यो एक बिजनेस हो । तर कपालै नभएको व्यक्तिलाई ५० रुपैयाँको काइँयो ५० हजारमा एक महिनामा कपालै उमारिदिन्छ भन्ने दाबी गरेर बेच्नु स्क्याम हो । यदि कसैले मलाई यो काइँयो चाहिंदैन भनेर पैसा फिर्ता मागेको छ, तर पैसा फिर्ता दिइएन भने त्यो पनि स्क्याम हो । र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही काइँयो अर्को कसैलाई जबरजस्ती बेच भन्नु पनि स्क्याम नै हो ।"

यसरी बडा बिजनेसको नाममा बिन्द्राले लाखौं व्यक्तिलाई ठगीरहेको महेश्वरीको आरोप छ ।

त्यसलगत्तै १६ डिसेम्बर २०२३ मा सन्दीप महेश्वरीले युट्युबमा 'स्टप स्क्याम बिजनेस' शीर्षकको भिडिओ अपलोड गरेका थिए । सो भिडिओमा उनले विवेक बिन्द्राले आफ्नो नामको अगाडि झुन्ड्याएको डा. पनि दुई/ढाई लाखमा श्रीलङ्काबाट खरिद गरेको दाबी गरिएकाे छ । त्यस्तै बिन्द्राले १० दिनमा एमबीए कोर्स सिकाउने दाबी गरेको पनि स्क्याम भएको तर्क गरिएकाे छ ।

सो भिडिओको प्रतिक्रियाका रूपमा विवेक बिन्द्राले १८ डिसेम्बर २०२३ मा झन्डै दुई घण्टाको लाइभ भिडिओ अपलोड गरेका छन् । उक्त भिडिओमा उनले भनेका छन्, "हाम्रो अडिट भारतका ठूला कम्पनीहरूको अडिट गर्ने अडिटरले गर्छ । जबरजस्ती बेच्दैनौं, त्यसका लागि हामीसँग क्वालिटी अफ सेल्स छ ।

कुनै व्यक्तिले कोर्स खरिद गरिसकेपछि हाम्रो टिमबाट कल जान्छ । त्यहाँ उनीहरूलाई कोर्स किन खरिद गर्नुभयो, खरिद गर्न कसैले प्रेरित गर्‍यो वा आफैंले बुझेर खरिद गर्नुभयो लगायतका कुराहरू बुझ्छौं । यदि कसैले नबुझेरै खरिद गरेको छ भने तत्कालै पैसा फिर्ता गरिदिन्छौं ।"​

बिन्द्राले पनि सन्दीप महेश्वरीले लाइफ कोचका नाममा कति रकम लिन्छन् र ठगी गर्छन् भन्नेबारे सोही भिडिओमा आफ्नो धारणा राखेका छन् । त्यस्तै सन्दीपले एकपक्षीय कुरा मात्र राखेको, तर आफ्नो विचार राख्न नदिएको बिन्द्राको आरोप छ ।

बिन्द्राले सो भिडिओ निकालेपछि महेश्वरीले २० डिसेम्बर २०२३ मा 'नो विवेक बिन्द्रा' शीर्षकको भिडिओ अपलोड गरेका छन्, जसमा बिन्द्राले गरेको काम कसरी कानूनी रूपमा स्क्याम हो भन्ने खुलाइएकाे छ । त्यस्तै जोकोही विवेक बिन्द्राबाट ठगिएका छन् उनीहरूलाई विभिन्न सरकारी निकायमा उजुरी गर्न र आफूलाई पनि ईमेल पठाउन अनुरोध गरेका छन् । यसका लागि लाग्ने कानूनी शुल्कका लागि भएसम्म आफूले रकम सङ्कलन गर्ने नभए युट्युबमा विज्ञापन सञ्चालन गर्ने उनले आश्वासन दिएका छन् ।

उक्त भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालका विभिन्न माध्यममा #NoVivekBindra राखेर पोस्ट, कमेन्ट र रिप्लाई गर्नेहरू बढेका छन् ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० १४:५४