close

अमेरिकी स्टक एक्सजेन्समा सूचीकृत हुँदै फ्युज मसिन, ६ महिनाभित्र पब्लिक कम्पनी बन्ने

टेकपाना टेकपाना

माघ १०, २०८० ११:२७

अमेरिकी स्टक एक्सजेन्समा सूचीकृत हुँदै फ्युज मसिन, ६ महिनाभित्र पब्लिक कम्पनी बन्ने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका वैज्ञानिक डा. समीर मास्केको कम्पनी फ्युज मसिन इंक अमेरिकी इलेक्ट्रोनिक स्टक एक्सचेन्ज नास्डकमा सूचीकृत हुने भएको छ ।

सन् २०१३ मा संयुक्त राज्य अमेरिकास्थित न्यू योर्कमा स्थापना भई हाल नेपाल, क्यानडा, ल्याटिन अमेरिका, डोमिनिकन रिपब्लिक लगायतका मुलुकमा विस्तार भएको यो कम्पनीले नास्डकमा सूचीकृत हुने लक्ष्यसहित हालै सीएसएलएम एक्विजिसन कर्पसँग मर्जर सम्झौता गरेको हो ।

सम्झौतापछि संयुक्त कम्पनीको मूल्य २०० मिलियन अमेरिकी डलर हुने बताइएको छ । यसका लागि सीएसएलएमले फ्युज मसिनमा चालू पुँजी प्रयोजनका लागि १९.४४ मिलियन डलर लगानी गर्ने बताइएको छ ।

डा. मास्केले सीएसएलएम एक्विजिसन कर्पसँग व्यापार संयोजनका लागि सम्झौता गरेको जानकारी दिँदै २०२४ को दोस्रो त्रैमासभित्र 'फ्युज' टिकर सिम्बाेल अन्तर्गत नास्डकमा सूचीकृत भई पब्लिक कम्पनी बन्ने अपेक्षा गरेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ''म मेरो परिवार, फ्युज मसिनका प्रत्येक कर्मचारी, हाम्रा सबै ग्राहकहरू, निर्देशक बोर्ड, सल्लाहकारहरू तथा  शुभचिन्तकहरूप्रति आभारी छु । तपाईँहरु सबैको साथबिना यो कोसेढुङ्गा सम्भव थिएन ।''

याेसँगै पहिलाे पटक नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधि कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ । 

''नास्डकमा सूचीकृत हुनु हाम्रा लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो र नेपाली मूलको कुनै पनि कम्पनीको लागि ऐतिहासिक हो,'' डा. मास्केले भनेका छन्, ''सीएसएलम सँगको हाम्रो व्यापार संयोजनले एआईलाई थप पहुँचयोग्य बनाउने र उद्योगहरूमा दिगो प्रभाव छोड्ने योजनालाई आकार दिन रणनीतिक रूपमा सहयोग गर्नेछ ।''

फ्युज मसिनले 'डेमोक्रेटाइजिङ एआई' अभियानलाई विश्वव्यापीकरण गर्ने लक्ष्यसहित इन्टरप्राइज क्षेत्रका लागि एआई प्रडक्ट बनाउनेदेखि एआई सीप र शिक्षामा काम गरिरहेको छ । यसअन्तर्गत नेपालमा पनि युवाहरूलाई एआई शिक्षा तथा रोजगारीमा आबद्ध गराउन कम्पनीले भूमिका खेल्दै आएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १३:६